शुक्लाफाँटामा मकैखेती विस्तार भएपछि कुखुरा किसानलाई राहत

हिमाल प्रेस १५ पुष २०७९ १७:१३ | Friday, December 30, 2022
शुक्लाफाँटामा मकैखेती विस्तार भएपछि कुखुरा किसानलाई राहत फाइल तस्बिर।

कञ्‍चनपुर– शुक्लाफाँटा नगरपालिकाले हिउँदमा हुने वसन्ते मकै खेतीको क्षेत्र विस्तार गर्न कार्यक्रम अघि सारेको छ। किसानलाई उन्नत जातको वसन्ते मकै खेतीप्रति आकर्षित गर्न अनुदानका कार्यक्रम अघि सारेको हो।

कार्यक्रममार्फत किसानलाई ५० प्रतिशत अनुदानमा अरुण ४ र पाइनियरलगायत उन्नत जातका मकैको बीउ उपलब्ध गराइने नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले जानकारी दिए।

‘मकै खेती गर्ने किसानको सङ्ख्या प्रतिवर्ष घट्दै गएको छ’, उनले भने, ‘मकै खेतीप्रति किसानको मोह बढाउन अनुदानका कार्यक्रम ल्याएका हौँ।’
किसानले माग गरेका मकैका उन्नत जातहरूको बीउ ल्याएर वितरण गर्ने योजना बनाइएको उनले बताउनुभयो। ‘पाइनियर र अरुण ४ जातका मकै पूर्वतर्फका कैलाली, बर्दिया र बाँकैमा फस्टाएको पाएका छौँ’, शाखा प्रमुख बुढाऐरले भने, ‘किसानले पनि तीनै जातको माग गरेकाले उपलब्ध गराउँदैछौँ।’

हाल नगरपालिका क्षेत्रमा वसन्ते मकैको खेती ५० हेक्टर क्षेत्रफलमा हुने गरेको छ। त्यसलाई बढाएर दोब्बर पार्ने नगरपालिकाको योजना छ। बजारमा उन्नत जातका वसन्ते मकैको बीउको मूल्य उच्च भएकाले सबै किसानले खरिद गर्न नसक्ने भएकाले आधा मूल्य नगरपालिकाले तिर्ने र आधा मूल्य किसानले तिर्ने गरी कार्यक्रम बनाइएको छ।

‘नगरपालिका क्षेत्र पहिला बर्खे मकैका लागि जिल्लामै अग्रस्थानमा रहेको थियो’, स्थानीय किसान रामकिसन डगौराले भने, ‘मकैको बजार भाउ नमिल्दा धेरैले छाड्दै गए, मकैको तुलनामा बढी आम्दानी दिने तरकारी खेती, उखु खेती गर्न थाले, त्यसपछि मकै लगाउने किसान खोज्नै मुस्किल हुन थालेको छ।’

वन क्षेत्र संरक्षण भएपछि जंगली जनावरको संख्या बढ्दा लगाएको मकै बाली खाएर सखाप पार्न थालेपछि किसानले मकै लगाउन छाड्नु परेको उनले बताए। हाल बजारमा कुखुरापालक किसान बढेसँगै मकैको माग उच्च छ। नगरपालिक्षेत्रमा मकै नपाइँदा कुखुरापालकले बाह्य क्षेत्रबाट मकै खरिद गरेर दाना बनाई चारोका रूपमा कुखुरालाई खुवाउँदै आएका छन्।

कुखुरापालक किसान कमल चौधरीले मकै बाह्य क्षेत्रबाट ल्याउँदा त्यसमा ढुवानी भाडा जोड्दा मूल्य निकै उच्च हुने गरेको बताए। ‘मकै प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा खरिद गरिरहेका छौं,’ उनले भने, ‘ढुवानी खर्च जोड्दा प्रतिकिलो ४० रुपैयाँसम्म पुग्छ। नगरपालिकामै मकै पाइए ढुवानी भाडा तिर्नु पर्दैन, सस्तो हुन्छ।’

प्रकाशित: १५ पुष २०७९ १७:१३ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast