विदेश छाडेर बारीमा रमाउँदै प्रेम

रमा केसी २८ पुष २०८१ १९:१८
66
SHARES
विदेश छाडेर बारीमा रमाउँदै प्रेम आफूले लगाएकाे तरकारी बारीमा सल्यानको शारदा नगरपालिका–१५ श्रीनगरका प्रेमबहादुर खड्का। तस्बिर : रमा केसी

सुर्खेत- सल्यानको शारदा नगरपालिका–१५ श्रीनगरका प्रेमबहादुर खड्काले ५ वर्ष खाडीमा बिताए। पढ्ने रहर छोडेर घरखर्च चलाउन उनी मजदुरी गर्न विदेश गएका थिए। २०६२ सालमा एसएलसीमा असफल भएपछि उनी २०६३ मा विदेश गएका थिए। उनले भने, ‘स्वदेशमा कमाइ गर्ने अवसर नपाएपछि विदेश गएको थिएँ।’

पैसासँग रगत र पसिना साट्दासाट्दै जीवनको केही ऊर्जाशील समय खाडीमै बिताए पनि उनको चित्त बुझेन। त्यसपछि परिवारसँग सुखदुःख साट्ने र बालबच्चा हुर्काउने सपना बोकेर गाउँ फर्किए उनी। अनि उनले फेरि एसएलसी परीक्षा दिए। कक्षा १२ पास गरेर थप अध्ययन गरी उनी जेटीए पनि बने। अहिले उनी व्यावसायिक तरकारी किसानको पहिचान बनाउन सफल भएका छन्।

पिताले घरको एक्लो छोरा यहीँ पढेर केही गर्नुपर्छ भनेपछि आफूले फेरि पढाइ सुरु गरेको उनी स्मरण गर्छन्। उनले भने, ‘जेटीए पढेर सबै साथी सरकारी जागिर खानतिर लागे म भने कृषि पेसा गर्छु भनेर यता लागेँ।’

खड्काले विदेश गएपछि कृषि पेसामा आबद्ध भएर काम गर्दाको अनुभवले पनि आफूलाई तरकारी उत्पादनमा साथ दिएको उनी बताउँछन्। साथै उनले तरकारी खेतीबारे तालिम पनि लिएका छन्। खड्काले अहिले फार्म खोलेर तरकारी उत्पादन र बजार व्यवस्थापन गरिरहेका छन्। उनको फार्मको नाम राजेश पशुपन्छी तथा कृषि फार्म हो। सुरुमा एक रोपनीबाट तरकारी खेती सुरु गरेका उनी हाल ११ रोपनीमा तरकारी फलाउँछन्।

‘परम्परागत रूपमा तरकारी रोप्दै आएका थियौँ’, उनले भने, ‘तालिम लिएपछि तरकारी लगाउने तौरतरिका सिकेपछि आम्दानी मात्रै बढेको छैन, वैदेशिक रोजगारीमा भन्दा राम्रो आम्दानी यसैबाट लिएको छु।’

फार्ममा आलु, काउली, ब्रोकाउली, खुर्सानी, मुला, बन्दा उत्पादन हुन्छ। बेमौसमी तरकारी बालीका रूपमा उनले काँक्रा, खुसार्नी, भ्यान्टीलगायतका तरकारी टनेलमा उत्पादन गरेका छन्।  विदेशको दुःखले स्वदेशमै आयआर्जनमूलक कार्य गर्नुपर्छ भन्ने सोच राखेर तरकारी खेतीमा लागेको उनी बताउँछन्। उनले भने, ‘परिवारले सघाएपछि आम्दानी बढ्दै गएको छ। मेहेनत गरेपछि जे पनि सम्भव हुँदोरहेछ। आफ्नै बारीमा फलाएको तरकारी लिन टाढादेखिका मानिस आउँदा  निकै खुसी लाग्दो रहेछ।’

तरकारी खेतीमा सिँचाइका लागि कुलोको पानीको सुविधा छ। खड्काले तरकारी खेतीसँगै स्थानीय जातका कुखुरासमेत पालन गरेका छन्। तरकारी खेतीबाट वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए। गाउँमा युवा वैदेशिक रोजगारी र मजदुरीका लागि भारतमा जाने कार्य गर्दै आएका छन्। तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि युवा गाउँमा लोभिन थालेको थालेको उनी बताउँछन्। ‘तरकारी खेती हुन थालेपछि वैदेशिक रोजगारीमा जान हुरुक्क हुने युवासमेत गाउँमै तरकारी खेतीमा लोभिन थालेका छन्’, खड्काले भने।

खड्काले खेतीका लागि उचित मात्रामा सिँचाइ गर्न पाए उत्पादन राम्रो हुने बताउँछन्। सिँचाइको कुलोबाट पानी लगाउन विलम्ब हुने भएकाले धेरैले घरमै विद्युतीय मोटरबाट पानी तानेर सिँचाइ गर्दै आएको उनले बताए।  खड्काको एउटै दुःखेसो छ, तरकारी उत्पादन भएपछि बेच्ने झन्झट। केही तरकारी गाउँमै हुने विवाह, भोजभतेरमा र होटेलमा खपत हुने गरेको छ। बाँकी तरकारी बेच्नका लागि टाढा पुर्‍याएर व्यापारीले तय गरेको दररेटमै बेच्नुपर्ने हुन्छ।

बिचौलियाले तरकारी बजारमै सस्तोमा तरकारीको बोली लगाई खरिद गर्ने भएकाले कुनै बेला लागतसमेत नउठ्ने खड्काको गुनासो छ। नगरपालिकाको कृषि शाखाले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा पावरट्रिलर, रोटाभेटर, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर र प्लास्टिकका टनेल उपलब्ध गराउँदै आएको छ। कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत एक दर्जन बढी किसानलाई अनुदानमा कृषि उपकरण उपलब्ध गराइएको कृषि शाखा प्रमुख चिरिञ्जीवी रेग्मीले बताए।

व्यावसायिक तरकारी खेतीमा लागेका किसानलाई अझै पनि आवश्यकता र मागका आधारमा तालिमसँगै आधुनिक यन्त्र र उपकरण दिइने उनी बताउँछन्। उनी भन्छन्, ‘तरकारी खेती गर्दा आवश्यक पर्ने कृषि सामग्री समयमा उपलब्ध गराई कृषकलाई प्रोत्साहन गरिरहेका छौँ।’ सल्यानमा उत्पादित तरकारी भारतसम्म पुग्ने गरेको किसानहरू बताउँछन्।

प्रकाशित: २८ पुष २०८१ १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast