विदेश जाने कामदारको स्वास्थ्यमा खेलबाड!

रमेश भारती ४ पुष २०८१ १७:३८
18
SHARES
विदेश जाने कामदारको स्वास्थ्यमा खेलबाड!

काठमाडौँ- वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अधिकांश मेडिकल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ।  वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनले मेडिकल संस्थाले स्वास्थ्य परीक्षण नगरी रिपोर्ट दिने गरेको औँल्याएको हो।

प्रतिवेदनमा स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्थाको गलत अभ्यासले रोजगारदाता देशमा पुगेका कतिपय कामदार स्वास्थ्य समस्यामा पर्ने गरेको उल्लेख छ। कार्यदल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठन गरिएको थियो। प्रतिवेदनमा  परीक्षणबिना स्वास्थ्य रिपोर्ट लिएर वैदेशिक रोजगारीमा गएका कतिपय कामदारले ज्यान गुमाउनुपरेको उल्लेख छ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण गरिँदै आएको छ। सिंहले तोकिएका मेडिकलको स्वास्थ्य परीक्षणमा त्रुटि भेटिएको बताए। ‘विदेशी जाने कामदारको स्वास्थ्य परीक्षणले कार्यस्थलमा जाने कि नजाने निर्धारण गर्छ। कतिपय अस्वस्थ कामदारसमेत स्वस्थ भएको रिपोर्ट लिएर वैदेशिक रोजगारीमा जाँदा स्वास्थ्य समस्या भएर फर्किनुपरेको छ’, सिंहले भने।

गत आर्थिक वर्ष श्रम मन्त्रालयको विशेषज्ञ टोलीले गरेको अनुगमनमा ६० प्रतिशत मेडिकल संस्था मापदण्डबाहिर सञ्चालनमा रहेको पाइएको थियो। अनुगमनकै आधारमा श्रम मन्त्रालयलाई सिफारिस गरिएपछि ६७ संस्थाको कारोबार रोक्का गरिएको थियो। यद्यपि ती संस्थाको करोबार फुकुवा गरिएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यमा खेलबाड गर्ने संस्थामाथि  कारबाही गर्न सकेको छैन। मेडिकल संस्थाका कमजोरीका कारण वैदेशिक रोजगारीबाट फर्किएका कामदारले वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन्। १० हजार रुपैयाँ क्षतिपूर्ति तिराएर त्यस्ता मेडिकल संस्थालाई विभागले उन्मुक्ति दिँदै आएको पीडितहरू बताउँछन्।  मन्त्रालयको कानुन शाखाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने संस्थाको अनुगमन गर्दै आएको छ।

मन्त्रालयले यसरी बर्सेनि गर्ने अनुगमन पारदर्शी नदेखिएको अध्ययन प्रतिवेदनमा उल्लखे छ।  ४० प्रतिशत मेडिकल संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई नक्कली स्वास्थ्य प्रमाणपत्र दिने गरेको पाइए पनि श्रम मन्त्रालयले कारबाही नगरको हो।

श्रम मन्त्रालयका एक कर्मचारीका अनुसार गत आर्थिक वर्षमा मेडिकल संस्थामा अनुगमन गर्दा ६० प्रतिशत सरकारी मापदण्डविपरीत चलेको भेटियो। २ सय १५ संस्थामध्ये ७९ वटा संस्था खारेजीको सिफारिस गरे पनि कार्यान्वयन भएन। राजनीतिक शक्तिका भरमा ७९ वटा मेडिकल संस्था जोगिएको दाबी ती कर्मचारीको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले सरकारले  वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थामा सुधार गरिने बताए। विगतमा सबै कमजोरीमाथि अध्ययन भएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधार कार्यदलको प्रतिवेदनमा पनि सुधार र समस्या दुवै औँल्याएका कारण आगामी दिनमा राम्रोलाई पुरस्कार र नराम्रोलाई कानुनी कारबाही हुने उनले बताए। ‘सबै स्वास्थ्य संस्थालाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार विकास र सबै देशका एकद्वार प्रणाली लागू गरी सञ्चालनमा ल्याउने हो। यसका लागि गृहकार्य भइरहेको छ’, भण्डारीले हिमालप्रेससँग भने।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सुनिश्चित गर्नका लागि श्रम मन्त्रालयमा दुई सय १५ स्वास्थ्य संस्था सूचीकृत गरेको छ। तीमध्ये मलेसिया आफैँले ३६, साउदी अरब, कुवेत, बहराइन र ओमान (गाम्का) ले १९, कोरियाले ४ संस्थामार्फत स्वास्थ्य परीक्षण गर्दै आएका छन्। अमेरिका र क्यानडाले आईओएममार्फत स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।

कतार जाने श्रमिकको परीक्षण भने कतार भिसा सेन्टरबाट भइरहेको छ। यो पनि सरकारी मापदण्डविपरीत सञ्चालन भइरहेको दाबी श्रम मन्त्रालयका अधिकारीहरूको छ। १ सय ५७ स्वास्थ्य संस्थाले करिब सयभन्दा बढी देश जाने श्रमिकको परीक्षण गर्दै आएको श्रम मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने कामदारले दुई सय १५ वटा मेडिकल संस्थामा स्वास्थ्य परीक्षण गर्दै आएको श्रम मन्त्रालयले जनाएको छ। स्वास्थ्य परीक्षण शुल्कबापत श्रम मन्त्रालयले कोरिया, इजरायल, जापान र युरोपका देश जाने कामदारका हकमा १२ हजार र खाडी एवम् मलेसिया जाने कामदारका हकमा ६ हजार ५ सय शुल्क तोकेको छ।

प्रकाशित: ४ पुष २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast