एम्बाप्पेले गरे पीएसजीको उद्धार, मोनाकोको जितमा ‘नयाँ थिएरी अन्‍री’ बने नायक

हिमाल प्रेस १४ पुष २०७९ १०:०८ | Thursday, December 29, 2022
एम्बाप्पेले गरे पीएसजीको उद्धार, मोनाकोको जितमा ‘नयाँ थिएरी अन्‍री’ बने नायक

काठमाडौँ- बराबरीतर्फ उन्मुख खेलमा किलियान एम्बाप्पेले पेनाल्टी गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बुधबार राति स्टार्सब्रोलाई २–१ ले पराजित गर्यो। एम्बाप्पेले आतिरिक्त समयमा गोल गरेका थिए।

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीलाई मार्किन्योसले १४ औँ मिनेटमा अघि बढाएका थिए। नेयमारको असिस्टमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका कप्तान मार्किन्योसले दोस्रो हाफमा आत्मघाती गोल गरे। जसले गर्दा खेल बराबरीमा पुग्यो।

रेलिगेसन क्षेत्रमा रहेको स्टार्सब्रोसँग रोकिन लागेको पीएसजीलाई अन्तिम क्षणमा एम्बाप्पेले जिताएपछि पार्क डेस प्रेन्स खुसीमा झुम्यो। लिग उपाधि रक्षा गर्ने अभियानमा रहेकोे पीएसजीका लागि यो खेल नाटकीय रह्यो।

किनभने नेयमारले ६२ औँ मिनेटमा दोहोरो पहेलो कार्ड पाएका थिए। त्यो पनि विपक्षीको पेनाल्टी क्षेत्रमा डाइभ गरेको आरोपमा। जसकारण पीएसजीले आधा घण्टाभन्दा बढी समय १० जनामा सीमित भएर खेल्नु पर्‍यो।

यो जितपछि पीएसजीले शीर्षस्थानमाथिको पकड बलियो बनाएको छ। पीएसजीले १६ खेलबाट ४४ अंक बटुलेको छ भने दोस्रो स्थानको लेन्सको खातामा ३६ अंक छ। यही लेन्सको सामना पीएसजीले आगामी बिहीबार गर्दैछ।

स्टार्सब्रोविरुद्ध गोल गरेका एम्बाप्पेको लिगमा गोल संख्या अब १२ पुगेको छ। विश्वकप फाइनल खेलेको १० दिनपछि क्लबका लागि मैदान उत्रिएका एम्बाप्पे लिगका उच्च गोलकर्ता हुन्। लेन्सविरुद्धको खेलमा पीएसजीको अग्रपंक्ति एम्बाप्पेले सम्हाल्नु पर्नेछ। किनभने त्यो खेल नेयमारले स्वतः गुमाउनेछन् भने लियोनल मेस्सी बिदाबाट फर्किएका छैनन्।

बुधबार राति नै भएको अर्को खेलमा मोनाकोले ओजेयरमाथि ३–२ को संघर्षपूर्ण जित हात पार्‍यो। मोनाकोलाई जिताउन १७ वर्षीय एलिस बेन सेघिरले दुई गोल गरे। दोस्रो हाफको सुरुवातमा मैदान छिरेका सेघिरले ५८ र ८५ औँ मिनेटमा गोल गरेका थिए।

पहिलो हाफको ३० औँ मिनेटमा एम बाये नियाङले गोल गरेपछि ओजेरले अग्रता लिएको थियो। तर पहिलो हाफ सकिने बेला विसाम बेन येडरले पेनाल्टी गोल गरेर खेल बराबरीमा पुर्‍याए। त्यसपछि सेघिरको पहिलो गोलले मोनाका २–१ को स्थितिमा पुग्यो। ६८ औँ मिनेटमा युसुफ फोफानाले आत्मघाती गोल गरेपछि ओजेर बराबरीमा फर्किएको थियो। सेघिरले दोस्रो गोल गरे र मोनाकोलाई तीन अंक दिलाए।

१५ वर्षको उमेरमा मोनाको पुगेका सेघिर किलियान एम्बाप्पे जस्तै लेफ्ट विंगमा खेल्छन्। १६ वर्षको हुँदा सन् २०१५ मा डेब्यु गरेका एम्बाप्पेले मोनाकोलाई दुई वर्षपछि लिग च्याम्पियन बनाएका थिए। त्यसपछि पीएसजीतिर हानिएका एमबाप्पे क्लबमा मात्र होइन राष्ट्रिय टिमका पनि स्टार हुन्।

एम्बाप्पेअघि मोनाकोले फ्रेन्च फुटबललाई थिएरी अन्‍री दिएको थियो। आर्सनल र बार्सिलोनाबाट युरोपियन फुटबलमा सनसनी मच्चाएका अन्‍रीले मोनाकोका लागि १७ वर्ष ८ महिनाको हुँदा पहिलो पटक दुई गोल गरेका थिए। सन् १९९५ का ती अन्‍रीसँग अहिलेका सेघिरको तुलना भइरहेको छ।

लिगका अन्य खेलमा लियोनले ब्रेस्टलाई ४–२, लिलले क्लेरमन्ट फुटलाई २–० र अजासियोले एन्गर्सलाई १–० ले पराजित गरे। जितपछि लियोन आठौँ स्थानमा यथावत छ। त्यसैगरी लिल छैटौँ र अजासियो १४ औँ स्थानमा छन्।

प्रकाशित: १४ पुष २०७९ १०:०८ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast