शालीनदीदेखि शालीनदीसम्म

राजाराम बर्तौला २० पुष २०८१ १९:५६
208
SHARES
शालीनदीदेखि शालीनदीसम्म

माघ महात्म्य पढ्ने दिन आउन अझै धेरै दिन बाँकी छ। पौष मासको पूर्णिमा सुरु भएर माघको पूर्णिमामा स्वस्थानी व्रत समाप्त हुन्छ। काठमाडौँमा चिसोको पारो तल झर्दै गर्दा बाहिर हिँडडुल गर्ने जाँगर घट्दै जान्छ। तर पनि समूहमा रहेका हाइक फर नेपालमा आबद्ध उत्साही मित्रहरूको आयोजनामा पुस पहिलो सप्ताहन्तमा शालीनदीदेखि शालीनदीसम्मको पदयात्रा गर्ने जमर्को जुर्‍यो। माघ महिना लाग्यो कि शालीनदीको स्मरण नगर्ने कमै हिन्दु हुन्छन्।

धार्मिक तीर्थाटनका लागि स्कन्द पुराणमा वर्णित साँखुस्थित यो ठाउँको विशेष महत्त्व रहेको छ। यति मात्र कहाँ हो र? तिब्ब्तबाट फर्केका बौद्ध धर्मका धर्मगुरु पद्मसम्भव पनि यही बाटो आएर यहाँ बास गरेको किंवदन्ती छन्। यहीँ बज्रयोगिनीको प्रसिद्ध मन्दिर पनि छ। स्वयम्भू पुराणमा पनि यो कुरा उल्लेख छ। बज्रयोगिनीलाई तन्त्र साधनाको देवीको रुपमा पनि लिइन्छ।

साँखुलाई शंखरापुर पनि भनिन्छ। यो बस्तीलाई परापूर्वकालमा तिब्बतको फेदीमा रहेको बस्ती भनेर भनिन्थ्यो। प्राचीन बस्ती शंखको आकारको भएको कारणले यस नगरको नाम शंखरापुर रहेको हो। यहाँ उत्तरपूर्वको पहाडबाट शाली नदीको उद्गम हुन्छ भने पश्चिमा आसाखु नदी बगेकी छिन्। यिनै दुई नदीमध्ये शालीनदीको अवलोकन गर्दै साँखु सामुदायिक बन क्षेत्रको पदयात्रा गर्नु हाम्रो उद्देश्य थियो। शालीनदीदेखि शालीनदीसम्म भन्दा यसो गाउँ चहारेर र केही माथि रहेको जहरसिंह पौवासम्म पुगेर आयो होला भन्ने लाग्न सक्दछ। त्यसो होइन। हामी जहरसिंह पौवा गएनौँ। सडकमा पनि हिँडेनौँ। साँखुबाट जगरसिंह पौवा हुँदै मेलम्चीसम्म जाने पिच बाटो पनि छ।

काठमाडौँबाट १७/१८ किलोमिटरमा साँखु पुगिन्छ भने साँखुबाट ३/४ किलोमिटरको पहाडी बाटो हिँडेपछि जहरसिंह पौवा पुगिन्छ। जहरसिंह पौवामा सप्ताहन्तमा पिकनिक मनाउन जानेहरूको घुइँचो देखिन्छ। जहरसिंह पौवाबाट दक्षिणपूर्व लाग्योे भने नगरकोट पनि पुग्न सकिन्छ। हाम्रो बाटो भने फरक थियो। हामी शालीनदीको तीरैतीर उत्तर लाग्यौँ। खेतका आलीमा टेक्दै, नदीको बहावको उल्टो दिशा अगाडि बढ्दै गयौँ।

साँखुका किसानहरूको कर्मशील पौरखी हातका सिर्जना देख्न पाइयो। बिहान आठ बजेको थियो हामीले पदयात्रा सुरु गर्दा। एक मेलो खेत जोतेर फर्कँदै थिए केही युवा। भर्खरै जोतेर सकिएको माटोको सुवास आउँदै थियो। खेतका गह्रा, कान्ला र आलीमा टेकेर हामी हिँड्दै थियौँ। एक किलोमिटर जतिको हिँडाइपछि हामी दक्षिण पाखोमा रहेको मेवाथलीको खेतको फाँट, तरेली परेको खेतका गह्रा र पारिलो घाममा टलक्क चम्किएको घरको आँगन हुँदै उकालो लाग्यौँ।

