काठमाडौँ- नयाँ बानेश्वरको थापागाउँस्थित शिल्पशाला कुञ्ज नाटकघरमा पुस ३ देखि नाटक ‘यशस्वी भव!’ मञ्चन भइरहेको छ।
नाटकमा उत्तर आधुनिकताको नाममा पश्चिमा संस्कृति हाबी भइरहेको नेपाली समाजमा वृद्ध बाआमालाई वृद्धाश्रम छोड्ने बढ्दो प्रवृत्तिलाई श्रवण पात्रको कथामार्फत् प्रस्तुत गरिएको छ। नाटकका लेखक राम केएसी हुन्। उनकै परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन भएको हो।
नाटकमा तीन पुस्ताको चित्रण छ। मुख्यतः श्रवणको पत्नि कञ्चन, छोरी आकांक्षा र आमाको वरिपरि नाटक घुमेको छ। बालबालिका केन्द्रित नाटक स्कुलमा छोरी लिन गएका बाआमाबाट कथाबाट सुरु भएको छ। छोरीले बाआमालाई चिन्दिनँ भनेपछि श्रवण र उनको पत्निको मनमा उठेका दुविधा र परिवर्तन हुँदै गएको छोरीको व्यवहारलाई द्वन्द्वात्मक शैलीमा देखाइएको छ।
छोरीको व्यवहारमा किन परिवर्तन आयो भन्ने कौतूहलतालाई आश्रममा भेटिएकी आमासँग जोड्दै कथा अघि बढाइएको छ। यसले तीन पुस्ताको सम्बन्धमार्फत् मानवीय मनमा हराउँदै गएको अध्यात्मिक चिन्तन र पश्चिमा संस्कृतिले भित्र्याएको आधुनिकताले ल्याएको परिवर्तनलाई नाटकमार्फत् उजागर गर्न खोजिएको छ। यसले नाटक बालबालिका केन्द्रित भन्दा बढी वयस्क पुस्तालाई लक्षित गर्नुपर्ने देखिन्छ।
बाल कलाकारकै अभिनय रहेको नाटकमा सरल भाषा र शैलीशिल्पको प्रयोग गरिएको छ। संवादशैलीअनुसार पात्रहरुले पनि अभिनयमा सम्भावना देखाउन निर्देशक सफल भएका छन्।
नाटक पुस ६ अर्थात् भोलिसम्म चल्नेछ। सद्भाव थिएटर नेपालको प्रस्तुति रहेको नाटकका कलाकार बूढानीलकण्ठस्थित पिक प्वाइन्ट एडुकेसन नेटवर्कमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका विद्यार्थी हुन्।
नाटकमा रेशिका श्रेष्ठ, सद्भावना थापा, मनसुन फुँयाल, मञ्जुरी श्रेष्ठ , एन्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दिपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ र राजन रानामगरको अभिनय छ।