काठमाडौँ– सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को कानुन शाखाको प्रमुखमा अधिवक्ता आनन्दबाबु खड्का नियुक्त भएका छन्। कम्पनी व्यवस्थापनले खड्कालाई कानुन शाखाको प्रमुखमा नियुक्त गरेको हो। खड्का यसअघि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत थिए।
वाणिज्य कानुनमा दखल राख्ने खड्का कम्पनी मर्जअगाडि कम्पनी सचिवका रूपमा कार्यरत थिए। साथै उनीसँग इन्स्योरेन्स दाबी विभाग तथा मानव संशाधन विभाग प्रमुखको अनुभव पनि छ। विशाल ग्रुपसँग निकट रहेर काम गरेका खड्का आईएमईसँग मर्ज भएपछि कानुन विभाग प्रमुखका रूपमा थिए। खड्का आईजीआई प्रुडेन्सियलमा २०७९ सालमा प्रवेश गरेका थिए। त्यसअगाडि खड्का प्रुडेन्सियल इन्स्योरेन्सको कम्पनी सचिव थिए।
खड्कासँग व्यावसायिक रूपमा कानुन र अनुपालकको भूमिका निर्वाह गरेको करिब डेढ दशकको अनुभव छ। खड्काले एलएलएम बिजनेस एन्ड इन्टरनेसनल ट्रेड ल तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
स्पष्ट वक्ताका रूपमा चिनिने खड्काले विभिन्न निकायले प्रदान गरेको एएमएल/सीएफटी, बिमामा जोखिम व्यवस्थापन, गोएएमएलजस्ता तालिम लिएका छन्। नेपाल प्रेस इन्स्टिच्युटबाट एक वर्षको पत्रकारिता तालिम हासिल गरेका खड्का कुनै बेला निरन्तर प्रकाशनको सम्पादकको जिम्मेवारीमा थिए।