चीनको खुनमिङमा विश्वकै विशाल फूल बजार

अजय अलौकिक २० पुष २०८१ १२:२७
32
SHARES
चीनको खुनमिङमा विश्वकै विशाल फूल बजार

के तपाईँले फूलको नर्सरी, बगैँचा या उद्यानबाहेक कतै फूलैफूलको समुद्रको कल्पना गर्नुभएको छ? रङ्गीचङ्गी ताजा फूल र फूलहरूको मिठो सुवासले तरङ्गित बनाउने यो कुनै नर्सरी या उद्यान होइन न त फूलको खेतबारी नै हो। यो एउटा बजार हो। हिजोआज सहरमा खोलिने विशाल व्यापारिक भवन अर्थात् सपिङ मल नै हो, जहाँ फूलको मात्र कारोबार हुन्छ।

यहाँ चर्चा गर्न लागिएको चीनको युननान प्रान्तीय सदरमुकाम खुनमिङ सहरमा अवस्थित फूल बजारको हो। मौसमका हिसाबले काठमाडौँजस्तै लाग्ने यो सहरमा एसियाकै सबैभन्दा ठूलो फ्रेसकट फूलबजारको शब्दमार्फत अवलोकन गरौँ। तोउनान फ्लावर मार्केटमा स्वागत गर्न चाहेँ!

हामी सबै प्रकृतिको सुन्दरताको कदर गर्छौँ नै र एक सुरम्य परिदृश्यका लागि सो बजारको अवलोकनले तपाईँलाई अवश्य मन्त्रमुग्ध पार्नेछ र यहाँको भ्रमण पनि अविस्मरणीय हुनेछ।

युननान दक्षिणपश्चिम चीनको एक विविधतापूर्ण प्रान्त हो। यहाँ हिमाल पनि छ साथै आश्चर्यलाग्दो पठार दृश्यबाहेक उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय वातावरण पनि पाइन्छ। साथै यो भूगोल समृद्ध जातीय रीतिरिवाजका लागि पनि प्रसिद्ध छ। ५६ अल्पसंख्यक जाति रहेको चीनमा यस प्रान्तमा मात्रै २६ अल्पसंख्यक जातिको बसोबास छ।

यसको सदरमुकाम खुनमिङ सहर सुन्दरता र सुखद तथा समृद्ध सांस्कृतिक वातावरणका लागि प्रसिद्ध छ। नीलो स्वच्छ आकाश, वर्षभरि रंगीचंगी फूल फुल्ने वासन्ती सहरको उपमा पाएको र न्यानो मौसमको साथमा खुनमिङ सहरसँग एक अद्वितीय आकर्षण छ।

यही वासन्ती सहरमा विशाल फूलबजार अवस्थित छ, जुन चीनको मात्रै नभई एसियाकै सबैभन्दा ठूलो फूल बजार हो। फूलका जाति, प्रजाति तथा कारोबार मात्रामा यो फूल बजार विश्वको दोस्रो ठूलो बजारमा गनिन्छ। बजारमा विभिन्न प्रकारका फ्रेस कट फूलहरू उपलब्ध छन्, जसमा ११७ भन्दा बढी श्रेणीहरू र १ हजार  ६०० प्रजातिका फूलहरूको दैनिक कारोबार हुन्छ। यहाँबाट जापान, दक्षिण कोरिया, सिंगापुर र साउदी अरेबियासहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फूल निर्यात गरिन्छ।

यहाँ पुग्नका लागि ट्याक्सीबाहेक सार्वजनिक बस र मेट्रोको सुविधा पनि छ। यो पङ्क्तिकार भने कार्यक्रमअनुसार खुनमिङ विमानस्थलबाट सीधै १ घण्टाको बस यात्रामा सो बजार पुगेको थियो।

सन्ध्याकालीन बजारमा फाटफुट रूपमा बत्ती बल्दै थिए। त्यहाँ वरिपरिका मल विशेषतः फूल र फूलसम्बन्धित बजार थिए। क्वानचौ र यिऊमा एकै प्रकारका सामानका ‘ब्युल्डिङ’‘ब्युल्डिङ’ पसल हुन्थे अरे, र बेइजिङमा पनि केही वर्षअगाडि यस्ता दृश्य देखिन्थ्यो। कपडाको मल अनि कपडाकै मल र चोङक्वान छुनका सबै भवन कम्प्युटर र सम्बन्धित् बजार।

यसपटक नौलो अनुभव थियो। फूलैफूलको बजार, भवन। त्यतै डिनर पनि भयो। भोजनका परिकार पनि फूल, फूलैको तरकारी, फूलमिश्रित मांसपरिकार।

भोजनपछि आयोजक खुनिमङको प्रेस विभागले हामीलाई डोर्‍यायो। एसियाकै सबैभन्दा ठूलो र विश्वको दोस्रो ठूलो फ्रेस कट फूल व्यापार बजार।

हामीलाई झण्डै ८ बजे प्रवेश गराई दोस्रो तल्ला लगिएको थियो र भनिसाध्य छैन, त्यहाँको दृश्य। एक त रंगीचंगी अनि थरीथरीका असंख्य फूल अन विशाल फूल पसल। त्यो फूलको सागर र सुगन्धमा हराउँदै गर्दा ठ्याक्कै तल फूलैफूलका ठुल्ठूला ट्रली भित्रिँदै थिए। अवश्य, यो विशाल बजार खुद्रा बजार मात्रै होइन। तर अहिलेको यो रफ्तार लिलामीका लागि रहेछ।

यो ठूलो मात्राको फूल बजार र फूलहरूको विविधताको अतिरिक्त लिलामीका लागि पनि चिनिदोँ रहेछ। लिलामीको समयमा क्रेता र बिक्रेता कडा प्रतिस्पर्धामा संलग्न हुन्छन् अरे। त्यतातिर हामी लागेनौँ। हामी फूलको सागरमा डुबुल्की मार्न हतारिरहेका थियौँ।

एक लाख ९० हजार ६४७ वर्गमिटर क्षेत्रफलमा फैलिएको तोउनान फ्लावर मार्केटको कुल निर्माण क्षेत्रफल दुई २ लाख ३० हजार वर्गमिटर रहेछ। यो फूल बजार त हो नै। त्यसबाहेक यहाँ डिजिटल इन्फर्मेसन रुम पनि थियो। यो बजारको अर्को घतलाग्दो ठाउँ थियो। यो डिजिटल क्लाउड फूल प्रदर्शनी हल हो। सो कक्षको भ्रमणले तोउनान बजारको भूत, वर्तमान र भविष्यको योजना सबैको जानकारी सहज रूपमा लिन सकिन्थ्यो। फूल बजार मात्रै होइन फूलको फुल अर्थात् सम्पूर्ण सूचनासहितको प्रविधि पनि त्यहाँ थियो।

फूल उद्योगको डिजिटलीकरणले विशाल लेनदेन डेटा संकलन गर्ने, रणनीतिक कार्यान्वयन, विभिन्न बजारहरू, विभिन्न उत्पादन क्षेत्रहरू, विभिन्न उत्पादन समूहहरू, उत्पादनको विभिन्न फूल प्रजातिहरू, गुणस्तर, ग्रेड, मूल्य, सबैको बिग डेटा राखेको रहेछ।

सरकारी औद्योगिक नीतिहरू, बजार विकास, फूल किसानहरूको रोपणको आधार, किसानका लागि बजार बुझ्न, बजारलाई मार्गदर्शन गर्न, उत्पादनलाई मार्गदर्शन र अर्थव्यवस्था तथा फूल उद्योगको विकासबारे जानकारी पनि पाइन्छ। यसैगरी फूलरोपण, व्यापार, परिसंचरण, र उपभोक्ता बजारको जानकारी सङ्कलन तथा डेटाको साथमा निर्णय लिन र योजना बनाउन सकिने अवस्था देखियो, त्यहाँ।

तेस्रो तला फेरि हामीजस्ता पर्यटकलाई भुलाउने खालको थियो। फूल र फूलैबाट बनाइएका सामग्रीहरू, वनस्पतिका उत्पादनहरू, सजावटका सामग्री, सुकेका फूलका इयरिङ्स, यस्तैयस्तै। सोही बजारभवनमा अरू हलहरू पनि थिए क्यारे, हामीलाई इस्केलेटरले तेस्रो तलाबाट सीधै पहिलोमा ल्याइ पुर्‍यायो।

कति सस्तो हो, फूल। एउटा फूलको हेरीहेरी २ या ३ युआन भन्दै थिए। बेइजिङमा त १० घटी ‘नो चान्स’ नि। हेर्नुस्, आफूलाई गुलाब थाहा छ, हिजोआज चिनियाँ गुलाब पनि चिन्छु अनि गोदावरी, सूर्यमुखी, मखमली यस्तै थाहा छ।
यद्यपि त्यहाँ नयाँ नौला पनि धेरै थिए र म स्वीकार्छु कति हाम्रै गाउँघरमा फुल्ने पनि थिए तर नाम थाहा छैन। भीड त्यस्तै, १ को २ पनि चलिरहेको छ। थोक, खुद्रा सबैको कारोबार भइरहेको छ।