खेतका गरा खनजोत गरेर सम्याइएका थिए। प्रांगारिक मलका थुप्रोलाई खेतभरि मिलाएर राखिएको थियो। खेतको एउटा कुनामा टनेल खेती थियो जहाँ काउली र गोलभेंडा देख्दै रहर लाग्ने गरी फलेका थिए। अर्को कुनामा केराउ र सिमीका बोट फसल दिने अवस्थामा थिए। घरको करेसामा भोगटे, सुन्तला, कागती र अम्बाका रुख थिए। ग्रामीण परिवेशको यो रहरलाग्दो बसाइ रुमानी थियो, लोभलाग्दो थियो। दक्षिण पाखोमा झुल्के घाम पनि पाउने भएको हुँदा मेवाथली सुरम्य छ। घरको केही माथि उत्तर डाँडामा हरियो वन, तल खेतको फाँट र फाँटसंगै बग्ने शालीनदी यहाँको जीवनदायिनी हुन्।

साँखु बजारबाट उत्तरपूर्व एउटा घना जंगल देखिन्छ। यो जंगल कैलाश पर्वतजस्तै ठिंग उभिएको छ। कुनै समय यो पहाडको ऐलानी जग्गाको खाली भागमा गरा बनाएर खेती गरिन्थ्यो। यो जंगल सामुदायिक वनका रुपमा दर्ता गरिएपछि घनत्व तारिफयोग्य रहेको छ।

मेवाथलीमा रहेको पञ्चमुखे महादेवको दर्शन गरेर हामी ओरालो लाग्यौँ र पुनः शालीनदीको तीरमा आयौं। सानो पुल तरेर पूर्वतर्फ रहेको केही आवादी र त्यसपछि घना जंगलको बाटो हुँदै हिँड्ने निश्चिय गरेर उकालो लाग्यौँ। घरको आँगनमा सुन्तला लटरम्म फलेको देखेर सहभागी सबै साथीहरू एकछिन अल्मलिए। आनन्दातिरेक भएर हो वा विस्मित? यहाँको बसाइ वर्णनातीत थियो। केही तल व्यावसायिक रिसोर्ट पनि थियो। रिसोर्टमा हजारौँ तिरेर रात बिताउन कोही पाहुना लाग्छन्। यहीँँका गाउँले पुर्खाको विरासतमा पाएको सम्पत्तिको भोग प्राकृतिक वरदानको आस्वादन गर्छन् नगण्य परिश्रममा।

उकालो लाग्दै गर्दा घामका किरण खेतमा परेर तापिएको भूमिले निसृत वाष्पित लहर देखेर केही समय विस्मित भइयो। केही अगाडि पदयात्रा सुरु गर्दा सिसाका कणजस्तो शीत जमेर बनेको तुसारो देख्दा आह्लादित भइएको थियो। केही वर्षअघिसम्म हिउँदको काठमाडौँमा तुसारो जम्नु सामान्य थियो। तर अहिलेको पुस्ताले तुसारो देख्दैन। तुसारो दख्न यसैगरी साइत जुर्नुपर्दछ। यो पदयात्रा विशेष किन पनि रह्यो भने ग्राम्य परिवेशको दर्शनसँगै तुसारो, माटोबाट निसृत भुइँकुहिरो सबै देखियो।

हिँड्दैहिँड्दै उकालोमा सुस्तरी पाइला चाल्दै अगाडि बढ्दै थियौँ। कुन समय हो पछि परिएछ। लौ, तल सुन्तला घरकी बहिनीले भनेकी थिइन्, ‘जंगलमा बाघ लाग्छ सँगै हिँड्नु होला।’ मन केही गह्रुँगो भयो। बाघ र चितुवाले पछाडि परेको एक्लो जीवलाई निसाना बनाउँछ भनेर डिस्कभरी च्यानलमा हेरेको थिएँ। भएन बा! भनेर हिँडाइको गति अलिक छिटो गरियो। के अचम्म! यो हिउँदमा पनि छङछङ गर्दै सेता पखेटा फिँजाएर झरना झरेकी छिन्।

अति सुन्दर यो झरना देखेर मोहित नहुने कुरै थिएन। यो झरना तल फेदीमा गएर शालीनदीसँग मिसिन्छ। यसैको पानी साँखुको खानीपानीको मुख्य स्रोत पनि हो। यसैको पानीबाट लघु जलविद्युत् पनि निकालिएको रहेछ। घना जंगलको बीच हुँदै पहाड उक्लिएर हामीहरू पुग्यौँ आहालेचौर, ढोक्सान। आहालेचौर जहरसिंह पौवाभन्दा दक्षिणमा पर्दछ। आहालेचौर पिकनिक स्पटका रूपमा प्रसिद्ध रहेछ। हामी पुग्दा केही व्यावसायिक मानिस र केही विद्यार्थी पिकनिकमा मस्त रमाइरहेका थिए।

यो ठाउँ उत्तर मोहडा फर्किएको छ। यहाँबाट लाङटाङ हिमाल शृंखलामा पर्ने हिमालहरू गणेश, गौरीशंकर, दोर्जेलाक्पाको सुन्दर दृश्य देखिन्छ। देख्न त लमतन्न लामो शृंखला नै देखिन्छ। लाङटाङ हिमशृंखला भने निकै राम्रो गरी देखिन्छ। यहाँ पिकनिक आउँदाको प्रमुख आकर्षण भनेको यिनै हिमालका दृश्य  हुन्। हामीले पनि धीत मर्ने गरी यी हिमाल हेर्‍यौँ र केही थान तस्बिर क्यामेरामा कैद गर्‍यौँ। यही ढोक्सानमा एउटा नमुना विद्यालय छ शिलादेवी आधारभूत विद्यालय। यस विद्यालयको सिसाको घर निकै  आकर्षक छ।

सिसाको घरको अवलोकन गरेर हामी पहाडको शिरमा गयौँ। खुला खाली चौरमा बसेर आआफूले घरबाट बनाएर लगेको पक्वान बाँडेर खायौँ। खानापछि एकछिन नाच्यौँ र ओरालो यात्रामा लाग्यौँ। हामी जुन बाटो हिँड्दै थियौँ त्यो बाटो साइकल यात्रीहरूको रोजाइमा रहेछ। पदयात्रीलाई चिप्लिएर बजारिएला भन्ने डर। यस्तो बाटोमा साहसिक साइकलयात्रीहरू हुइँकिएर मनोरञ्जन लिन्छन्।

महँगो साइकलभन्दा पनि यहाँ सीप र दक्षताको परख गर्ने ठाउँ रहेछ। साहसिक सन्तोष लिन पनि दक्षताको आवश्यकता पर्ने रहेछ। अरूको आनन्दमा लोभिएर मात्र हुँदैन लगन, परिश्रम, सीप र दक्षता उपलब्धि र सन्तुष्टिको आधार रहेछ। हामी यही बाटो पदयात्रा गरेर रमाउँदै गर्दा साइकलयात्रीहरू  यो कठिन उबडखाबड जंगलको बाटोमा आफूलाई सन्तुलित बनाउँदै लक्ष्य तय गरेर रमाउने हुन्।

यो घनघोर जंगलको बीचबाटो हिँड्दा यहाँ कुनै पनि पुराना र बुढा रूख देखिँदैनन्। अर्थात् बीस बाइस वर्ष अगाडि वृक्षरोपण गरिएका रुख बढेर घना भएका हुन् भन्ने अनुमान लगाउन गाह्रो थिएन। ऐलानी जग्गामा खेती गर्नेहरू पनि विस्थापित भएछन्। खेतीका लागि बनाइएका गराहरूको अवशेष अझै पनि देखिन्छ। ठाउँठाउँमा ससाना पानीका स्रोतसमेत भेटिने हुँदा जो जंगल, यो पहाड सुख्खा छैन।

अन्ततः हामी खोरिया भन्ने ठाउँमा पुग्यौँ। यहाँ कुनै सामाजिक संस्थाले वृद्धाश्रम बनाउँदै रहेछ। सहभागी पदयात्रीमध्ये जेष्ठ नागरिक हामीत्रयले आश्रमलाई राम्रोसँग हेर्न भनेर ठट्टा मिश्रित व्यंग्य पनि गर्‍यौँ। यहाँ बस्नका लागि पचास लाख तिर्न पर्छ रे भनेको सुन्दा केही बेर यसको उपयोगिता, सदुपयोग र सम्भावित दुरुपयोगका विषयमा समेत चर्चा गर्‍यौँ। कस्तो अवस्था आएछ मुलुकमा भने पवित्र उद्देश्यले नै गएिको काम भए पनि कसैमाथि पनि विश्वास गर्ने अवस्था रहेनछ।

शालीनदीदेखि शालीनदीसम्म साँखु सामुदायिक बनले चर्चेको सिंगो पहाड कैलाशजस्तै थियो। ओरालो लाग्दै गर्दा कसैले भन्यो, “माथि शीरमा महादेवको मन्दिर बनाउने हो भने कैलाश भन्न मिल्ने रहेछ। तल फेदीमा पार्वतीले स्नान गरेको शालीनदी र शीरमा महादेवको कृडास्थली गज्जबकै हुने रहेछ। कुनै दिन त्यहाँ मन्दिर पनि बन्ला भन्ने अपेक्षा गरियो। लौरो टेक्दै शालीनदीको तीरमा आयौँ र बस चढेर घर फर्कियौँ।

 

प्रकाशित: २० पुष २०८१ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast