१६ वर्षसम्म मलेसिया बसेर रित्तै फिर्ता

रमेश भारती २६ पुष २०८१ २१:१३
34
SHARES
१६ वर्षसम्म मलेसिया बसेर रित्तै फिर्ता तस्बिर स्रोत : पिक्सेल

काठमाडौँ- नवलपरासीका ४१ वर्षीय कृष्णबहादुर विक १६ वर्षभन्दा बढी मलेसियामा बसे। उनलाई परिवारको पहलमा मलेसियास्थित नेपाली दूतावासले केही दिनअगाडि स्वदेश फिर्ता गरेको छ। तीन महिना घर फिर्ती केन्द्रमा राखेर उनलाई दूतावासले नेपाल पठाएको मलेसियास्थित नेपाली दूतावासका कन्सुलर भोलानाथ गुरागाईँले बताए।

गुरागाईँका अनुसार विकलाई पछिल्लो समय मलेसियास्थित जोरवारु क्षेत्रको सडकमा बसेको अवस्थामा मलेसियामा नेपाली कामदारको हकहितमा काम गर्दै आएको मलेसिया प्रवासी समाज नेपालले भेट्टाएको थियो। उनलाई समाजले दूतावासको जिम्मा लगाएको थियो।

विकले तीन वर्षदेखि मलेसियाकै एउटा काठ मिलमा काम गरे पनि तलब नपाएको दूतावाससँग बयान दिएका छन्। तर उनीसँग कागजात नभएका कारण तलबका लागि कानुनी पहल गर्न समस्या भएको गुरागाईँले जानकारी दिए। विकले मलेसिया १६ वर्ष बस्दा १७ वटा कम्पनीमा काम गरेको बताएका छन्।

विकजस्तै महोत्तरीको बलबा नगरपालिकाका बौएलाल मरार खत्वे मलेसियामा १५ वर्ष बसे। उनी पनि दूतावास र मलेसियाका विभिन्न संघसस्थाको सहयोगमा गत महिना स्वदेश फर्किएका छन्। खत्वे मलेसियामा बेवारिसे अवस्थामा भेटिएका थिए। खत्वे च्यातिएको कपडा र केही दिनदेखि भोकै बसेको अवस्थामा भेटिएका थिए। उनलाई केही नेपाली कामदारले दूतावासमा पुर्‍याएको गुरागाईँले बताए।

खत्वेलाई नेपाली दूतावासले मानसिक रोगको उपचार गरेर स्वदेश पठाएको थियो। १५ वर्ष मलेसियामा बसेका खत्वेले कहाँ र कस्तो कम्पनीमा काम गरे भनेर भन्न सक्ने अवस्था नभएको गुरागाईँ बताउँछन्। खत्वेले मलेसियामा १५ वर्षमा ११ वटाभन्दा बढी कम्पनी परिवर्तन गरी काम गरेको बयान दूतावासका कर्मचारीलाई दिएका छन्।

विक र खत्वेजस्तै भोजपुरका ३७ वर्षीय तोपबहादुर राई पनि मलेसिया १६ वर्ष बसे। उनलाई पनि परिवारको पहलमा दूतावासले स्वदेश पठाउन घर फिर्ती केन्द्रमा राखेको छ। राईसँग कागजात नभएका कारण स्वदेश फर्र्काउन केही समय लाग्ने गुरगाईँले बताए।

दूतावासका कर्मचारीले सोधखोज गर्दा राईले मलेसियामा २० वटाभन्दा कम्पनीमा लुक्दै काम गरेको जानकारी दिएका थिए। दूतावासका अनुसार राईले मलेसियामा १६ वर्ष कमाएको पैसा रक्सी र तासमा खर्चिएका छन्। गुरागाईँका अनुसार विक, खत्वे र राईजस्ता धेरै रोजगारीका लागि मलेसिया गएका नेपाली कामदार २० वर्षसम्म काम गर्दै बसेको भेटिन्छ।

दूतावासको सम्पर्कमा आएका त्यस्ता कामदारलाई स्वदेश फर्काउन सहजीकरण, कागजात र हवाई टिकटको व्यवस्था हुने कन्सुलर गुरागाईँले बताए। उनका अनुसार मलेसियामा धेरै नेपाली श्रम अवधिभन्दा बढी बस्ने गरेका छन्।

गुरागाईँले कतिपय अवैध रूपमा बसेका नेपालीले नेपालमा आफ्नो घरसमेत नबताउने बताए। ‘मलेसियामा धेरै नेपाली अवैध रुपमा बसेर काम गर्ने हुँदा समस्यामा पर्छन्। यस्ता कामदार ग्रामीण क्षेत्रमा बढी बस्छन्। उनीहरू प्रहरीले पक्रिन्छ भनेर सहर आउन डराउँदा रहेछन्’, उनले भने।

मलेसियामा अवैध रूपमा नबस्न, अवैध बसेका कामदारलाई पुनःश्रम स्वीकृति लिन र कागजात नभएका कामदारलाई दूतावासको सम्पर्कमा आउन सूचित गराइरहेको उनले जानकारी दिए।

मलेसिया सरकारले लामो अवैध बसेका विदेशी कामदारलाई १ मार्चदेखि स्वेच्छिक फिर्ताको सुविधा दिएको छ। दूतावासका अनुसार मलेसियामा ९० हजारभन्दा बढी नेपाली कामदार अवैध रूपमा बसेर काम गरिरहेका छन्। तीमध्ये ११ हजारभन्दा बढी नेपालीले स्वेच्छिक फिर्ता कार्यक्रममा सहभागी भएको गुरागाईँले बताए। यो सुविधा लिएका केही नेपाली स्वदेश फर्किएका छन् केहीले रोजगारदाता कम्पनीबाट करार लिएर वैधानिक भई बसेका छन्।

मलेसियाको अध्यागमन ऐनअनुसार अवैध रूपमा बसेर रोजगारी गरेको कसुरमा सामान्यतया १० हजार रिंगेटसम्म जरिबाना अथवा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

हाल मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत रहेको दूतावासको अनुमान छ। गत वर्षको मार्चदेखि बन्द भएको मलेसिया रोजगारी एक महिनाअघि खुलेको छ। म्यानपावर कम्पनीले नयाँ श्रम स्वीकृति ल्याएर मलेसियामा कामदार पठाउन थालेका छन्।

प्रकाशित: २६ पुष २०८१ २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast