नेसपा नयाँ शक्ति : दस्ताबेज तयार गर्दै नेतृत्व, पालिका अधिवेशन अन्तिम चरणमा

रमेश दवाडी ४ माघ २०८१ १२:०७
360
SHARES
नेसपा नयाँ शक्ति : दस्ताबेज तयार गर्दै नेतृत्व, पालिका अधिवेशन अन्तिम चरणमा

काठमाडौँ- नेपालमा वैकल्पिक राजनीतिको बहस चलाएर त्यसको अगुवाइ गर्ने नेता हुन् डा.बाबुराम भट्टराई। एक दशकअघि भट्टराईकै संयोजकत्वमा नयाँ शक्ति पार्टी निर्माण भएपछि पुराना दलको सट्टा वैकल्पिक दलहरू सक्रिय भएका हुन्। वैकल्पिक शक्तिका रूपमा उदाएका केही दलले सत्ताको महत्त्वपूर्ण हिस्सा पाए पनि बाबुरामको दलले भने प्रभावकारी रूपमा उपस्थिति जनाउन नसकेको जानकारहरू बताउँछन्।

२०७२ सालमा नयाँ शक्ति गठनदेखि अहिलेसम्म आउँदा उनी ‘असफल’ भएको पार्टीका कतिपय नेताको टिप्पणी छ। नयाँ शक्ति छाडेर जाने अधिकांश नेताहरू पनि ‘बाबुरामले पार्टी चलाउन नसक्ने’ दाबी गर्छन्। यद्यपि वैकल्पिक राजनीतिलाई स्थापित गराउन भट्टराईको विकल्प नदेख्ने नेताहरू पनि छन्। तर पार्टी नेतृत्वमा बाबुरामको विकल्प खोज्ने विषयमा छलफल पनि जारी छ। अहिल्यै नेतृत्व परिवर्तन गर्नेभन्दा पनि त्यो प्रक्रियाको सुरुवात महाधिवेशनबाट हुने नेताहरूको भनाइ छ।

प्रवक्ता कृष्ण शर्माले महाधिवेशनबाट पार्टी नेतृत्वमा बाबुरामको मात्रै नभई पदाधिकारीको विकल्प खोजिने सुनाए। उनले नयाँ विचार र क्षमताका युवापुस्तालाई पार्टीको नेतृत्व दिनुपर्ने बताए। शर्माले भने, ‘अध्यक्षमा पनि बाबुरामको विकल्प खोजिन्छ। लोकतान्त्रिक विधि, पद्धति, मैत्रीपूर्ण एवम् स्वस्थ प्रतिस्पर्धाबाट पार्टीको नेतृत्व आउनुहुन्छ। नेतृत्वका लागि नयाँ पुस्ता पनि तयार छ भन्ने सन्देश दिन्छौँ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य ‘भट्टराई पार्टी जीवनमा पुनर्जागृत भएको बताउँदै नेतृत्व क्षमताचाहिँ नभएको बताउँछन्। उनी भन्छन्, ‘उहाँले नयाँ शक्ति पार्टीको निरन्तरता खोज्नुभएको छ। उहाँमा पार्टी चलाउने क्षमताचाहिँ देखिएन। माओवादीदेखि यहाँसम्मको इतिहासमा उहाँले कुनै पनि पार्टी बनाउन नसकेको इतिहास छ।’ त्यसैले पनि पार्टीले बाबुरामको विकल्प खोज्न जरुरी देखिएको आचार्यको बुझाइ छ।

शीर्ष नेतृत्व प्रतिवेदन लेखनमा

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को शीर्ष नेतृत्व प्रतिवेदन लेखनमा जुटेको छ। प्रथम राष्ट्रिय महाधिवेशन मिति नजिकिँदै गर्दा पार्टीको ध्यान संगठनात्मकलगायतका प्रतिवेदन तयारीमा जुटेको हो। प्रतिवेदन लेखनका लागि सातजना खटिएका छन्। जसको संयोजक डा.बाबुराम भट्टराई छन् भने सदस्यहरूमा  डा.जनक शाह, सोनामसिं स्याङ्तान, दुर्गा सोब, कृष्ण शर्मालगायत छन्।

महाधिवेशन यही माघ २७, २८ र २९ गते प्रज्ञाप्रतिष्ठानमा हुँदैछ। प्रवक्ता शर्माले भने, ‘वैचारिक थलो महाधिवेशनमा पेस गर्न हामी प्रतिवेदन तयार गर्दैछौँ।’ पार्टी सदस्यता नवीकरण तथा वितरणसँगै नयाँ शक्तिले पालिका अधिवेशन धमाधम गरिरहेको छ। पुसभित्र सदस्यता नवीकरण तथा वितरण गर्ने कार्यतालिका थियो।

प्रवक्ता शर्माले ७५३ मध्ये तीन सय पालिकामा पार्टीको अधिवेशन भइसकेको जानकारी दिए। बाँकी पालिकामा अधिवेशन सक्न निर्देशन दिइएको छ। महाधिवेशन तयारी रफ्तारमा अगाडि बढेको बताउँदै प्रवक्ता शर्माले भने, ‘तयारी तीव्र पारेका छौँ। नेताकार्यकर्तामा उत्साह छाएको छ। जनतामा आशाको सञ्चार भएको छ।’

केही पालिकामा संगठनको संरचनाबारे विवाद देखिएको छ। पार्टीका एक नेताका अनुसार प्रत्यक्ष निर्वाचित नेतृत्व कि प्रतिनिधिमूलक भन्नेमा विवाद देखिएको हो। ९० प्रतिशत नेताकार्यकर्ता प्रत्यक्ष निर्वाचित प्रणालीमै अपनाउनुपर्छ भन्नेमा पुगेका छन्। ती नेताले महाधिवेशनबाट पार्टीका अध्यक्ष, पदाधिकारीहरू समावेशी, समानुपातिक आधारमा प्रत्यक्ष निर्वाचित हुने जानकारी दिए।

प्रतिनिधि छनोट पालिकाबाट जिल्ला, जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाउने परिपाटी अन्त्य गरी सीधै पालिकाबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था रहेको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले जानकारी दिए। उनले भने, ‘प्रतिनिधि छनोट पालिकाबाट नै प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट चुनिएर आउनेछन्।’

कात्तिक ५ र ६ गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने व्यवस्थासहितको विधान अनुमोदन गरेको थियो। पदाधिकारीमा अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेशी, एक खसआर्य र एक दलित), महासचिव, तीन सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ।

पालिकामा ४० प्रतिशत, प्रदेश ३० प्रतिशत र केन्द्रमा २० प्रतिशत युवा प्रतिनिधित्व हुने व्यवस्था छ । पदाधिकारीसहित सबै समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था छ।

अग्रगामी विचारलाई निमन्त्रणा गरिने

२०७३ जेठ ३० गते स्थापना भएको नयाँ शक्तिले गत जेठमा पहिलोपटक स्थापना दिवस मनाएको थियो। त्यतिबेला पनि सो पार्टीले अग्रामी विचार बोक्ने राजनीतिक पार्टी तथा व्यक्तिलाई आमन्त्रण गरेको थियो। प्रवक्ता शर्मा भन्छन्, ‘२००७ देखि २०७२ सालसम्म विद्रोह, आन्दोलन र संघर्षको राजनीतिक क्रान्तिको कोर्स पूरा भयो। ०७२ सालपछि राजनीतिक नयाँ कोर्स सुरु भयो। व्यवस्था बदलियो। उपरीसंरचना बदलियो। आधार संरचना बदल्ने कार्यभार पूरा गर्न नयाँ शक्ति गठन भएको हो।’

पार्टीले त्यही प्रस्तावनालाई आधार मानेर नयाँ शक्तिका संस्थापक, अग्रगामी वैकल्पिक राजनीतिका सहयात्रीहरूलाई सधैँ ढोका खुला राख्ने शर्माले बताए। नयाँ शक्ति संस्थापकहरूलाई निर्वाध रूपमा महाधिवेशनमा खुला गरिने शर्माले जानकारी दिए।

प्रचारप्रसार र खर्च व्यवस्थापनमा फरक शैली

प्रवक्ता शर्माले महाधिवेशन खर्च पार्टीका केन्द्रीय सदस्यहरूबाट व्यवस्थापन हुने र त्यसलाई पारदर्शी बनाइने बताए। शर्माको भनाइमा १५० जना केन्द्रीय सदस्यलाई महाधिवेशन खर्चस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउन आग्रह गरिएको छ। अन्य नेताकार्यकर्ताले पनि स्वेच्छाले रकम उपलब्ध गराउन सक्नेछन्। महाधिवेशनका लागि कोही कसैसँग पनि चन्दा नमागिएको उनले स्पष्ट पारे।

पार्टीको १७ सदस्यीय प्रचारप्रसार टोलीले महाधिवेशनको प्रचार गरिरहेको छ। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रचारप्रसार तीव्र बनाउन सुरु गरिएको छ। नेसपा नयाँ शक्ति प्रचारप्रसार विभाग प्रमुख मानुषी यमि भट्टराई भन्छिन्, ‘डिजिटल माध्यमबाटै महाधिवेशनको प्रचारप्रसार गरिरहेका छौँ। महाधिवेशन भव्यतापूर्वक सम्पन्न गराउनका लागि सबैलाई आह्वान गरेका छौँ।’ ‘अबको निकास आर्थिक विकास’, ‘समृद्धि सम्भव छ हाम्रै पालामा’, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’, समृद्धि, सुशासन केन्द्रित नारा तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिइन्। पार्टीले नयाँ शक्ति स्थापनाकालकै नारालाई अवलम्बन गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast