
जन्मेपछि एक दिन अवश्य मर्नुपर्छ। यो शाश्वत सत्य हो। यद्यपि मानिस जतिसुकै संघर्ष गरेर पनि बाँच्न चाहन्छ। पछिल्ला केही दशकदेखि भने संसारमा इच्छामृत्युको बहस भइरहेको छ। दीर्घरोगले पीडित भएर बाँच्नुपर्ने र महँगा औषधि सेवन गर्नुपर्ने जस्ता कारणले मानिसले मृत्यु रोज्न थालेको विभिन्न देशमा लागू गरिएका कानुनले स्पष्ट पार्दछन्। हेरौँ, कुनकुन देशका नागरिकले इच्छामृत्युको अधिकार पाउन थालेका छन्?
बेलायत
इंग्ल्यान्ड र वेल्सका घातक रोगबाट पीडित वयस्कका लागि अब आफ्नै इच्छाले जीवन समाप्त गर्ने बाटो खुल्ने भएको छ। ती व्यक्ति जसको बाँकी जीवनकाल ६ महिनाभन्दा कम रहेको छ, उनीहरूले यो अधिकार प्राप्त गर्न सक्छन्। २०२४ नोभेम्बर २९ मा करिब पाँच घण्टासम्म चलेको लामो छलफलपछि ब्रिटिस संसद्को हाउस अफ कमन्सले इच्छामृत्युलाई मान्यता दियो। विधेयक संसद्को माथिल्लो सदन हाउस अफ लर्ड्समा पारित भएपछि अघि बढ्नेछ।
स्विट्जरल्यान्ड
स्विट्जरल्यान्डले सन् १९४२ मा ‘असिस्टेड डाइङ’ लाई कानुनी रूप दिन सुरु गरेको थियो। यो विश्वको पहिलो देश हो जहाँ चिकित्सकले बिरामीलाई जीवन समाप्त गर्ने औषधि लेख्न वा आफैँले दिन सक्छन्। डिग्निटासजस्ता केही स्विस संस्थाहरूले विदेशी नागरिकलाई पनि यो सुविधा उपलब्ध गराउँछन्।
इक्वाडोर
२०२४ मा इक्वाडोर मरणासन्न बिरामीलाई इच्छामृत्युसम्म पुग्ने अधिकार दिने दोस्रो दक्षिण अमेरिकी देश बनेको छ। कोलम्बियामा सन् १९९७ मा इच्छामृत्युलाई कानुनी अनुमति प्राप्त भइसकेको थियो। उरुग्वे र चिलीमा अहिले पनि नीति-निर्माताहरू यसबारेमा बहसमा छन्। मेक्सिकोको कानुनलाई ‘राम्रो मृत्यु’ कानुन भनिन्छ। त्यहाँ बिरामी वा उनका परिवारजनलाई ‘लाइफ सपोर्ट सिस्टम’ बाट बिरामी हटाउने अधिकार छ।
अमेरिका
अमेरिकाका केही राज्यमा चिकित्सकीय सहायता प्राप्त गरेर मर्ने सुविधा उपलब्ध छ। यी राज्यहरू हुन् – क्यालिफोर्निया, कोलोराडो, हवाई, मन्टाना, मेन, न्युजर्सी, न्युमेक्सिको, ओरेगन, भर्मन्ट र वासिङ्टन डीसी। ओरेगन पहिलो राज्य हो जहाँ सन् १९९७ मा इच्छामृत्युलाई अनुमति दिइएको थियो। ती राज्यमा गम्भीर रोगले पीडित व्यक्ति जसको बाँकी जीवन ६ महिनाभन्दा कम रहने सम्भावना छ उनीहरूले इच्छामरणका लागि आवेदन दिन सक्छन्।
द नेदरल्यान्डस्
द नेदरल्यान्डस्मा सन् २००२ मा ‘टर्मिनेसन अफ लाइफ अन रिक्वेस्ट एन्ड असिस्टेड सुसाइड एक्ट’ लागू गरिएको हो। स्वास्थ्य अवस्था सुधारको कुनै सम्भावना नभएका, अत्यधिक पीडामा रहेका बिरामीहरूलाई चिकित्सकीय सहायतामा मर्न दिने अनुमति डाक्टरहरूलाई छ। १२ वर्ष वा त्यसभन्दा माथिका बच्चाहरूले पनि यो निर्णय आफैँ गर्न सक्दछन्। ६ वर्षभन्दा कम उमेरका बच्चाका लागि आमाबाबुको सहमति आवश्यक हुन्छ।
बेल्जियम
बेल्जियममा २००२ मा अत्यधिक कष्ट भोगिरहेका मरणासन्न व्यक्तिलाई इच्छामृत्युको अनुमति दिइएको थियो। बेल्जियममा मानसिक रोगबाट पीडित व्यक्तिहरू इच्छामरणबारे आफैँ निर्णय गर्न सक्छन्। सन् २०१४ देखि यहाँ १८ वर्षभन्दा कम उमेरका गम्भीर बिरामीलाई पनि यो कानुनको दायरा भित्र ल्याइएको छ तर उनीहरूलाई आमाबाबुको अनुमति चाहिन्छ।
अस्ट्रेलिया
सन् २०१९ मा अस्ट्रेलियाको भिक्टोरिया इच्छामृत्युलाई कानुनी रूपमा लागू गर्ने पहिलो राज्य बन्यो। त्यसपछि अस्ट्रेलियाभर यस्तो कानुन लागू भएको छ। यद्यपि हरेक राज्यको कानुनमा केही भिन्नता छ। देशभरि यस प्रकारको निर्णय गर्ने बिरामीको उमेर कम्तीमा १८ वर्ष तोकिएको छ।
स्पेन
युरोपीय देश स्पेनमा २०२१ मा इच्छामरणसम्बन्धी कानुन बनाइएको थियो। उक्त कानुनअनुसार गम्भीर रोग लागेका बिरामीहरूले चिकित्सकीय सहायोगमा आत्महत्याको माध्यमबाट आफ्नो जीवन समाप्त गर्न सक्ने अधिकार प्राप्त गरेका छन्।
जर्मनी
जर्मनीमा २०१५ सम्म इच्छामृत्युलाई अनुमति दिइएको थियो। तर त्यसपछि यसमा केही राज्यहरूले प्रतिबन्ध लगाएका थिए। त्यहाँको सर्वोच्च अदालतले मरणासन्न व्यक्तिहरूलाई मृत्युमा सहायता पुर्याउने पक्षमा फैसला गरेको छ। यद्यपि यसबारे कुनै कानुन पारित भएको छैन।
फ्रान्स
सन् २०१६ देखि फ्रान्समा मरणासन्न र अत्यधिक पीडित व्यक्तिहरूलाई गहिरो बेहोस बनाएर राख्न पाइने प्रावधान लागू गरिएको छ। मर्ने औषधि दिनु अवैध मानिनछ। सपोर्ट सिस्टमबाट हटाउने अनुमति हुन्छ। यस्तो निर्णय गर्नका लागि परिवारका सदस्को सहमति चाहिन्छ।