चितवन- भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरूलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन्। अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा. कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी सुरु गरिएको बताए।
उनले भने ‘यसरी उपचार गर्दा बच्चाको रोग समेत छिटो निको हुन्छ।’ अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उनको भनाई छ। बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा सुरु गरिएको उनले बताए।
विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको जनाउँदै क्रमशः व्यवस्थित गर्दै लैजाने उनले जानकारी दिए। दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उनको भनाइ छ। अस्पतालको बाल रोग विभागमा ६६ श्या छन्।
अस्पतालनै सामग्री खरिदगरी सुरु गरेसँगै विभिन्न दाताहरूले थप सामग्रीहरू सहयोग गर्ने वचन दिएको उनले बताए। अस्पतालमा एनआईसीयू, पीआईसीयु सेवा समेत छ। यो संघीय अस्पताल हो। यहाँ चितवन सहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्।