यसरी निरन्तर २५ वर्षदेखि व्यापार मात्रा, नगद कारोबारको मात्रा, लेनदेनको संख्या र फ्रेश कट फूलहरूको निर्यात मात्रामा चीनमा र एसियामा लामो समयदेखि पहिलो स्थान ओगटेको छ। ४० वर्षसम्मको क्रमिक विकाससँगै अहिले तोउनान फूल बजारमा दुई हजार २०० भन्दा बढी उद्यमी तथा व्यापारिक घरानाहरू, ८० हजार भन्दा बढी सम्बद्ध उत्पादकहरू, लगभग १२ हजार ब्रान्ड, तथा १० हजारभन्दा बढी फूल एजेन्टहरू रहेको सुनाए। त्यहाँ ३ लाख ५० हजारभन्दा बढी फूल पसलेहरू छन्, अरे। हरेक दिन, दसौँ हजार मानिस लेनदेनमा प्रवेश गर्छन्।

यसरी खुद्रा तथा थोक कारोबार, लिलामी र इन्टरनेट कारोबारअघि फूल रोपणदेखि मलजल, त्यसपछि टिप्ने, काट्ने, प्याकेजिङ, भण्डारण, ढुवानीजस्ता प्रक्रिया पूरा गर्नुपर्दछ। यसरी फूलले पूर्णरूपमा औद्योगिक शृंखला पूरा गर्दछ, त्यसमाथि अनुसन्धान र विकास तथा फूल पर्यटन पनि छ। यहाँ फूल एउटा बिरुवामात्रै होइन, कलाकारिता हो जसले मानिसको जीवनमा आनन्द, खुशी र आशाको समेत सञ्चार गराउँछ।

तोउनान फूल बजारको विकास इतिहास

सन् १९८४ मा तोउनान गाउँका किसानहरूले तरकारी खेतमा फूलहरू फुलाउने र हुर्काउने प्रयास गरेका थिए र यहीँबाट फ्रेस कट फूलहरूको व्यावसायिक रोपण र व्यापार सुरु भएको थियो। सन् १९९० सम्ममा तोउनानका गाउँलेहरूले तरकारी खेतलाई फूलबारीमा परिवर्तन गर्दै तोउनान गाउँको मुख्य सडकमा फ्रेश-कट अर्थात् ताजा काटेका फूलहरू बेच्न थालेका थिए। योसँगै ५० मिटर लामो तोउनान फ्लावर स्ट्रिटको जन्म भएको थियो।

सन् १९९८ मा दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो फूलबजार तोउनानमा स्थापना भएसँगै फूल उद्योगको विकासलाई गति दिन युननान प्रान्तीय सरकारले विभिन्न नीति तथा योजना जारी गरी तोउनान फूल व्यापार विस्तार गर्न प्रस्ताव गरेको थियो। योसँगै खुनमिङ तोउनान फ्लावर कम्पनी लिमिटेड अस्तित्वमा आएको थियो।

जनवरी १९९९ मा चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिका उपाध्यक्ष ये चुआनफिङले ‘चीन खुनमिङ तोउनान फ्लावर मार्केट’ आधिकारिक रूपमा सञ्चालनमा आएको घोषणा गरेका थिए। यसैगरी मे २००० मा, स्टेट फरेस्ट्री एन्ड  मिनिस्ट्रेसन र चाइना फ्लावर एसोसिएसनले तोउनान फ्लावर मार्केटलाई ‘राष्ट्रिय प्रमुख फूल बजार’ को रूपमा मूल्यांकन गरेको थियो।

सन् २००१ मा जनगणतन्त्र चीनको कृषि मन्त्रालयले तोउनान फूल बजारलाई ‘राष्ट्रिय प्रसिद्ध फूल बजार’ को रूपमा पहिचान गरेको थियो। योसँगै सबैभन्दा ठूलो फूल व्यापार बजारको मान्यता पाएको थियो। सेप्टेम्बर २००४ मा चीनको कृषि मन्त्रालय, राष्ट्रिय विकास र सुधार आयोग, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, पिपुल्स बैंक अफ चाइना, स्टेट एन्ड मिनिस्ट्रेसन अफ ट्याक्सेसन, चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनर अल-चाइना फेडेरेसन अफ सप्लाई एण्ड मार्केटिङ कोअपरेटिभ्सले संयुक्त रूपमा खुनमिङ तोउनान फ्लावर कम्पनी लिमिटेडलाई कृषि औद्योगीकरणको राष्ट्रिय प्रमुख अग्रणी उद्यमको रूपमा मान्यता दिएको थियो।

अगस्ट २००७ मा उद्योग र वाणिज्यका लागि राज्य प्रशासनको ट्रेडमार्क कार्यालयले चीनमा एक प्रसिद्ध ट्रेडमार्कको रूपमा मान्यता दियो। फेब्रुअरी २०११ मा खुनमिङ सहरी र ग्रामीण योजना आयोगले खुनमिङ तोउनान अन्तर्राष्ट्रिय पुष्प औद्योगिक पार्कको परियोजना योजनालाई अनुमोदन गरेको थियो। अप्रिल २०१२ मा जनगणतन्त्र चीनको कृषि मन्त्रालयले तोउनान फूल बजारलाई ‘राष्ट्रिय फूल बजार’ को रूपमा मूल्यांकन गरेको थियो।

सन् २०१५ मा तोउनान फ्लावर इलेक्ट्रोनिक ट्रेडिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो र तोउनान फूल लिलामीको दैनिक व्यापार मात्रा १० लाख नाघेको थियो। नोभेम्बर २०१६ मा युननान प्रान्तको सांस्कृतिक र रचनात्मक उद्योग पार्कको रूपमा मूल्याङ्कन गरिएको थियो।

जनवरी २०१७ मा तत्कालीन प्रधानमन्त्री ली खछ्याङले तोउनान फूल व्यापार बजारको निरीक्षण गरेका थिए। उनले निरीक्षणका क्रममा तोउनान फूल बजार चीनमा र एसियामा मात्रै पहिलो नभई विश्वमा पहिलो स्थान ओगट्ने आशा राखेका थिए।

सोही वर्षको मार्चमा तोउनान फ्लावर मार्केटलाई राष्ट्रिय एएए-स्तरीय पर्यटक आकर्षणको रूपमा सूचीबद्ध गरिएको थियो। अक्टोबरमा खुनमिङ तोउनान अन्तर्राष्ट्रिय फूल औद्योगिक पार्कले ‘चीनको कृषि उत्पादन परिसञ्चरण सुधार र खुलापनको ४० वर्षमा सबैभन्दा सामाजिक रूपमा जिम्मेवार बजार’ को उपाधि जितेको थियो।

सन् २०१९ मा खुनमिङ तोउनान अन्तर्राष्ट्रिय फूल औद्योगिक पार्क विकास कम्पनी लिमिटेडले ‘२०१९ स्टार अफ चाइनाज एग्रिकल्चरल प्रोडक्ट सप्लाई चेन’को उपाधि जितेको थियो।

२०२३ मा, तोउनान फूल बजारले १३.५७ बिलियन युआनको कारोबार गरेको थियो, जुन वार्षिक रूपमा ११.७ प्रतिशतको वृद्धि रहेको छ। २०२४ को पहिलो ६ महिनाको व्यापार मात्रा ७.४९४ बिलियन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढेको छ।

चीन र एसियाकै विशाल फूल बजार, एसियाको पहिलो फूल लिलामी केन्द्र र विश्वको दोस्रो फूल उद्योग क्लस्टरको यो बजार अवस्थित छङकोङ जिल्लामा १४ हजार १५९ फूलसम्बन्धी व्यापार संस्थाहरू छन्, जसमा १० हजार ९३७ फूलसम्बन्धी स्वरोजगार परिवारहरू र ३ हजार २२२ उद्यमहरू छन्।

चीन सरकारले फूल उद्योगको विकासलाई समर्थन गर्न विभिन्न नीतिहरूको तर्जुमा गर्दै आएको छ। यसबाहेक प्रान्तीय स्तरमा युननान प्रान्तले र यसैगरी नगरपालिका र जिल्लास्तरमा समेत फूल उद्योगको उन्नयन र विकासका लागि राम्रो वातावरण र नीतिहरूको सिर्जना गर्दैआएको छ। जसबाट तोउनान फूल बजार र यस्ता अरू बजार तथा समग्रमा फूलको व्यापक रूपमा औद्योगिकीकरण भएको छ।

यसबाहेक वैज्ञानिक अनुसन्धान, फोरम र प्रदर्शनी अर्को पाटो रहेको छ। साथै यसले विभिन्न महोत्सव र चाडपर्वको अवसर पारेर विशेष फूल गतिविधिहरू आयोजना गर्दै संस्कृति र पर्यटनलाई पनि जोडेको छ।

यति कुराको सविस्तार लाउँदा, नेपालको उर्वरभूमिको सम्झना आउँछ। जो कोही विदेश घुम्नेले सडक छेउछाउमा कतै वरिपरि फूललगायतका वनस्पतिको स्याहार तथा सजावट देखेपछि भन्ने गर्छन्, हाम्रो नेपालमा भीरपाखामा त्यसै फुल्छन्, फूलहरू।

 

प्रकाशित: २० पुष २०८१ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast