उपनिर्वाचन : आफ्नै ‘किल्ला’ मा कांग्रेसलाई धक्का

हिमाल प्रेस १७ मंसिर २०८१ १२:१७
326
SHARES
उपनिर्वाचन : आफ्नै ‘किल्ला’ मा कांग्रेसलाई धक्का

काठमाडौँ- स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसलाई आफ्नै किल्लामा धक्का लागेको छ। यसअघिका निर्वाचनमा निर्वाचित  पालिका प्रमुख र वडाध्यक्षमा कांग्रेसका उम्मेदवार पराजित भएका हुन्।

मोरङको ग्रामथान गाउँपालिका आइतबार भएको उपनिर्वाचनमा माओवादीका नमोनारायण माझीले ६ हजार ९ सय ६९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर १ हजार ६ सय ३६ छ। यसैगरी नेकपा एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत मत प्राप्त गरे।

यसैगरी काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक पराजित भएका छन्। पाठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठले पराजित गरेकी हुन्।

रोजिना २ हजार ९०२ मतका साथ निर्वाचित भएकी हुन्। नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रा भएका हुन्। एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएकी छन्।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा वडामा कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए। रिजालले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए। कांग्रेस उम्मेदवार पाठक पराजित भएको वडा कांग्रेस नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको वडा हो। मन्त्री सिंहकै वडामा रास्वपाकी उम्मेदवार निर्वाचित भएर कांग्रेसलाई धक्का दिएकी छन्।

अघिल्लो निर्वाचनको तुलनामा उपनिर्वाचनमा कांग्रेसको मत पनि ओरालो लागेको छ। २०७९ को निर्वाचनमा रिजालले पाएको मत हेर्दा यसपालि कांग्रेस उम्मेदवार पाठकले दुई हजार ७९५ मत कम पाएका छन्।

एमालेले यस वडामा पुरानै उम्मेदवार लक्ष्मीरत्नलाई दोहोर्‍याएको थियो। मतको हिसालबे अघिल्लो निर्वाचनको तुलनामा एमालेले पनि क्षति बेहोर्नुपरेको छ। २०७९ सालको निर्वाचनमा एमाले उम्मेदवार लक्ष्मीरत्नले तीन हजार ३१० मत पाउँदा उपनिर्वाचनमा भने एक हजार २१८ मतमात्रै ल्याएकी छन्।

काठमाडौँ-१६ मा पुराना दलहरू कांग्रेस र एमालेबाट असन्तुष्ट मतदाताको मत पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपा उम्मेवार रोजिना आफूतिर तान्न सफल भएको देखिएको छ। यद्यपि अन्य स्थानमा भएका उपनिर्वाचनमा रास्वपाका उम्मेदवारले भने सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन्।

काठमाडौँ-१६ मा मात्रै होइन, कांग्रेसकै किल्ला ठानिएको धनुषाको धनुषाधाम नगरपालिका-१ मा पनि कांग्रेसलाई धक्का लागेको छ। अनुशासन विभाग प्रमुख एवं राष्ट्रियसभा सदस्य आनन्द ढुंगानाको वडामा कांग्रेस उम्मेदवारले पराजय भोग्नुपरेको हो।

२०७९ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित कांग्रेसका विश्वनाथ यादवको निधन भएपछि धनुषाधाम-१ मा उपनिर्वाचन भएको हो।

कांग्रेसले यस वडामा अशोककुमार मण्डललाई उम्मेदवार बनाएको थियो। कांग्रेस नेता ढुंगानाका साथै यो धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलको वडा पनि हो। मण्डल कांग्रेसबाटै दोस्रोपटक नगरपालिकाको मेयरमा जितेका हुन्।

अनुशासन विभाग प्रमुख र पार्टीबाटै निर्वाचित मेयरको वडाबाट आफ्नो उम्मेदवार पराजित भएपछि कांग्रेसले क्षति बेहोर्नुपरेको छ। उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार अशोकले ६०२ मत ल्याउँदा माओवादी केन्द्रका सुनिलकापर केवटले ६८४ मत ल्याए। सुनिलले कांग्रेस उम्मेदवार अशोकलाई ८२ मतको अन्तरले पराजित गरेका हुन्।

वडाध्यक्षमा पराजित कांग्रेस उम्मेदवार अशोक नगरपालिकाका मेयर मण्डलको भतिजा हुन्। मेयरले भतिजोलाई उम्मेदवार बनाएपछि मतदाता असन्तुष्ट भएर माओवादी केन्द्रतिर ‘डाइभर्ट’ भएको बताइएको छ।

पार्टीका उम्मेदवारलाई वडाध्यक्षमा निर्वाचित गराउन कांग्रेस अनुशासन विभाग प्रमुख ढुंगाना र मेयर मण्डल दिनभर मतदानस्थलमा बसेका थिए। धनुषाधाम-१ मा पहिलो माओवादी केन्द्र र दोस्रो कांग्रेस हुँदा तेस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अजयकुमार यादव भएका छन्। उनले ४९९ मत प्राप्त गरेका छन्।

एमालेका प्रमोद यादवले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामदेवसिंह दनुवारले २७, जनमत पार्टीका कुश्वेशर मण्डलले १० र रास्वपाका रामनरेश यादवले १० मत ल्याएका छन्।

यसैगरी कांग्रेसले ओखलढुंगाको मोलुङ गाउँपालिका-५ अध्यक्ष पनि गुमाएको छ। मोलुङ गाउँपालिका-५ अध्यक्षको उपनिर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका गंगाबहादुर तामाङ ३९९ मत ल्याएर विजयी भएका हुन्।

कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याएका छन्। रास्वपाका उम्मेदवार विष्णु पोखरेलले १५१ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन्। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

प्रकाशित: १७ मंसिर २०८१ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast