काठमाडौँ- चीनले तिब्बतको यारलुङ जांगबो (भारतमा ब्रह्मपुत्रको नामले चिनिने) नदीमा संसारको सबैभन्दा ठूलो हाइड्रोपावर बाँध निर्माणको स्वीकृति दिएको छ। तिब्बत पठारको पूर्वी किनारमा निर्माण हुने यो बाँधलाई पृथ्वीको सबैभन्दा ठूलो पूर्वाधार परियोजना भनिएको छ। जसको लागत १३७ बिलियन डलर रहेको छ।
यसबाट प्रत्येक वर्ष ३०० अर्ब किलोवाट घण्टा बिजुली उत्पादन हुने चिनियाँ समाचार एजेन्सी सिन्हवाले जनाएको छ। यो बाँध हालको संसारको सबैभन्दा ठूलो थ्री गर्जेजको तुलनामा तीनगुणा बढी क्षमताको हुने समाचारमा उल्लेख छ।
परियोजनाले चीनको ऊर्जा उत्पादन र हाइड्रोपावर क्षमतामा महत्त्वपूर्ण वृद्धि गर्न मद्दत पुर्याउने बताइएको छ। थ्री गर्जेज ड्यामजस्तै यस परियोजनाले पनि ठूलो मात्रामा मानिसलाई विस्थापन गराउनेछ। थ्री गर्जेज ड्याम परियोजनामा लगभग १४ लाख मानिस विस्थापित भएका थिए। यारलुङ जांगबोको बाँधका कारण कति मानिस विस्थापित हुनेछन् भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।
ब्रह्मपुत्र दक्षिण एसियाको एक प्रमुख नदी हो। यो नदी चीन, भारत र बंगलादेश भएर बग्छ। ती देशको जल आपूर्ति, कृषि, र पारिस्थितिकीय प्रणालीका लागि महत्त्वपूर्ण मानिन्छ। भारत र बंगलादेशजस्ता देशहरूले यस परियोजनाबारे चिन्ता व्यक्त गरेका छन्। भारतले बाँधको सम्भावित पर्यावरणीय र रणनीतिक प्रभावबारेमा आपत्ति जनाएको छ।
ब्रह्मपुत्र नदी भारतको पूर्वोत्तर क्षेत्रमा महत्त्वपूर्ण जलस्रोत हो। ब्रह्मपुत्र ५० किलोमिटरको छोटो खण्डमा २००० मिटरको उचाइबाट खस्छ। यसको तीव्र प्रवाह बिजुली उत्पादनका लागि विशेष रूपले अनुकूल बनाउँछ। किनकि यसबाट ठूलो मात्रामा पानीको प्रवाह र ऊर्जा प्राप्त हुन्छ।
चीनले प्रस्तावित गरेको हाइड्रोपावर बाँध निर्माण गरेमा नदीको प्राकृतिक बहावमा परिवर्तन ल्याउन सक्छ। जसले भारत र बंगलादेशमा गम्भीर परिणाम ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ। भारतको अरुणाचल प्रदेश र असममा कृषि र जल आपूर्ति प्रभावित हुन सक्ने समाचारमा उल्लेख छ।