काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले ‘मेरिटोक्रेसी’ देखाएर दलीय भागबन्डामा क्याम्पस प्रमुखहरू नियुक्त गरेको छ। विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गर्दा सत्ताधारी दल नेपाली कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी तथा प्रतिपक्षी माओवादीबीच भागबन्डा गरेको हो।
उपकुलपति डा. केशरजंग बरालले मेरिटोक्रेसीका आधारमा अवलम्बन गर्ने भनिए पनि दलीय भागबन्डालाई नै कायम राखेको विश्वविद्यालयका प्राध्यापकहरू बताउँछन्। यसैगरी २४ जना क्याम्पस प्रमुख नियुक्त हुँदा एक जना पनि महिला महिला परेका छैनन्।
विश्वविद्यालयले क्याम्पस प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान, कार्ययोजना प्रस्तुति, अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरेको थियो। त्रिभुवन विश्वविद्यालयका एकजना प्राध्यापकले भने, ‘सबै प्रक्रिया पूरा गर्ने र मेरिटोक्रेसी त नाम मात्रैको देखियो। आखिरमा उपकुलपतिबाट भागबन्डालाई नै कायम गर्ने काम भयो।’
त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको त्रिविका प्रवक्ता यमनसिंह बोहराले जानकारी दिए। त्रिविले गत असोजमा प्रमुख छनोट समिति बनाएको थियो। उक्त समितिले नाम सिफारिस गरेपछि परिषद्ले प्रमुख नियुक्ति गरेको बोहराले बताए। भागबन्डाअनुसार एमाले र कांग्रेस कोटामा ८-८, माओवादी कोटामा ७ र लोसपाको कोटामा एक जना क्याम्पस प्रमुख चयन भएका छन्।
त्रिविका अधिकारीहरू भने क्याम्पस प्रमुख नियुक्तिमा दलीय भागबन्डा नभएको दाबी गर्छन्। दरखास्त माग, कार्ययोजना प्रस्तुति, अन्तर्वार्ता, अनुसन्धानलगायतका आधारमा क्याम्पस प्रमुख छनोट गरिएको उनीहरूको भनाइ छ।
त्रिविका रेक्टर प्रा.डा. खड्ग केसीले शतप्रतिशत मेरिटोक्रेसीका आधारमा क्याम्पस प्रमुख नियुक्त गरिएको बताए। उनले हिमालप्रेससँग भने, ‘क्याम्पस प्रमुख नियुक्तिमा हामीले शतप्रतिशत मेरिटोक्रेसी अपनाएका छौँ। प्रतिस्पर्धीमध्ये एक नम्बरमा आउनेलाई नै प्रमुखमा नियुक्त गरेका हौँ।’
उनले आवेदन परेका मध्ये पाँचजनालाई सर्टलिस्ट बनाएर तीमध्ये पनि विज्ञ समूहबाट तीनजना छनोट गरेर मात्रै क्याम्पस प्रमुख नियुक्ति गरिएको बताए। प्रा.डा. केसीले छनोटका लागि शैक्षिक प्रमाणपत्र, विद्यावारिधि, अन्य अनुसन्धान, ग्रन्थ प्रकाशन, अनुभव आदिलाई आधार बनाइएको जानकारी दिए। केसीले क्याम्पस प्रमुखमा महिलाको आवेदन नै कम परेको बताए। उनले भने, ‘आवेदन दिएका मध्ये सानोठिमी र धरान क्याम्पसका दुई प्रतिस्पर्धी छनोटमा पछाडि परेका हुन्।’
विश्वविद्यालयले सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ अनुसार भदौ १७ गते विभिन्न क्याम्पसमा क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको थियो। पहिलो चरणमा तीमध्येबाट सर्टलिस्ट सार्वजनिक गरेको थियो। त्यसमध्येबाट पनि योग्य र दक्ष प्राध्यापकहरूलाई प्रमुखमा नियुक्त गरिएको केसीले बताए।
कुन क्याम्पसमा को क्याम्पस प्रमुख?
एमालेबाट
रत्नराज्य लक्ष्मी क्याम्पस : सहप्रा पदमकुमार अधिकारी
बुटवल बहुमुखी क्याम्पस : उपप्रा अरुणकुमार क्षेत्री
सुर्खेत बहुमुखी क्याम्पस : सहप्रा माधवप्रसाद खनाल
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा : उपप्रा टंकप्रसाद पन्थ
जुम्ला बहुमुखी क्याम्पस : उपप्रा प्रकाशचन्द्र खत्री
केन्द्रीय प्रविधि क्याम्पस धरान : प्राध्यापक वसन्तकुमार राई
धौलागिरि बहुमुखी क्याम्पस : सहप्रा सुदर्शन सिलवाल
पक्लिहवा क्याम्पस : सहप्राध्यापक जन्मजय गैरे
कांग्रेसबाट
नेपाल कमर्श क्याम्पस : सहप्रा जितेन्द्रप्रसाद उपाध्याय
शंकरदेव क्याम्पस : सहप्रा कपिल खनाल
भैरहवा क्याम्पस : सहप्रा लक्कीप्रसाद जोशी
रामस्वरुप रामसागर क्याम्पस : प्राध्यापक वसन्तकुमार कर्ण
पाटन संयुक्त क्याम्पस : सहप्रा रघुवीर विष्ट
पृथ्वीनारायण क्याम्पस : प्राध्यापक हरिप्रसाद पाठक
डोटी बहुमुखी क्याम्पस : सहप्रा दिलानन्द जोशी
मेची बहुमुखी क्याम्पस : सहप्राध्यापक देवीप्रसाद आचार्य
माओवादीबाट
ललितकला क्याम्पस : उपप्रा यामप्रसाद शर्मा
सानोठिमी क्याम्पस : उपप्रा माधवप्रसाद श्रेष्ठ
महेन्द्र बहुमुखी क्याम्पस : सहप्रा लालमणि आचार्य
विश्वभाषा क्याम्पस : उपप्रा महेन्द्रकुमार बुढाथोकी
भोजपुर बहुमुखी : सहप्रा पर्वतकुमार राई
वनविज्ञान अध्ययन संस्थान पोखरा : सहप्रा नारायणप्रसाद गौतम
कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ : उपप्राध्यापक रामकुमार श्रेष्ठ
लाेसपाबाट
सूर्यनारायण सत्यनारायण क्याम्पस : सहप्रा राजेश्वरप्रसाद यादव