सुर्खेत- वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सुर्खेतका दृष्टिविहीन मायाप्रसाद जैसी र रेणुका कोइरालाले सहयोगीको भरमा मताधिकार प्रयोग गरे। दुवै जनाले इच्छाएको चिह्नमा भोट हाल्न भने पनि सहयोगीले के गरे भन्ने शंका उनीहरूको मनमा अझै छ। ‘पूर्ण रूपमा दृष्टिविहीन हामीजस्ता मतदातालाई आफूले कसलाई भोट हालेको छु भन्ने पनि थाहा पाएका छैनौँ,’ जैसीले भने, ‘आफ्नो मताधिकार आफैँले प्रयोग गर्न नपाउँदा दुःख लाग्दो रहेछ।’
निर्वाचनमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु हरेक मतदाताको नैसर्गिक अधिकार हो। तर पूर्ण रुपमा दृष्टि गुमाएका, न्यून दृष्टि भएका, सांकेतिक भाषाको प्रयोग गर्ने लगायतका अपांगता भएका मतदाता यस्तो अधिकारबाट वञ्चित छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका-२०७९ अनुसार दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताले सहयोगका लागि एकाघरका परिवारको सदस्यको मद्दत लिन सक्छन्।
यस्तै मतदाता दृष्टिविहीन वा शारीरिक अशक्तता भएको तथा कुनै कारणबस आफैँले नसक्ने भएमा मत संकेत गर्ने काममा मतदान अधिकृतले सुविधा उपलब्ध गराउने व्यवस्था छ। मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने हुन्छ।
हरेकपटकको निर्वाचनमा सबै खालका अपांगता भएका मतदाताले मतदान त गर्छन्। तर मायाप्रसाद र रेणुकाजस्तै आफूले भनेकै उम्मेदवारलाई मतदान गरिदिए होलान् भन्नेमा ढुक्क हुन सक्दैनन्।
अरुको भरमा आफूले मतदान गर्दा मतदान केन्द्रमा रहेका राजनीतिक दल र निर्वाचन अधिकारीहरूले पनि आफूप्रति चासो देखाउने गरेको उनीहरू बताउँछन्। ‘हाम्रै छोराछोरीलाई मत हाल्ने व्यवस्था मिलाइदिएको भए हुन्थ्यो। विद्युतीय माध्यमबाट मतदान गर्न पाएको भए झन् सजिलो हुन्थ्यो,’ रेणुकाले भनिन् ।
वीरेन्द्रनगर-८ की मेनका आचार्य पनि निर्वाचनमा सधैँ सहयोगीकै भरमा भोट हाल्नुपरेको गुनासो गर्छिन्। उनलाई पनि आफूले भनेको उम्मेदवारलाई भोट गयो कि गएन भन्ने चिन्ता भइरहन्छ। ‘विश्वास गरेर मतदान गर्ने हो, हाल्नेले बदमासी गरिदिए भने त मन परेका उम्मेदवारलाई नजान पनि सक्छ’, उनले भनिन्, ‘दृष्टिविहीनका लागि अहिलेको निर्वाचन व्यवस्थापनले मतदान गर्नै समस्या छ।’
एकातिर गोपनीयता भंग हुने र अर्कोतिर मतको दुरुपयोग हुने जोखिम रहेको उनले बताइन्। आवाज सुन्ने विद्युतीय मतदानको प्रयोग भए आफूहरूलाई सहज हुने आचार्यको भनाइ छ।
वीरेन्द्रनगर-८ की सोमना खड्का भने परिवारकै सदस्यबाट भोट हाल्ने व्यवस्था हुँदा पनि मताधिकार स्थापित नहुने बताउँछिन्। अरूले भोट हालिदिने भएकाले गोपनीयताको समेत भंग हुने उनको भनाइ छ।
‘गोप्य मतदान भनिन्छ, तर हामीले अरुको सहयोगमा भोट हाल्दा कसरी गोप्य भयो?’ उनले भनिन्, ‘सरकार यसतर्फ गम्भीर बन्नुपर्छ।’
सुर्खेत आँखा अस्पतालले गरेको आँखा स्वास्थ्य सर्भेक्षण २०१९ को तथ्यांकअनुसार कर्णाली प्रदेशमा १६ हजार ९४८ जना दृष्टिविहीन छन्। निर्वाचनका बेला उनीहरू सधैँ सहयोगीको भर पर्दै आएका छन्। त्यसैले उनीहरूले सहयोगीलाई मताधिकार सुम्पिनुपर्ने अवस्था छ।
राष्ट्रिय अपांगता महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले कागजमा भोट हाल्ने व्यवस्था सबैखाले अपांगता भएका नागरिकका लागि सहज नहुने बताए। उनले दृष्टिविहीन नागरिकले विद्युतीय मेसिनबाट आफ्नो भोट आफैँ खसाल्न पाउने व्यवस्था हुनुपर्ने बताए। भोटिङ पद्धति परम्परावादी भएको र भएका मतदानस्थल पनि अपांगमैत्री नभएकाले समस्या पारेको उनको भनाइ छ।
निर्वाचनमा खटिने कर्मचारीले पनि अपांगता भएका नागरिकको समस्या नबुझ्ने गरेको उनले गुनासो गरे। ‘अपांगता भएका नागरिकको मतदानको गोपनीयता र चाहेको ठाउँमा भोट गयो गएन भन्ने कुराको सुनिश्चित गर्ने कुराको ग्यारेन्टी छैन’, उनले भने, ‘यस्ता कारणले गोप्य मतदानको अधिकारबाट अपांगता भएका नागरिक वञ्चित हुनुपरेको छ।’
राष्ट्रिय अपांगता महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेश खड्काले मतदानस्थलका पर्खाल, अन्य संरचना र बाँधेको डोरीका कारण अपांगता भएका नागरिक, जेष्ठ नागरिक र गर्भवती महिलाका लागि समस्या हुने गरेको बताए।
‘निर्वाचन कार्यालयले कर्मचारी खटाएको छ, बजेट खर्च गरिरहेको छ’, उनले भने, ‘तर अपांगता भएका साथीहरूले न राम्रोसँग मतदाता शिक्षा पाएका छन्, न सजिलै मतदान गर्न।’
सुन्ने क्षमता कमजोर भएका नागरिकका लागि सांकेतिक भाषाको आवश्यकता भएकाले सरकारले यस विषयमा पनि ध्यान दिन आवश्यक रहेको उनले बताए। दृष्टिविहीन मात्र होइनन्, समलिंगी तथा तेस्रो लिंगी नागरिकका लागि पनि सहज रूपमा मतदान गर्ने व्यवस्था छैन। जेष्ठ नागरिकले पनि त्यस्तै समस्या भोग्दै आएका छन्।
नीलहीरा समाज सुर्खेतकी कार्यक्रम संयोजक अञ्जली बीसीले आफूहरूलाई महिला र पुरुषजस्तै सहज रूपमा लाइनमा बसेर मतदान गर्न समस्या हुने बताइन्। ‘लामो समय लाइनमै बस्दा अरुले हेपाइको तरिकाले हेरेको जस्तो भएर नरमाइलो लाग्छ’, उनले भनिन्, ‘हेरेर हाँस्ने, अरुलाई पनि हेर्न लगाउने जस्ता कृयाकलापले झन् तनाव दिन्छ।’ हरेक किसिमका नागरिकका लागि मैत्रीपूर्ण मतदानस्थल आवश्यक पर्ने उनको भनाइ छ।
वीरेन्द्रनगर-१ की जेनिसा नेपालीले पनि मतदान केन्द्रमा आफूहरू लज्जित भएर मतदान गर्नुपर्ने, सबैको नजर आफूसँग हुँदा मतदान गर्नै समस्या हुने बताउँछिन्। ‘हामी समलिंगीका लागि पनि छुट्टै लाइन भएको भए मतदान गर्न सजिलो हुने थियो,’ उनले भनिन्, ‘सहजै गर्न सकिने काम पनि नगरिदिँदा मताधिकारमै बाधा पुग्ने गरेको छ।’
प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले वीरेद्रनगरका १० वटा मतदानस्थललाई अपांगमैत्री बनाउने विषयमा राष्ट्रिय अपांगता महासंघ कर्णाली प्रदेशसँग छलफल भएको बताए। अपांगता भएका नागरिकले मतदान गर्दा आफू, परिवारका एक सदस्य वा मतदान अधिकृतमध्ये एकबाट मतदान गर्न सक्ने कानुनी व्यवस्था भएको उनले जानकारी दिए। ‘अपांगता भएका नागरिक, जेष्ठ नागरिक, गर्भवती महिला र लैंगिक तथा अल्पसंख्यक नागरिकलाई भने लाइनमा बस्न पर्ने व्यवस्था छैन’, उनले भने, ‘उहाँहरूलाई होल्डिङमा राखेर सीधै मतदान स्थलमा लग्ने व्यवस्था छ।’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपांगतामैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन निर्देशन दिइएको जानकारी दिए। उनले भने, ‘मतदाताको सार्वभौम मतको उपयोगलाई सहज रूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन निर्देशन दिइसकेको छ।’