काठमाडौँ- इजरायल-हमास युद्ध चलिरहेका बेला भारत हुँदै १ हजार ७ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि इजरायल पुगेको पाइएको छ। इजरायल पुगेका अधिकांश नेपाली भारतीय राहदानी बनाएर दलालमार्फत गएको सूचना आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताएका हुन्।
निरौलाले भने, ‘इजरायलले प्यालेस्टाइनी, लेबनान र इरानमाथि आक्रमण गरिरहेकै बेला भारतीय राहदानी लिएर १ हजार ७ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा इजरायल पुगेको सूचना आएको छ।’ तीमध्ये कतिपय महिला छन्। यस विषयमा इजरायलस्थित नेपाली दूतावासमार्फत जानकारी लिने काम भइरहेको उनले बताए।
सरकारी तवरबाट इजरायल कामदार पठाउन बन्द गरे पनि दलालमार्फत नेपाली कामदार त्यहाँ गइरहेको उनले बताए। ‘इजरायसँग सिमाना जोडिएका श्रम गन्तव्य देशमा युद्धको त्रास बढेपछि सरकारले ती देशमा कामदार पठाउन बन्द गरेको छ। तर भारतीय राहदानी लिएर केही कामदार इजरायल पुगेको सूचना पाइयो। यसरी कामदार पठाउने दलालको बारेमा अध्ययन भइरहेको छ’, निरौलाले भने।
गत वर्ष क्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायल र त्यहाँको छिमेकी देशमा रहेका अतिवादी समूहबीच तनाव बढ्दै गएको थियो। यस्तो अवस्थामा नेपाली कामदार भारतीय राहदानी दिएर इजरायल जानु अति जोखिम भएको उनको भनाइ छ।
युद्धका कारण इजरायल सरकारले कामदार पठाउन बन्द गरे पनि प्रतिकामदार १७–१८ लाख तिरेर नेपाली गइरहेको उनी बताउँछन्।
इजरायल र लेबनानबीच युद्धविराम भइसकेको छ। सरकारले तेलअभिबस्थित नेपाली दूतावाससँग ट्राभल एडभाइजरी पठाउन अनुरोध आग्रह गरेको छ।
गत भदौमा इजरायलले थप दुई हजार नेपाली कामदारलाई केयरगिभर र स्वास्थ्य क्षेत्रमा लैजान छनोट गरेको थियो। ती कामदार पठाउन दूतावासलाई एडभाइजरी पठाउन अनुरोध गरिसकेका कारण केही समयपछि प्रक्रिया सुरु हुने वैदेशिक रोजगार विभागले जनाएको छ।
वैदेशिक रोजगार विभागको इजरायल शाखाका निर्देशक गिरिजाराज ज्ञवालीले दूतावासले एडभाइजरी पठाएपछि इजरायल जान भाषा परीक्षण पास भएका कामदार पठाउन सकिने बताए। ‘अहिले कामदार पठाउने प्रक्रिया अघि बढाउने हो। यस विषयमा इजरायल सरकारसँग छलफल भइरहेको छ। कामदारको सुरक्षा ग्यारेन्टी भएपछि मात्र पठाइन्छ’, उनले भने।
इजरायल र लेबनानबीच हुन सक्ने युद्धलाई दृष्टिगत गरेर गत असोजमा इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने कायरो दूतावासले सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको थियो। इजरायल र लेबनानबाट एक हजारभन्दा बढी नेपालीले स्वदेश फर्किन फाराम भरे पनि अन्तिममा युद्धविराम भएपछि उतै बसेका छन्।
नक्कली प्रकरण टुङगिएको छैन
इजरायल जाने कामदारले आवदेन दिँदा नक्कली कागतजात पेस गरेको प्रश्न उठेपछि मन्त्री शरत्सिंह भण्डारीले साउन १३ गते छानबिन समिति गठन गरेका थिए। गत भदौमा श्रम मन्त्रालयले इजरायलको केयर गिभरमा माग गरेको आवेदनमा तीन सयभन्दा बढी कामदारले पेस गरेको कागजात नक्कली पाएपछि तत्कालका लागि छनोट प्रक्रिया रोकिएको मन्त्रालयले जनाएको छ।
समितिले छानबिन गरिरहेकै बेला भदौ १५ गते इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोलाप्रथाबाट नेपाली कामदारको आवेदन छनोट गरेको थियो।
पिवाले गोलाप्रथामार्फत २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरिसकेको छ। त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन्। छनोटमा परेका तीन सयभन्दा बढी कामदारको कागतजात नक्कली भेटिएको विषय टुंगिएको छैन।
गत साउनमा ३९, भदौमा ३२, असोजमा ३९ र कात्तिकमा ११२ जना नेपालीले इजरायल जान व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएको गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।
इजरायलमा सात हजारभन्दा बढी नेपाली कार्यरत छन्। जसमध्ये ७० प्रतिशत महिला कामदार छन्।