 
                             
                                            पोर्ट सुडान (रासस/एएफपी)- संयुक्त राष्ट्रसंघले सुडानमा तीन करोडभन्दा बढी मानिसलाई सहायताको आवश्यकता रहेको बताएको छ। सोमध्ये आधाभन्दा बढी बालबालिका रहेको संघको भनाइ छ।
राष्ट्रसंघले ‘अभूतपूर्व मानवीय संकट’ भनेको यस स्थितिमा कुल तीन करोड चार लाख आवश्यकतामा परेका मानिसमध्ये दुई करोड नौ लाख मानिसलाई लक्षित गर्दै चार अर्ब २० करोड डलरको कोष आह्वान गरेको छ।
सुडान सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस ९आरएसएफ० बीच सन् २०२३ अप्रिलमा सुरु भएको युद्धले सुडान टुक्रिएको छ।
दशौँ हजार मानिस मारिएका छन्। ८० लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित भएका छन्। यसले युद्धअघि २७ लाख विस्थापितका अतिरिक्त सुडानलाई विश्वको सबैभन्दा ठूलो आन्तरिक विस्थापन संकटका रूपमा परिणत गरेको राष्ट्रसंघले जनाएको छ।
युद्धबाट बच्न थप ३३ लाख मानिस सुडानको सीमा पार गरेर भागेका छन्। यसको अर्थ युद्धपूर्व अनुमानित पाँच करोड जनसंख्याको एक चौथाइभन्दा बढी अहिले विस्थापित भएका छन्।
सुडानका पाँच क्षेत्रहरूमा पहिले नै खाद्य संकटकाल घोषणा गरिएको छ। मेसम्ममा थप पाँच क्षेत्रमा खाद्य संकटकाल लाग्ने सम्भावना छ। सुडानमा हाल ८१ लाख मानिस भोकमरीको संघारमा छन्।
सुडानको सेना–समर्थित सरकारले खाद्य संकटकाल भएको अस्वीकार गरेको छ। सेना र आरएसएफ दुवैमाथि भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाइएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 