जिम्मेवार हुनु आफैँमा चुनौतीपूर्ण छ। अरूलाई जिम्मेवार हुनुपर्छ भनेर सिकाए पनि हामी आफैँ बेलाबेलामा आफ्नो जिम्मेवारीबाट पन्छिन्छौँ। जिम्मेवारी लिन बाल्यकालदेखि नै सिकाइनु अत्यावश्यक छ। जब बच्चा स्कुल जाने उमेरका हुन्छन्, उनीहरू शारीरिक र मानसिक दुवै रूपले केही मात्रामा जिम्मेवारी लिन सक्षम हुन्छन्।
जिम्मेवार बनाउने भन्दैमा बच्चालाई उसको परिपक्कताले नभ्याउने खालको जिम्मेवारी दिनु हुँदैन। बच्चालाई थप जिम्मेवार बनाउन उसले गरेको सानो प्रयासको प्रशंसा गरिनुपर्छ। अभिभावकको प्रयास बच्चालाई जहिलै सकारात्मक व्यवहार प्रोत्साहन गर्नमा केन्द्रित हुनुपर्छ। जिम्मेवारी दिँँदै जाँदा बच्चाको उमेर अनि क्षमताको ख्याल गर्न पनि उत्तिकै जरुरी छ। बच्चाले जिम्मेवारी पहिले आफ्नो घरबाट सिक्ने गर्छन्। स्कुलबाट पनि धैर्य र अनुशासनमा बस्न सिक्छन्।
यसका लागि बेलाबेलामा विद्यालय गएर आफ्नो बच्चाको प्रगतिबारे बुझ्न पनि आवश्यक छ। बच्चालाई स्वतन्त्र रूपले अगाडि बढ्न दिनुपर्छ। आफ्नो विचार उनीहरूमा लागू गराउने, चियो गर्ने, जतिखेर पनि उनीहरूको पछाडि दौडिनाले उनीहरूमा दिक्क, जिद्दीपन र अभिभावकको अगाडि मात्र राम्रो व्यवहार देखाउने गर्छन्।
सबै आमाबाबु आफ्ना छोराछोरी जिम्मेवार भएको देख्न चाहन्छन्। बच्चाहरूले बाबुआमाले भनेको भन्दा जे गरे त्यही सिक्ने हुनाले अभिभावक आफैँ जिम्मेवार हुन जरुरी छ। त्यसैले बच्चलाई झगडा, डर, धूम्रपान र आफ्नो निजी समस्याबाट टाढा राख्नुपर्छ।
अभिभावकको व्यवहारले बच्चाको विकासमा धेरै असर पर्ने गर्छ। अहिलेका धेरैजसो अभिभावक आफ्नो निजी जीवनमा निकै व्यस्त हुन्छन् जसले गर्दा बालबालिका भवानात्मक रूपमा टाढिन्छन् र अभिभावकलाई पनि आफ्नो छोराछोरी कुन समस्यामा छन् भन्ने थाहा पाउन पनि गाह्रो हुन्छ।
अभिभावकले बच्चालाई बढ्दो उमेरसँगै आउने परिवर्तन बुझाउन छुटाउनु हुँदैन। बढ्दो उमेरसँगै सुरक्षित र असुरक्षित छुवाई बुझाउनु बुद्धिमानी हुन्छ। हामीलाई हाम्रा अभिभावकले जसरी हुर्काए हामी आफ्नो छोराछोरीलाई त्यही तरिकाले हुर्काउन खोज्छौँ जुन बदलिँदो समयसँग बदल्न जरुरी छ।
छोराछोरीले सोधेका प्रत्येक जिज्ञासामा हो र होइन मात्र नभएर स्पष्ट तरिकाले सहभागिता जनाउनुपर्छ। केटाकेटीलाई जे कुरामा पनि हुँदैन भनेर आफूप्रति नकारात्मक बनाउनुभन्दा के गर्दा हुँदैन र के गर्दा हुन्छ भनेर स्पष्ट तरिकाले भन्नुपर्छ।
छोराछोरीलाई कुन कुरालाई लिएर कस्तो महसुस हुन्छ निर्धक्क भएर भन्न दिनुपर्छ। उनीहरुको तर्क सुनिदिने, महत्त्व राखिदिने, उमेरअनुसारको जिम्मेवारी दिँदै जानुपर्छ। धरैजस्तो अभिभावकहरू आफ्नो छोराछोरीहरुको सानो सानो कुरामा पनि निर्णय लिदिने, अरु बच्चाहरुसँग दाँज्ने गर्छन् जुन एकदम गलत हो। यसको नकारात्मक असर छोराछोरीको मस्तिष्क विकासमा पर्न जान्छ।
त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई प्रशंसा धेरै र आलोचना कम गर्दै लैजानुपर्छ। बालबालिकालाई कस्तो संस्कारमा हुर्काउने भन्ने सबैभन्दा ठूलो हात अभिभावककै हुन्छ।
बच्चालाई थप जिम्मेवार बनाउने केही उपाय
१. बच्चाको उमेर र क्षमताअनुसारको जिम्मेवारी दिँदै जानुपर्छ। जस्तै- आफ्नो बोतलको पानी आफैँ भर्न लगाउने, ड्रेस आफैँ लगाउन दिने, बच्चालाई आफ्नो खाना आफैँ खान सिकाउने इत्यादि।
२.बच्चालाई थप जिम्मेवार बनाउन उसले गरेको सानो प्रयासको प्रशंसा गरिनुपर्छ।
३. बच्चालाई आफ्नो सरसामानको सुरक्षा आफैँ गर्न लगाउने।
४. बच्चा कहिलेकाहीँ भान्सामा जाँदा उसलाई उसले गर्न सक्ने काम दिने जस्तै मटरकोसा छोडाउन, बढार्न इत्यादि।
५. जिम्मेवारी दिँँदै जाँदा बच्चाको उमेर अनि क्षमताको ख्याल गर्न पनि उत्तिकै जरुरी छ।
६. बच्चाको अगाडि कसैको पनि गलत टिप्पणी नगर्ने।
९. बच्चाको गल्तीलाई गल्ती भन्दा पनि प्रयासको नजरले हेरिनुपर्छ।
९. जिम्मेवार हुनका लागि बच्चालाई कुनै पनि सामान किन्निदिन्छु भनेर प्रलोभन देखाउनाले उनीहरुमा नकरात्मक विचारले ठाउँ लिने गर्छ।
१०. आफूले खेलेको सामान खेलिसकेपछि आफैँ व्यवस्थापन गर्न सिकाउने।
११. स्कुल जाने बच्चालाई आफ्नो झोला आफैँ बोक्न दिने, आफ्नो गृहकार्य आफैँ गर्न प्रेरित गर्नुपर्छ।
१२. बच्चाहरूले बाबुआमाले भनेको भन्दा जे गरे त्यही सिक्ने हुनाले बच्चालाई झगडा, धूमपान र निजी समस्याबाट टाढा राख्न जरुरी छ।
१३. सकारात्मक शब्द प्रयोग गर्ने गरौँ। जस्तै- तिमी राम्रो काम गरिरहेका छौ। स्याबास! म तिमिलाई के सहयोग गर्न सक्छु? मलाई तिमीप्रति गर्व छ जस्ता सकारात्मक व्यवहार र शब्दले बालबालिकाको मस्तिष्क र अन्य सकारात्मक विकासमा राम्रो प्रभाव परोस्।
अर्याल बालविकास प्रवर्द्धक हुन्।