वृहत्तर जनकपुरका तत्कालीन कार्यकारी निर्देशक ठाकुर पक्राउ

हिमाल प्रेस २९ पुष २०८१ १५:३८
26
SHARES
वृहत्तर जनकपुरका तत्कालीन कार्यकारी निर्देशक ठाकुर पक्राउ

काठमाडौँ- वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर पक्राउ परेका छन्। ठाकुरलाई प्रहरीले ठगी प्रकरणमा पक्राउ गरेको हो।

उनलाई ललितपुरको भैँसेपाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकारीले बताएका छन्। ती अधिकारीका अनुसार ठाकुरलाई ललितपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको हो।

‘उहाँलाई ललितपुर प्रहरीको सहयोगमा भैँसेपाटीबाट पक्राउ गरिएको छ, जनकपुर ल्याउने प्रक्रिया अगाडि बढाइएको छ,’ ती अधिकारीले हिमालप्रेससँग भने।

कार्यकारी निर्देशक छँदा ठाकुरले सरकारी छाप र दस्तखत कीर्ते गरी वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को ३० लाख रूपैयाँ हिनामिना गरेको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो।

ठाकुरलाई जनकपुर झिकाएर थप अनुसन्धान हुने धनुषा प्रहरीका अधिकारीले बताए। ठगी प्रकरणमा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी पनि मुछिएका छन्। उनीहरूविरूद्ध मंसिर महिनामा उजुरी परेको थियो।

ठगी प्रकरणमा जाहेरी परेपछि धनुषा जिल्ला अदालतले उनीहरूविरूद्ध अनुसन्धान गर्न पक्राउ गर्न अनुमति दिएको थियो। अदालतबाट अनुमति पाएसँगै प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो। यो प्रकरणमा मुछिएका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको बताइएको छ।

के छ आरोप?

सरकारी छाप र दस्तखत कीर्ते

हुँदै नभएको गाडी भाडामा लिएको भन्दै कीर्ते दस्तखत प्रयोग गरी तीस लाखभन्दा बढी रूपैयाँ हिनामिना गरेको आरोप ठाकुरमाथि लागेको छ। प्रतिमहिना पाँच हजार रूपैयाँ तिर्नेगरी महोत्तरीको एकडारा गाउँपालिका बस्ने मुकेश यादवको नाममा ३० लाख रूपैयाँ निकालिएको पाइएको हो।

कीर्तेगरी आफ्नो नाममा पैसा निकालिएको थाहा पाएपछि मुकेशले प्रहरीमा जाहेरी दिएका थिए। आफूले रकम बुझेको गोश्वरा भौचर, आफ्नो नाममा बनाएको चेक, पेश्की पछ्र्यौटका लागि दिएको निवेदनपत्रमा समेत कर्मचारीहरूले कीर्ते गरेको उनले दिएको जाहेरीमा उल्लेख छ।

वार्षिक भाडाबाट कटौती हुनेगरी गाडी मर्मतका लागि परिषदले मुकेशको नाममा १० लाख रूपैयाँ पेश्की दिएको पाइएको छ। मुकेशले भने हस्ताक्षर कीर्ते गरेर आफ्नो नाममा परिषदका कर्मचारीले पैसा निकालेर हिनामिना गरेको दाबी गरेका छन्।

विना निर्णय यात्री निवास सञ्चालन गर्न होटल समूहसँग सम्झौता

वृहत्तरअन्तर्गत रहेको यात्री निवास ठाकुरले गैरकानुनी तरिकाबाट सम्झौता गरेर सञ्चालनका लागि अन्य समूहलाई दिएको आरोप छ। परिषद्को निर्णयविनै उनले ‘द पिक हस्टापिलिटी’ समूहसँग २० वर्षको सम्झौता गरेर यात्री निवास सञ्चालनका लागि दिएको बताइएको छ। ‘द पिक हस्पालिटी’ सँग सम्झौता भए पनि अहिले यात्री निवास ‘द स्ट्रिम पिक’ ले सञ्चालन गरिरहेको वृहत्तर श्रोतले बतायो।

दानको गाडी पत्नीको नाममा

कार्यकारी निर्देशक छँदा वृहत्तरले दानमा प्राप्त गरेको गाडी ठाकुरले पत्नीको नाममा नामसारी गरेको आरोप छ।

दोलखा विगु गाउँपालिका–३ (हाल विगु गाउँपालिका–७) का जोन्डिल शेर्पाले आफ्नो नाममा दर्ता रहेको बा १३ च २०३७ नम्बरको स्कोर्पियो गाडी धार्मिक कार्यका लागि परिषद्लाई दान गरेका थिए।

परिषद्को स्वामित्वमा रहेको उक्त गाडीलाई २०७७/४/१ देखि २०७८ असार मसान्तसम्म एक वर्षका लागि मासिक ६ हजार भाडामा लिने शर्तमा ठाकुरले कीर्ते सम्झौतापत्र बनाइ रकम भुक्तानी गरेको आरोप छ।

यसका साथै परिषदले दानपत्रको कागजातबाट प्राप्त गरेको गाडी उनले आफ्नी श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराएको आरोपसमेत लागेको छ।

इन्दुलेखाले उक्त गाडी परिषदमा सवारी चालक पदमा कार्यरत धनीराम मण्डललाई २०७८÷४÷५ मा नामसारी गरेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast