चिहान अर्थात् मुर्दा गाड्ने वा जलाउने ठाउँ। हामीलाई चिहान भन्ने शब्द प्रिय लाग्दैन। किनभने कसैको मृत्यु हुनु वा निधन हुनु आफैँमा सुखद होइन।
हाम्रो देशको शिक्षा प्रणाली पनि त्यही चिहान जस्तै छ, जहाँ मरेका ज्ञानहरूले भरिएका छन्। हामी पनि त्यही चिहानमा भासिनुको विकल्प छैन। विकल्प खोज्नेहरू र विकल्प खोज्न सक्नेहरू विदेश पलायन हुन बाध्य छन्।
त्यस्तै मरेका ज्ञानहरू देखाउने नाटक हो, ‘ज्ञानको चिहान’। ज्ञान आफैँमा मर्दैन तर देशको खराब राजनीतिक प्रणालीले शिक्षालाई चिहान बनाइरहेको छ भन्ने नाटकमा देखाइएको छ।
भनिन्छ शिक्षा प्रणालीले देशको स्तर मापन गर्छ। अहिले विश्वले हेर्ने पनि कुन देशको शिक्षा प्रणाली कस्तो छ भनेर हो। तर हाम्रो देशमा राजनीतिले शिक्षा प्रणालीलाई ध्वस्त बनाएको छ।
विद्यार्थीले गुरुलाई कालोमासो दल्ने, कुट्ने प्रवृत्ति बढेको छ। आफ्ना मागहरू पूरा नहुँदासम्म विश्वविद्यालयमा तालाबन्दी गर्ने, पढाइ अवरुद्ध गर्ने जस्ता क्रियाकलाप हुने गरेका छन्।
हरेक क्षेत्र जस्तै शिक्षा पनि राजनीतिले गाँजिएको छ। राजनीति त विद्यमान अवस्थाअनुसार शिक्षाको विकास र विस्तारमा केन्द्रित हुनुपर्ने हो। तर त्यसो हुन सकिरहेको छैन। बरु शिक्षालाई राजनीतिको थलो बनाउने प्रयास गरिएको छ।
विद्यार्थी संगठनहरूले त शिक्षा नीति बनाउन सहयोग गर्ने, विद्यार्थीका हकहितका बारेमा बोल्ने हो। तर हाम्रा विश्वविद्यालयका विद्यार्थी संगठनहरू आफ्नो दलीय स्वार्थ पूरा गर्न मात्रै सीमित छन्।
अहिलेको शिक्षा ज्ञान आर्जन गर्नेभन्दा पनि प्रमाणपत्र प्राप्तिमा मात्रै केन्द्रित छ। त्यसमा पनि कुन विद्यार्थी संगठनका कति विद्यार्थी पास भए वा फेल भए, छात्रवृत्ति कसले पाए भन्ने विषय मात्रै बहसको विषय बन्ने गरेको छ।
आफ्ना ‘कोटा’का विद्यार्थी उत्तीर्ण नहुँदा स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले शिक्षकलाई कुटपिट र थर्काएपछि पुनः अर्को नतिजा निकाल्न बाध्य पारेका दृश्यहरू ‘ज्ञानको चिहान’मा समेटिएको छ। नाटकमा शिक्षकहरू विद्यार्थीसँग डराउनुपर्ने अवस्थालाई चित्रण गरिएको छ।
यता शिक्षकहरू पनि राजनीतिक नियुक्ति, घुस खुवाएर जागिर खाने गरेको विषयलाई निर्देशक संगीत सापकोटाले मिहीन ढंगले नाटकमा प्रस्तुत गरेका छन्। यस्ता क्रियाकलापले शिक्षाको स्तरलाई अझै कमजोर बनाएको छ। यसले देशका लागि केही गरौँ भनेर लागेका शिक्षक र विद्यार्थीहरू राजनीतिलाई घृणा गर्ने गर्छन्। त्यसैले त अहिलेका युवाहरू राजनीतिलाई ‘डर्टी गेम’ भन्ने गर्छन्।
देशमा आफ्नो भविष्य नदेखेर कक्षा १२ पछि विदेश पढ्न जानेको लर्को छ। लगानी गर्न नसक्नेहरू यही ‘डर्टी गेम’ सहेरै भए पनि ‘ज्ञानको चिहान’मा रुमलिन बाध्य छन्।
पुरातनवादी शिक्षकहरू पनि आफूलाई सुधार्न चाहँदैनन्। पुरानै कोर्स पढाइरहेकाहरू आफूलाई ‘अपग्रेड’ गर्न चाहँदैनन्। ‘ज्ञानको चिहान’ मा एउटा पात्र छ, आयाम। ऊ विद्यार्थी पनि हो र शिक्षक पनि। राजनीतिभन्दा टाढा। ऊ सोच्छ शिक्षामा राजनीति हुनुहुँदैन।
शिक्षालाई उत्पादनमूलक बनाउनुपर्छ भन्ने सोच राख्ने आयामले यही कुरा राखेकै कारण जागिरबाट हात धुनुपर्छ। सामुदायिक विद्यालयको शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने विषयको बोर्ड बैठकमा आफ्ना कुरा राख्दा अन्य पुराना शिक्षक र प्रधानाध्यापकले उसैलाई हतोत्साही बनाउँछन्। त्यहीँनेर शिक्षकहरूले आफ्ना छोराछोरीहरू निजी विद्यालय पठाएको बताउँछन्।
यसमा के देखाउन खोजिएको छ भने सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूलाई आफैँप्रति विश्वास छैन। त्यसैले त उनीहरू आफ्ना सन्तानलाई निजी विद्यालय पठाउने गर्छन्। यो अहिलेको विद्यमान समस्या नै हो।
सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन र विश्वसनीय बनाउन सरकारी शिक्षकले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने भनेर सरकारले नियम बनाएको थियो। तर त्यो कार्यान्वयन खासै भएको देखिन्न।
यता निजी विद्यालयहरूले भने ट्युसन, होस्टेल र मासिक शुल्कका नाममा अभिभावक लुटिरहेको दृश्यलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। खासगरी यो नाटक शिक्षामा हुने राजनीतिलाई केन्द्रमा राखेर बनाइएको छ।
अझ विद्यार्थी राजनीतिलाई बढी समेटिएको छ। शिक्षामा भएको फोहोरी राजनीति मात्रै होइन सुधार गर्न चाहने विद्यार्थी नेताहरू पनि छन् है भन्ने नाटकमा देखाउन खोजिएको छ। विद्यार्थी आन्दोलनमा देखा परेका खराब र असल दुवै पक्षबीचको संघर्षलाई देखाइएको छ।
त्यस्तै एउटा पात्र हुन् ज्वाला। उनी शिक्षालाई राजनीतिका माध्यमबाट सुधार्न चाहन्छिन्। उनलाई लाग्छ राजनीतिले बिगारेको शिक्षा राजनीतिले नै सुधार्नुपर्छ। नाटकमा उनको अभिनय र विद्यार्थी नेताका रूपमा गरेको भाषण प्रशंसायोग्य छ।
सन्देशमूलक र शिक्षासँग सम्बन्धित नाटक भएकाले एकदुई ठाउँमा दर्शकलाई ‘बोर’ महसुस हुने खालका दृश्य पनि छन्।ती दृश्य नाटकमा ‘वाइह्यात’ भने लाग्दैनन्। कतिपय व्यंग्यात्मक प्रस्तुतिहरू पनि छन्, जसले दर्शकलाई हँसाएरै शिक्षाको वास्तविक अवस्थाबारे जानकारी दिन्छ।
नाटकमा अभिनय गर्ने सबै कलाकारहरूको अभिनय बेजोड छ। नाटकमा उनीहरूले गरेको मेहनत प्रस्ट झल्कन्छ।
समग्रमा भन्नुपर्दा ‘ज्ञानको चिहान’ शैक्षिक प्रणालीमा घुसेर त्यसैलाई नै कोक्रो बनाइरहेको राजनीतिमाथिको प्रहार हो।
यसको परिकल्पनाकार अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह हुन्। उनले भनेकी छन्, ‘चिहान बन्दै गएको हाम्रो शिक्षा प्रणालीलाई पुनर्जीवन दिन यो नाटक एक प्रारम्भिक बहस हो।’ उनले भनेजस्तै नाटक पनि बहसकै बीच सकिन्छ।
यो नाटकलाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी, आशिष घिमिरेले लेखेका हुन्। पुस १३ गतेदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सुरु भएको नाटक पुस ३० गतेसम्म चल्नेछ।