माओवादीसँग एकता : नेसपासँग टुंगिन लाग्दा विप्लवसँग भने अनिश्चित

किरण पौडेल ४ पुष २०८१ १९:५६
42
SHARES
माओवादीसँग एकता : नेसपासँग टुंगिन लाग्दा विप्लवसँग भने अनिश्चित

काठमाडौँ- गत मंसिर २७ देखि कपिलवस्तुमा चलेको विप्लव नेतृत्वको नेकपाको बैठकमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भनेका थिए- प्रचण्डका कारण माओवादीसँग एकता उदासिन बन्यो।

पुस २ सम्म बसेको बैठकमा विप्लवले प्रचण्डको अलमल, उदासिनता, विकेन्द्रित मानसिकता र अस्पष्टताका कारण पार्टी एकता अन्योलमा परेको बताएका थिए। नेकपाका नेता अनिल सीका अनुसार बैठकले प्रचण्डले पहल नगरेकाले एकता नभएको बैठकको निष्कर्ष थियो।

विप्लवले एक वर्ष अगाडि नै माओवादीसँग एकताको प्रक्रिया चलाएका थिए। माओवादीको तर्फबाट भने ढिलासुस्ती भइरहेको छ। माओवादीसँग एकताकै तयारी भन्दै विप्लव समाजवादी मोर्चामा जोडिएका थिए।

अहिले मोर्चा निष्क्रिय छ। विप्लवका एक नेताका अनुसार माओवादीका नेतासँग पनि पटकपटक एकताका बारेमा बैठक बसेको छ। तर माओवादी पार्टीभित्रै पर्याप्त छलफल नहुँदा एकता प्रक्रिया अघि नबढेको हो।
माओवादीसँगको एकता प्रक्रियाको विषय विप्लवका लागि मात्र नभई महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का हकमा पनि लागू हुन्छ। यादव गत चैतमै माओवादीसँग एकताका लागि भन्दै बाबुराम भट्टराईसँग विभाजित भएका थिए।

यादव गत चैत ३ मै ४ बुँदे सहमति गर्दै माओवादीसँग एकता गर्न तत्पर बनेका थिए। तर यी दुवै पार्टीको एकतामा समस्या एउटै छ, माओवादीको निर्णय। माओवादीले केन्द्रीय समितिबाट एकताको निर्णय गर्ने आश्वासन दुवै पार्टीलाई दिएको छ। तर माओवादीको केन्द्रीय समिति बैठक नबस्दा एकताको कुरा अन्योलमा परेको छ।

यता माओवादीको केन्द्रीय समिति बैठक पनि पटकपटक सरिरहेको छ। पछिल्लो पटक गएको पुस २ बाट सारेर पुस २१ मा पुर्‍याइएको छ। तोकिएको मितिमा पनि बैठक बस्छ–बस्दैन टुंगो छैन। माओवादी बैठक नबस्दा दुई पार्टी बिलखबन्दमा परेका छन्।

जनयुद्ध दिवसमा नेसपासँग एकता घोषणाको तयारी

अहिले नेसपाकै नेताहरू माओवादीसँग एकताको दबाब दिइरहेका छन्। उनीहरू पहिले एकता गर्ने आश्वासन दिएको र अहिले प्रक्रिया अघि नबढेको गुनासो गरिरहेका छन्।

यति मात्र होइन, नेसपा नेताहरू माओवादीसँग एकताकै लागि बाबुराम भट्टराईको साथ छाडेका थिए। पछिल्लो समय भने प्रचण्डले नेसपा नेताहरूलाई जनयुद्ध दिवसमा एकता गर्ने आश्वासन दिएका छन्।

‘अरू पार्टीसँग जस्तो समस्या हामीकहाँ होइन। हाम्रो प्रक्रिया लगभग टुंगिएको छ,’ नेसपा एक नेताले भने, ‘जनयुद्ध दिवस (फागुन १) मा एकता हुने कुरा माओवादी धारबाट आएको छ।’

ती नेताका अनुसार उनीहरू अहिले पनि माओवादीको केन्द्रीय समिति बैठकको निर्णय चाहिरहेका छन्। ‘माओवादीको बैठक सरिरहेको छ। बसेर आधिकारिकता दिने तयारी छ,’ ती नेताले भने।

माओवादी सचिव देवेन्द्र पौडेलले पनि जनयुद्ध दिवसको दिन नेसपासँग एकता हुने पुष्टि गरे। ‘हो सोही दिन एकता हुने कुरा अघि बढेको छ,’ पौडेलले हिमाल प्रेससँग भने, ‘केही पदीय जिम्मेवारीका कुरा मिलाउन बाँकी छ। मिलिहाल्छ।’

पदीय जिम्मेवारीका विषयमा भने अहिले सहमति हुन नसकेको नेसपा स्रोतको दाबी छ। ‘हामी सहमति नजिक नै छौँ। अबको एउटा-दुइटा बैठकबाट निष्कर्ष निस्किन्छ,’ नेसपाका ती नेताले भने। पदीय जिम्मेवारीकै विषय समेत अहिले छलफल चलिरहेको माओवादीका अर्का सचिव गणेश साहको भनाइ छ।

विप्लवलाई रोक्ने चार कारण

अहिले विप्लव पनि एकता प्रक्रियामा सहभागी हुन राजी छन्। विगतमै माओवादीका उम्मेदवारलाई मत दिनेदेखि प्रचण्डको पक्षमा ‘डिफेन्स’ गर्न समेत विप्लवका कार्यकर्ता प्रयोग भइरहेका छन्।

प्रचण्डकै साथ पाएर आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय विप्लवले यसअघि नै गरिरहेका छन्। समाजवादी मोर्चामा सहभागी बनेर विप्लव संयोजक पनि बने। तर माओवादीसँगको एकता प्रक्रिया भने अघि बढेको छैन।

माओवादीका नेताहरू भने पदीय भागबन्डा नमिल्दा विप्लवसँग एकता नभएको बताउँछन्। उनीहरूका अनुसार विप्लवलाई प्रचण्डले पार्टी महासचिवको आश्वासन दिएका थिए। तर माओवादीभित्रबाटै असन्तुष्टि देखिएपछि प्रचण्ड ब्याक भएका थिए।

‘विप्लवजीलाई महासचिव बनाउने आश्वासन दिएको कुरा आएको छ। तर हाम्रै (माओवादी)कै नेता असन्तुष्ट हुँदा प्रचण्ड ब्याक हुनुपरेको हो,’ ती नेताले भने।

माओवादी सचिव गणेश साह पनि विप्लवसँग तत्काल सम्भावना नभएको बताउँछन्। ‘माओवादीभित्र छलफल चलेको छैन। तत्काल एकता हुन्छ जस्तो लाग्दैन,’ साह भन्छन्।

माओवादी उपमहासचिव हरिबोल गजुरेल भने पार्टीको आन्तरिक बैठक, स्थानीय तह उपनिर्वाचनको तयारीका कारण ढिलाइ भएको बताए। यस विषयमा आगामी स्थायी समितिमा थप छलफल हुने र केन्द्रीय समिति बैठकले निर्णय गर्ने गजुरेलको भनाइ छ।

यस्तै माओवादीका नेताहरूले पुस २१ गते बस्ने केन्द्रीय समिति बैठकबाट आवश्यक निर्णय हुने विश्वास व्यक्त गरे। तर माओवादीभित्रै एक समूहले विप्लवहरूलाई पार्टीमा ल्याए आफूहरू पछि पर्न सक्ने भन्दै एकता हुन नदिन भाँजो हालिरहेको समेत कतिपय नेताहरूको बुझाइ छ।

विप्लव माओवादीसँग एकता गर्न तत्पर रहे पनि माओवादीभित्रबाटै सक्रियता देखिएको छैन। यसको पहिलो कारण हो- कृष्णबहादुर महरा।

महरा आफैँ कपिलवस्तु पुगेर विप्लवलाई माओवादीमा आउन अनुरोध गरेका थिए। यसैकारण विप्लव प्रचण्डसँग नजिकिन पुगे। तर विभिन्न प्रकरणमा परेर महरा आफैँ माओवादीमा निष्कृय छन्। त्यसैले पनि विप्लवसँगको एकता प्रक्रियामा पहल नपुगेको देखिन्छ।

दोस्रो कारण हो- विप्लवलाई माओवादीमा ल्याउन नचाहने नेताहरू। माओवादीका एक नेताका अनुुसार विप्लवसँग एकता नगर्न माओवादीका केही नेताहरू चाहँदैनन्। विप्लव माओवादीमा आए आफूहरूको भूमिका कमजोर हुने ती नेताहरूको बुझाइ छ। यसैकारण पनि विप्लवसँगको एकता प्रक्रिया धकेलिएको हो।

तेस्रो कारण, प्रचण्ड आफैँ पनि माओवादीभित्र विवादमा तानिनु हो। सत्ताबाट झरेपछि प्रचण्डमाथि पार्टीभित्रै विभिन्न प्रश्न उठेका छन्। पार्टी संगठनविहीन बनेको, नेतृत्व गतिशील बन्न नसकेको, अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने, विशेष महाधिवेशन गर्नुपर्नेजस्ता विषयहरू पार्टी बैठकहरूमा उठेको थियो। त्यसैले पनि प्रचण्डले पार्टी एकतामा ध्यान नदिएको माओवादीका नेताहरू बताउँछन्।

विप्लवसँग एकता नहुुनुको अर्को कारण भागबन्डा नमिल्नु पनि हो। विप्लवलाई प्रचण्डले जुन आश्वासन दिएका थिए, त्यो पूरा भएन। प्रचण्डले विप्लवलाई महासचिव बनाउने आश्वासन दिएका थिए।

‘माओवादीमा भागबन्डा नै नमिलेर एकता नभएको देखिन्छ,’ राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘सानो पार्टीमा जे भूमिका छ। ठूलोमा त्यही भूमिका नेताहरू खोज्छन् नपाउँदा एकता भाँडिन्छ।’

प्रकाशित: ४ पुष २०८१ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast