![सम्पदा संरक्षण र अक्षय कोष स्थापनाका लागि सिन्धुपाल्चोकको इन्द्रावती-६ मा महायज्ञ](https://himalpress.com/wp-content/uploads/2024/12/falate.jpg)
काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित वसन्तपुरमा रहेको गडगडेधाममा श्रीमद्भागवत महापुराणसहितको ज्ञान महायज्ञ आयोजना हुँदै छ। पुस १६ गते शुभारम्भ हुने महायज्ञ २३ गते समापन हुने महायज्ञको सबै तयारी पूरा भएको यज्ञाचार्य नारायणप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार २२ गते तिलार्चन हुनेछ।
महायज्ञमा श्रीमद्भागवत पाठपारायण र कथा प्रवचन, देवीभागवत, शिवपुराण, सूर्यपुराण, गणेशपुराण र अध्यात्म रामायणको पाठपारायण गर्ने कार्यक्रम छ। साथै वेदपाठ, सप्तसती पाठ, लघुरुद्राभिषेक पनि गरिनेछ।
कोइरालाका अनुसार पण्डितहरु रवीन्द्र आचार्य र नारायणप्रसाद आचार्यले भागवत कथा प्रवचन गर्नेछन्। आचार्य वसन्त कोइरालाले भागवत पाठपारायण र पण्डित कृष्णप्रसाद सापकोटाले देवीभागवत पाठपारायण गर्नेछन्।
पण्डित उमेश न्यौपानेले शिवपुराण पारायण, पण्डित कविराज कोइरालाले सूर्यपुराण पारायण, पण्डित रामचन्द्र कोइरालाले गणेश पुराण पारायण र आचार्य सुमन कोइरालाले अध्यात्म रामायण पाठपारायण गर्ने कार्यक्रम रहेको कोइरालाले बताए।
गौखुरेश्वर फलाँटेश्वर गडगडेधाम विकास उपभोक्ता समितिको आयोजनामा महायज्ञ हुन लागेको हो। गडगडेधाममा गाईको खुट्टाको डाम ढुंगामा देखिएकाले यहाँ भगवान् महादेवको बास रहेको धार्मिक विश्वासमा सदीयौँदेखि पूजा अर्चना हुँदै आएको छ। गौखुरेश्वरमा गौमाताले स्वयं दूध चढाएको जनविश्वास छ।
इन्द्रावती गाउँपालिकाका स्थानीय बासिन्दाले अनादिकालदेखि गौखुरेश्वर महादेवलाई साक्षात् शिवजीका स्वरूपमा पूराआराधना गर्दै आएको समितिका अध्यक्ष पण्डित रामकृष्ण आचार्यले बताए। उनले भने, ‘गौखुरेश्वर फलाँटेश्वर महादेवधाममा गडगडाएर सधैँभरि पानीको मूल फुटेको हुँदा सो ठाउँ गडगडे भन्ने नामले परिचित छ। पावन तीर्थस्थल मुक्तिनाथ धामको जस्तै गडगडेको जल अत्यन्तै पवित्र मानिन्छ।’
गडगडेमा १०८ गौमुखे ढुंगेधारा, ६४ शिवलिंग, मुक्तिनाथ मन्दिर, पितृतीर्थ आदि निर्माणको डीपीआर तयार भइसकेको छ। महायज्ञबाट संकलित रकमबाट उक्त कार्य सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष आचार्यले बताए।
गौखुरेश्वर फलाँटेश्वर महादेव प्रांगणमा २०७२ सालको भूकम्पले पाटी, पौवा, सत्तलहरू भत्केर भग्नावशेषमा परिणत भएको थियो। त्यस ठाउँमा नयाँ मन्दिर, शिव पाञ्चायन, पञ्चमुखी हनुमान, बूढानीलकण्ठ, नवग्रह, सप्तऋषि, अष्टचिरञ्जीवी, स्वस्थानी देवी, पाथीभरा, दक्षिणकाली आदि देवी देवताको मूर्ति स्थापना गरी पूजाआराधना भइरहेको छ। अक्षयकोषको व्यवस्था हुन नसक्दा समितिले मन्दिरमा नित्य पूजा गर्ने पूजारीलाई दक्षिणा एवं मासिक सुविधा दिनसमेत कठिनाइ हुँदै आएकाले महायज्ञ आयोजना गर्न लागिएको समितिका वरिष्ठ उपाध्यक्ष देव कोइरालाले जानकारी दिए।
कोइरालाका अनुसार गडगडेधामको संरक्षण र संवर्धन गरी त्यस क्षेत्रलाई धार्मिक पर्यटकीय रूपमा विकास गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको हो। उनले भने, ‘महायज्ञमा संकलित रकमबाट मन्दिरमा नित्यपूजा व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने लक्ष्य छ।’
महायज्ञ आयोजक समितिले दाताहरुले दिएको दान रकमलाई अक्षयकोष बनाई पारदर्शी रुपमा राख्ने र दाताहरुलाई सम्मानसमेत गर्ने जनाएको छ। महायज्ञमा दिइने एक रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म रकम चन्दाबाकसमा राखिनेछ। त्यस्तै, पाँच सय एकदेखि एक हजार रुपैयाँसम्मको दानलाई अभिलेख खातामा नाम उल्लेख गरी रसिद प्रदान गरी निजलाई रुद्राक्षको माला प्रदान गरी नाम घोषणा गरिनेछ।
एक हजार एक रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म प्रदान गर्नेलाई सम्मानपत्र र रुद्राक्षको माला प्रदान गरिनेछ भने दुई हजार एक रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म प्रदान गर्नेलाई फ्रेममा राखेर प्रमाणपत्र प्रदान गरिनेछ।
पाँच हजार एक रुपैयाँदेखि ११ हजार रुपैयाँसम्म दान गर्नेलाई माथिका सबै सम्मानका साथै निजको नाम शिलालेखमा उल्लेख गरिनेछ भने ११ हजार एक रुपैयाँदेखि २० हजार रुपैयाँसम्म दान गर्ने दातालाई सम्मानका साथै समितिको आजीवन सदस्यता प्रदान गरिनेछ। २० हजार एक रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म दान गर्ने दाताको हातबाट आरती गराइने आयोजकले जनाएको छ। त्यस्तै ३५ हजार एक रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म दान गर्ने दातालाई सम्मानका साथै विशेष पूजाको कर्ताका रुपमा राखिने जनाइएको छ।
साथै ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्म दान गर्ने दातालाई सम्मानका साथै दोसल्ला ओढाई बाजागाजासहित मण्डप परिक्रमा गराइनेछ भने एक लाख एक रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म दान गर्ने दातालाई सम्मानका साथै समितिको मानार्थ सदस्य प्रदान गर्ने तयारी छ।
दुई लाख एक रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म दान गर्ने दाताको जन्मतिथिमा अष्टचिरञ्जीवीको पूजा एवं रुद्राभिषेक गराइदिने आयोजक समितिले जनाएको छ। पाँच लाख एक रुपैयाँदेखि माथि दान गर्नेलाई मन्दिरको संरक्षकका रूपमा चयन गरिनेछ। महायज्ञमा तुलादान, भूमिदान र अन्नदान गर्ने महानुभावहरुलाई विशेष सम्मान गरिनेछ। ब्रह्मण भोजनतर्फ एक दिनका लागि पाँच हजार पाँच सय पाँच रुपैयाँ, आरती सेवातर्फ एकपटकका लागि पाँच हजार पाँच सय पाँच रुपैयाँ र विशेष पूजातर्फ एक दिनका लागि दुई हजार पाँच सय पाँच रुपैयाँ सहयोग गर्न सकिने आयोजक समितिले जनाएको छ।
महायज्ञको कर्ताका रूपमा पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा र व्यवसायी शम्भुविक्रम थापा पनि रहनेछन्। महायज्ञमा सिन्धुपाल्चोकबाट संघीय प्रतिनिधिसभामा प्रतिनिधत्व गर्ने सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेश सांसदहरू कृष्णकुमार तामाङ, मसिना खड्का, कुमारी स्याङ्तानसहित सिन्धुपाल्चोकका सबै पालिका प्रमुखहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको वरिष्ठ उपाध्यक्ष कोइरालाले जानकारी दिए।
गडगडेधाममा पुग्नका लागि यातायातको सजिलो व्यवस्था छ। निजी सवारीसाधनहरूका लागि यज्ञस्थलसम्म सडक पुगेको छ भने हेलम्बु यातायातको बसले पनि दैनिक सेवा उपलब्ध गराउँदै आएको छ। काभ्रेको सिपाघाटस्थित इन्द्रावतीको पुल तरेर केही किमि मध्यपहाडी लोकमार्गको यात्रापछि जंगलको बाटो यात्रा गरेर सिपा तीनघरे संस्कृत मावि हुँदै यज्ञस्थलमा पुग्न सकिन्छ।
यसैगरी चौताराबाट आउन चाहनेहरूका लागि नवलपुर-ऐँसेलुखर्क, सिपा हबेली-आँपचौर हुँदै यज्ञस्थलमा जान सकिन्छ भने मेलम्ची क्षेत्रबाट यज्ञस्थलमा जानका लागि बाहुनेपाटी-सिपाधुसेनीको सडक प्रयोग गर्न सकिन्छ। यसैबीच काठामडौँबाट यज्ञस्थलमा पुग्न १६ देखि २३ गतेसम्म बिहान ६:५० बजे चुच्चेपाटीबाट हेलम्बु यातायातको बसको छुट्टै व्यवस्था गरिएको महायज्ञ आयोजकले जनाएको छ। उक्त बस कोटेश्वर, बनेपा, धुलिखेल, पाँचखाल, सिपाघाट, सिपातीनघरे हुँदै वसन्तपुरसम्म सञ्चालन हुनेछ।