तालिबान शासन रहेको अफगानिस्तानमा अमेरिकादेखि भारतसम्म इस्लामी तानाशाही र आतंकवादविरोधी सहायता बढाउन सक्रिय छन्। यद्यपि यस्तो सहयोगलाई तालिबानले व्यापक रूपमा दुरुपयोग गरिरहेको पाइएको छ। इस्लामी शासकहरूले फेरि महिलाविरुद्ध युद्ध सुरु गरेका छन्। अफगानिस्तानमा यसै साता इस्लामी महिलाहरूलाई चिकित्सा शिक्षामा प्रतिबन्ध लगाएको छ, जुन प्राथमिक र माध्यमिक शिक्षामा रोक लगाउने कानुनको पछाडि आएको छ।
तालिबान नेता हिबतुल्लाह अखुन्दजादाले महिलालाई काम गर्न, व्यापार गर्न, क्याफेमा बस्न, ट्याक्सी चढ्न, पुरुषतर्फ हेर्न र आफ्नो आवाज उठाउन निषेध गरेका छन्। महिलालाई इच्छाविपरीतका विवाहबाट जोगिन खोज्दा सार्वजनिक रूपमा कोर्रा हानिन्छ। महिलाले नैतिक भ्रष्टाचार, व्यभिचार र समलैंगिकताजस्ता आरोप सहनुपरेको छ।
महिलालाई यसरी नियन्त्रण गर्न खोज्न यस्तो कानुन संसारका अन्य कुनै पनि देशमा लागू भएका छैनन्। अफगानिस्तानमा भइरहेका गतिविधिले संसारलाई यस विषयमा कुनै चासो नरहेको स्पष्ट भएको छ।
सेप्टेम्बर २०२१ मा तालिबानले सत्ता पुनः प्राप्त गरेको एक महिनापछि ६ कक्षादेखि माथिका किशोरीहरूलाई पढ्न जान प्रतिबन्ध लगाइएको थियो। २०२२ डिसेम्बरमा उनीहरूले विश्वविद्यालयमा महिलाहरूको भर्ना पनि बन्द गरिदिएका थिए।
विगतका अँध्यारा पक्ष
उनी डा. बलोच भनेर चिनिन्थे। जसले सेतो कोट लगाएर मस्जिदको मिनारमा आफ्ना बिरामीको प्रतीक्षा गर्थे। त्यत्तिकैमा १४ वर्षीय मुहम्मद दाउदलाई एक पसलमा सामान चोरी गरेको आरोप लागेको थियो। उनलाई जबर्जस्ती अगाडि ल्याइयो। त्यसपछि उनको दुवै हात काटियो। डा. बलोचलाई मासु र हड्डी छिनाल्न सजिलो होस् भनेर त्यस्तो गरिएको थियो।
डाक्टरले दाउदको काटिएको हात माथि उठाएर भीडलाई देखाए। उनीहरूले न्याय सम्पन्न भएको छ देखून् भनेर त्यसरी देखाइएको थियो। त्यसपछि बलोच बजारस्थित आफ्नो क्लिनिक फर्किए। अर्को घटना सन् १९५९ को हो। फुटबल रंगशालामा महिलाहरू पहिलो पटक पश्चिमी शैलीका लुगा लगाएर देखिएका थिए। यसबारे पत्रकार टिम बोन्हायडी सम्झिन्छन्, ‘सजाय खेलको आधा समयमा दिइन्थ्यो, जब व्यापारीहरूले चिया र पिस्ता बेच्थे। पहिलो पटक गोली हानिएर मारिने महिला जरमिना थिइन्। सात सन्तानकी आमा उनी परवानका गुलाम हजनातकी छोरी थिइन्।
राम्रा प्रयास
‘सेराई-ए-गुलिस्तान्’ नामक भव्य महलमा बस्ने महारानी हलिमा कहिलेकाहीँ पश्चिमी शैलीको घोडचढीको पोसाक लगाएर घोडामा बाहिर निस्कन्थिन्। ‘उनी घोडा चढ्थिन् र आफ्ना नोकर्नीहरूलाई सैनिक अभ्यास सिकाउँथिन्’, १९८६ मा प्रकाशित पुस्तकमा प्रसिद्ध अफगान अध्ययनकर्ता नैन्सी ह्याच डुप्रीले लेखेकी छिन्, ‘उनी राजनीतिमा गहिरो रुचि राख्थिन् र विभिन्न पक्षहरूसँग छलफल गर्न मिसनहरूमा जान्थिन्।’
अमिर अब्दुल रहमान खान, जसलाई ‘प्रतापी राजा’ भनिन्थ्यो। उनले सन् १८८० देखि १९०१ सम्म आफ्नो शासनकालमा लैंगिक समानता कायम गर्ने दिशामा पहल गरेका थिए। विधवाहरूले जेठाजुसँग विवाह गर्नुपर्ने प्रथा उनको पहलमा अन्त्य भएको थियो। उनले महिलालाई सम्पत्ति प्राप्त गर्न र सम्बन्धविच्छेदको अधिकार दिए। यी सुधारहरू उनले राष्ट्रिय संस्कृति निर्माणको अनिवार्य उपकरणका रूपमा लागू गरेका थिए, जुन आदिवासी मान्यताभन्दा भिन्न थियो।
अब्दुल रहमानपछि अमिर हबिबुल्लाह खानले सुधारका यस्ता प्रयास जारी राखे। सिरियाबाट फर्किएका महमुद बेग तरजीले अमिरलाई अफगानिस्तानमा पहिलो कलेज र अंग्रेजी माध्यमको विद्यालय खोल्न सहमत गराए। तर अफगानिस्तान उदार लोकतन्त्र बन्ने क्रममा थिएन। धर्मत्यागको आरोपमा शाही सल्लाहकार साहिबजादा अब्दुल लतीफलाई कडा सजाय दिइएको थियो। सुधारचाहिँ भइरहेका थिए।
१९१९ मा हबिबुल्लाहको हत्या भएपछि अमिर अमानुल्लाहले आफ्नो प्रगतिशील दृष्टिकोण अघि बढाए। उनले रानी सोरया तरजी र दरबारका अन्य महिलाहरूले घुम्टो खोल्ने निर्णय गरे। महिलाका लागि शिक्षा, स्वास्थ्य सेवा र विवाहमा सुधारको पहल गरियो। १९२० को दशकको अन्त्यतिर जनजातीय आक्रोशका कारण उनी निर्वासनमा जान बाध्य भए।
अमिर अमानुल्लाहले परिवर्तनको गति बढाउन खोजे। इतिहासकार हुमा अहमद-घोसका अनुसार रानी सोरया तरजीले घुम्टो हटाइन्। यसमा दरबारका अन्य महिलाले पनि साथ दिए। अमानुल्लाहकी बहिनीले देशमै पहिलो महिला अस्पताल स्थापना गरिन्। १५ जना युवतीलाई अध्ययन गर्न टर्की पठाइयो। विवाहको उमेर १८ वर्षबाट २१ वर्षमा वृद्धि गरियो र बहुपत्नीत्वलाई निषेध गरियो।
सैनिक भर्ती, कर र आर्थिक संकटका कारण जनजातीय क्रोध बढ्दै गएपछि अमानुल्लाहमाथि दबाब बढ्न थाल्यो। उनले १९२५ मा खोस्टमा भएको विद्रोहलाई दमन पनि गरे। महिला सुधारलाई बहाना बनाएर उनलाई निर्वासनमा जान बाध्य पारियो।
१९३३ देखि १९७३ सम्मका राजा जाहिर शाहले महिला शिक्षा र स्वास्थ्य सेवामा विस्तार गरे। १९५९ मा स्वतन्त्रता दिवसको समारोहमा सरकारी अधिकारीका पत्नीहरूले घुम्टो फुकालेर प्रतिबद्धता जनाए। तर पाकिस्तान समर्थित जिहादी नेताहरूले यस्ता सामाजिक परिवर्तनलाई विकृति मान्दै विरोध गरे। यस क्रममा अफगान शैक्षिक संस्थाबाट महिला शिक्षक, नर्स र डाक्टर बाहिर आउन थाले। काबुल विश्वविद्यालयले महिलाका लागि चिकित्सा, विज्ञान र मानविकीका संकाय खोलेको थियो।
फेरि धोका
अफगानिस्तानका नेताहरूले परम्परागत र आधुनिकताबीच सन्तुलन कायम गर्न प्रयास नगरेका होइनन्। तर बाह्य हस्तक्षेपले यो सन्तुलन बिगारिदियो। अहिले दुई दशक लामो युद्धपछि महिलाहरूले फेरि धोका पाइरहेका छन्। उनीहरूको आधारभूत अधिकारहरूको ह्रास हाम्रो समयको सबैभन्दा ठूलो अपराधमध्ये एक मानिनेछ।
सबैभन्दा खराब प्रकारका इस्लामवादी प्रतिक्रियावादीहरूले अमेरिकालगायतका आधा दर्जन राष्ट्रहरूको गुप्तचर सेवाबाट शक्ति प्राप्त गरे, जसले एक शताब्दीका नाजुक सामाजिक उपलब्धिलाई तहसनहस पार्यो।
२००१ सेप्टेम्बर ११ पछि संयुक्त राज्य अमेरिकाकी पूर्व प्रथम महिला लाउरा बुसले आतंकवादविरुद्धको युद्धले महिलामाथिको संगठित हिंसालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘आतंकवादविरुद्धको लडाइँ महिलाका अधिकार र सम्मानका लागि पनि लडाइँ हो।’ तर यो कुरा अफगान महिलाका लागि सत्य साबित हुन सकेको छैन।
द प्रिन्टमा प्रकाशित यो सामग्री भावानुवाद गरिएको हो।