एसियन हाइवे निर्माण धमाधम, इटहरीमा तीनवटा ओभरपास

विवेक विवश रेग्मी ९ पुष २०८१ १६:१३
200
SHARES
एसियन हाइवे निर्माण धमाधम, इटहरीमा तीनवटा ओभरपास निर्माणाधीन एसियन हाइवे। तस्बिर : विवेक विवश रेग्मी।

इटहरी- निर्माणाधीन एसियन हाइवेअन्तर्गत इटहरीमा तीनवटा ओभरपास बन्ने भएको छ। इटहरी खण्डमा बूढीखोलादेखि लबीपुरसम्म तीनवटा ओभरपास बन्ने काँकडभिट्टा-लौकही सडक आयोजनाका अधिकारीहरूले बताएका हुन्। झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको यो सडक पाँच प्याकेजमा ठेक्का लागेर निर्माण भइरहेको छ। यसका लागि दुईवटा कार्यालय स्थापना गरिएको छ। प्याकेज २, ३ र ५ काँकडभिट्टा-लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयले  हेर्दै आएको छ। यसैगरी प्याकेज १ र ४ काँकडभिट्टा-लौकही सडक आयोजना पूर्वी खण्ड दमकले  हेर्दै आएको छ।

प्याकेज १ मा काँकडभिट्टादेखि सीतापुरीसम्म पर्छ। प्याकेज २ मा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म पर्छ भने प्याकेज ३ गोठगाउँदेखि इटहरीको लबीपुरसम्म पर्छ। प्याकेज ४ मा कन्काई, बिरिङ, निन्दा पुल पर्छन्। प्याकेज ५ तीन सयभन्दा बढी पुल छन्। पूर्वपश्चिम राजमार्ग विस्तार गरेर एसियन हाइवे बनाउन लागिएको हो।

‘इटहरी खण्डमा बूढीखोलादेखि लबीपुरसम्म तीनवटा ओभरपास बन्नेछ,’ काँकडभिट्टा-लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठले भने, ‘इटहरी चोकमा एउटा ओभरपास बन्नेछ। जहाँ पूर्वपश्चिम राजमार्गअन्तर्गत सवारीसाधन माथिबाट सञ्चालन हुनेछ भने उत्तर दक्षिणको क्रसिङ तलबाट हुन्छ।’ उनका अनुसार इटहरी चोकमा एउटा, पूर्वतिर तालतलैया जाने क्षेत्रमा अर्को र पश्चिमतर्फ इटहरी बसपार्कबाट हाइवे आउने बाटोको कलंकीमा अर्को ओभरपास बन्नेछ। ‘आइरन वाल कन्स्ट्रक्सन’ गरेर ‘ओभरपास’ बन्ने उनले बताए।

पश्चिम खण्डमा  सडकबाहेक ६९ वटा कल्भर्ट, तीन सय मिटरभन्दा लामो तीनवटा पुल र तीन सय मिटरभन्दा कमको २८ वटा पुल निर्माण हुनेछ। जसमा तीन सय मिटरभन्दा लामो झापाको रतुवा र मोरङमा रहेका बक्राहा र लोहन्द्रा खोलाको पुल निर्माण हुनेछ।

इटहरी चोकमा ४२ मिटरको चौडाइ र साढे ५ मिटरको उचाइमा ‘ओभरपास’ बन्ने श्रेष्ठले बताए। ‘पूर्व र पश्चिमतिर १३ मिटर चौडाइ र साढे ५ मिटर हाइटको ओभरपास बन्नेछ,’ उनले भने, ‘दुवैतिर साढे ६ मिटरको सर्भिस लेन, साढे ५ मिटरको फुटपाथ, साइकल लेन र बीचमा साढे ३३ मिटरको सडक गरी ५० मिटरमा काम भइरहेको छ।’

एसियन हाइवेअन्तर्गत झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलियामा ‘ओभरपास’ बन्नेछन्। आयोजनामा मुआब्जा विवाद नरहेको र ‘साइड क्लियरेन्स’मा पनि समस्या नभएका कारण तोकिएको अवधिमै निर्माण सम्पन्न हुने उनले बताए। उनका अनुसार तीन वर्ष समयावधि तोकिएर ६ महिनायता सडक निर्माणको काम भइरहेको छ। इन्जिनियर श्रेष्ठले भने, ‘समय लम्बिने, समयमा काम नहुने भन्ने हुँदैन। यो आयोजनामा कुनै समस्या छैन। मुआब्जा दिनुपर्ने अवस्था नरहेका कारण पनि द्रुत गतिमा काम हुनेछ।’ एसियन हाइवेको डिजाइन ‘स्पिड’ भने प्रतिघण्टा एक सय किलोमिटर रहेको र अहिले ‘कन्स्ट्रक्सन फेज’मा रहेको इन्जिनियर श्रेष्ठ बताउँछन्। झापाको सीतापुरीदेखि इटहरीको लबीपुरसम्मको यो सडकको लम्बाइ ९५.७ किलोमिटर छ।

कुन प्याकेजमा कति प्रतिशत काम?

आयोजनाका अधिकारीहरूले सडक विस्तारले गति लिइरहेको दाबी गरे पनि भौतिक प्रगति भने सुस्त देखिएको छ। प्याकेज २ र ५ मा १० प्रतिशत र प्याकेज ३ मा पाँच प्रतिशत मात्र काम भएको आयोजनाका अधिकारीहरू बताउँछन्।

श्रेष्ठका अनुसार पूर्वी खण्डमा ४५ किलोमिटर र पश्चिम खण्डमा ५०.७ किलोमिटर सडकको काम भइरहेको छ। इन्जनियर श्रेष्ठले भने, ‘तत्काल इटहरीको लबीपुरसम्म बन्नेछ। बजेट अभाव र विविध कारणले लौकहीसम्म नबन्ने भएको हो। त्यस क्षेत्रको पनि डीपीआर र डिजाइन भने तयार भइसकेको छ।’

काँकडभिट्टा-लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले तीन वर्षमा पूरै निर्माण सक्ने गरी काम भइरहेको बताए। उनले कतिपय स्थानमा बिजुलीको खम्बा सार्ने र सडक निर्माणको कामसँगै गर्नुपर्ने अवस्था रहेको बताए। उनका अनुसार तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जंगल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ। बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने प्रजापतिले बताए।

एसियन हाइवेअन्तर्गत निर्माणाधीन मोरङ खण्ड।

प्याकेज १ मा १० प्रतिशत र प्याकेज ४ मा ८ प्रतिशत काम भइसकेको आयोजनाका पूर्वी खण्डका अधिकारीहरूले बताएका छन्। काँकडभिट्टा–लौकही सडक आयोजना पूर्वी खण्ड दमकका सूचना अधिकारी आशिष देवका अनुसार प्याकेज १ मा १० प्रतिशत काम भइसकेको छ। उनले भने, ‘प्याकेज ४ मा तीन सय मिटर लामो तीनवटा पुल बन्नेछन्। जसमा ८ प्रतिशत र प्याकेज १ मा १० प्रतिशत काम भएको छ।’
पूर्वी खण्डमा साइड क्लियरेन्सको कुनै समस्या नरहेको उनले बताए। देवले भने, ‘बिजुलीको पोल हटाउने काम भइरहेको छ। तोकिएको समयमै काम सक्ने लक्ष्य छ।’

पूर्वी खण्डमा दुई हजार दुई सय वटा बिजुलीको पोल सार्नुपर्नेछ। ६ सय वटा सारिएको छ भने एक हजार ६ सय वटा सार्ने क्रममा छ। ‘घर टहरा १५, मन्दिर र पब्लिक संरचना ट्राफिक पोस्टलगायत गरी १२ वटा संरचना क्लियरेन्स गर्न बाँकी छ। त्यसमा कुनै समस्या छैन,’ सूचना अधिकारी देवले भने। बजार क्षेत्रमा दुवैतर्फ सर्भिस लेन एक-एक लेनको सडक हुँदा ६ लेनको हुनेछ। जंगल क्षेत्रमा भने चार लेनको सडक निर्माण हुनेछ। सडक निर्माणको ठेक्का कालिका र तुंगी कन्स्ट्रक्सन चाइनिज कम्पनीले लिएका छन्।

इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले रूख कटानमा ढिलाइ भएकाले केही सुस्त देखिए पनि काममा कुनै बाधा नरहेकाे बताए।  एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा उक्त सडक निर्माण भइरहेको हो। ‘३४ अर्ब ९० करोड रकममा ठेक्का लागेको रकममध्ये एसियाली विकास बैँक (एडीबी)को ८४.१ प्रतिशत र १५.९ प्रतिशत नेपाल सरकारको लगानीमा छ’, प्रजापतिले भने। २०२४ फेब्रुअरी १ बाट सुरु भएको योजना २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य छ।

इटहरीमा कति घर भत्किन्छन्?

सडक विस्तारअन्तर्गत इटहरी बजार क्षेत्रमा कति घर भत्किन्छन् भन्ने अझै टुंगो लागेको छैन। ‘अहिले हामीले एक चरण कति घर तथा भवन भत्कन्छन् भनेर स्टिमेट निकाले पनि सहरी विकासअन्तर्गतको संघीय आयोजना कार्यालय विराटनगरले स्टिमेट निकालिसकेको छैन’, इन्जिनियर श्रेष्ठले भने, ‘भवन विभागले मूल्यांकन गरिसकेपछि सीडीओ कार्यालयले मूल्यांकन समितिले भवनको मूल्य निर्धारण गर्छ।

उनका अनुसार आयोजना कार्यालय र भवन विभागले संयुक्त रूपमा नापजाँच गरेपछि घर भत्कने यकिन तथ्यांक आउनेछ। ‘बढीमा दुई साताभित्रमा कति घर भत्किन्छन् भन्नेबारे यकिन हुन्छ,’ उनले भने, ‘अहिले एक चरणको भेरिफिकेसन सकेर संयुक्त रूपमा भेरिफिकेसन गर्ने तयारीमा छौँ।’ आयोजनाका अधिकारीहरू इटहरीमा करिब एक सय घर तथा भवनहरू भत्किन सक्ने बताउँछन्।

मुआब्जा र क्षतिपूर्तिका विषयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले मूल्यांकन गर्ने उनले बताए। ‘क्षतिपूर्तिको मूल्यांकन सीडीओको अध्यक्षतामा बसेको बैठकले गर्छ,’ उनले भने, ‘त्यसबारे पछि बैठक बस्नेछ। अहिले भने प्रमाणीकरण भइरहेको छ।’

बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ। ‘साइड क्लियरेन्सको काम सकेको ठाउँमा अहिले सडक काम भइरहेको छ,’ इन्जिनियर श्रेष्ठले भने, ‘बत्तीको पोल भने सडक निर्माणसँगै सार्ने काम हुन्छ।’ उनका अनुसार अहिले रूख कटानको काम सकेर साइड क्लियरेन्स भएका ठाउँमा भने सडक निर्माण भइरहेको छ।

विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरका अनुसार अहिले बिजुलीको पोल सार्ने काम भइरहे पनि तार अभावका कारण तत्काल पूर्ण काम भइसकेको छैन। केही दिनमै थप तार आइपुगेपछि बिजुलीको पोल र तार सँगसँगै सार्ने काम हुने कार्यालयको भनाइ छ। झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म सडक बनाउने गरी डीपीआर र डिजाइन तयार गरिएको भए पनि तत्काल भने इटहरीको लबीपुरसम्म मात्रै सडक निर्माण हुने जनाइएको छ।

पूर्वी र पश्चिम गरी दुई खण्डमा बन्न लागेको यो आयोजना एसियन हाइवेको एउटा भाग हो। थाइल्यान्डको बैंककबाट सुरु भएको हाइवे म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्वपश्चिम राजमार्ग भएर नयाँदिल्लीबाट पाकिस्तानको कराँची पुग्नेछ। भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तार गरिसकेको छ।

प्रकाशित: ९ पुष २०८१ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast