किर्रा पेन्डरगस्ट साइबर सुरक्षासँग सम्बन्धित शिक्षिका हुन्। उनी हरेक वर्ष हजारौँ किशोरकिशोरीसँग कुरा गर्छिन्। किशोरकिशोरीले अनलाइनमा गर्ने गतिविधि जस्तै- च्याट गर्ने, धम्की दिने, अपमानजनक व्यवहार गर्ने र यौन शोषणबारे उनी जानकार छिन्। यसै महिना १२ र १३ वर्षका विद्यार्थीको कोठामा उनले भोगेको एउटा व्यवहार भने उनले सोचेभन्दा उल्टो भएको छ। यो घटनाले अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमाथि प्रतिबन्ध लगाउने विषय सतहमा ल्याइदिएको छ।
किर्रालाई अस्ट्रेलियाको एक विद्यालयमा प्रस्तुति दिन बोलाइएको थियो। पहिलो सत्र सुरु भएको केही मिनेटमै केही किशोरहरूले उनको प्रस्तुतीकरणमा देखिएका महिलाबारे अपमानजनक शब्द प्रयोग गरेर चिच्याउन थाले। शिक्षकहरूले उनीहरूलाई रोक्ने प्रयास गरे। अगाडि बसेकी एक किशोरीले गाली गरिन् जुन घटनाले किर्रालाई भावुक बनायो। विशेष अतिथि वक्ता किर्रा कोठा छोडेर रुँदै बाहिर जानुपरेको थियो।
‘म यहाँ भिडियोमा रोइरहेकी छु भनेर विश्वासै गर्न सक्दिनँ,’ किर्राले आफ्नो कारमा खिचेको सेल्फी भिडियोमा भनेकी छन्, ‘मलाई विश्वास छ- मैले आज भोगेको व्यवहार पूर्ण रूपमा अनलाइनमा देखेका घटनाबाट प्रेरित छ।’
किर्रा वैश्विक साइबर सुरक्षा प्रशिक्षण कम्पनी सेफ अन सोसलकी संस्थापक तथा सीईओ हुन्। उनी यति बेला बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने पक्षमा उभिएकी छन्। यसअघि उनी बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन नहुने पक्षमा थिइन्।
‘ममाथि गरिएका व्यवहारबारे गहिरोसँग अध्ययन गरेँ र हरेकको प्रतिवाद तयार गरेँ। त्यसपछि मैले सोचेँ, त्यसबारे तपाईँलाई थाहा छ के? यसलाई प्रतिबन्ध गर। बस प्रतिबन्ध गर’, उनले सीएनएनसँग भनेकी छन्।
ड्यानी इलाचीले केही वर्षपहिले छोरीको पुरानो स्मार्टफोन प्रयोग गर्ने मागलाई स्वीकार गरे। त्यति बेला उनकी छोरी १० वर्षकी थिइन्। ‘केही हप्तामा हामीले उनको जीवन पूर्ण रूपमा नियन्त्रण गरिरहेको छ भन्ने थाहा पायौँ,’ इलाचीले भनेका छन्। जुन दिन उनको धैर्य अन्त्य भयो, त्यो थियो आधा रातमा छोरीले सिरानीमुनि बसेर साथीहरूलाई सन्देश पठाएको अवस्थामा भेट्टाउनु।
‘त्यसपछि हामीले निष्कर्ष निकाल्यौँ, हामी यसरी १० वर्षसम्म अगाडि बढ्न सक्दैनौँ’, उनले भनिन्। त्यसपछि इलाची दम्पतीले हेड्स अप एलायन्स सुरु गरे। यो बालबालिकालाई स्मार्टफोन दिन ढिला गर्न प्रेरित गर्ने अभियान हो। यसको सञ्जाल विस्तार हुँदै गएको छ।
एलाची भन्छन्, ‘सामाजिक सञ्जालले अस्ट्रेलियाका बालबालिकालाई हानि पुर्याइरहेको तथ्यमा कुनै शंका छैन। अभिभावकहरूले आफ्नै आँखाले देखिरहेका छन्। बालबालिकाको सुसाइड नोट छन्। ती नोटमा उनीहरूले सामाजिक सञ्जालले मृत्युको भूमिका खेलेको उल्लेख गरेका छन्।’
अस्ट्रेलियाली सरकार सामाजिक सञ्जालहरू स्न्यापच्याट, टिककट, फेसबुक, इन्स्टाग्राम, एक्स, रेडिटलाई १६ वर्षमुनिका बालबालिकाको डिभाइसबाट हटाउने कानुन पारित गर्ने प्रयासमा छ।
कानुन पास भयो भने सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई आफ्नो सेवा प्रयोग गर्न रोक्न उचित कदम नचालेमा ५० मिलियन अस्ट्रेलियन डलर (३२ मिलियन अमेरिकी डलर) सम्मको जरिबाना तिर्नुपर्नेछ।
सरकारले प्रविधि कम्पनीहरूलाई सामाजिक सञ्जालमा कसरी प्रतिबन्ध लगाउने भनेर निर्देशन भने दिएको छैन। कम्तीमा पनि उनीहरूले उमेर प्रमाणीकरण प्रविधि अपनाउनुपर्ने अपेक्षा गरिएको छ। यससँग गोपनीयता पनि जोडिएका छन्। यद्यपि यसलाई सम्बोधन गर्ने सन्दर्भ सरकारले कानुनमै उल्लेख गरेको छ। यसमा आलोचकहरू भने विश्वस्त छैनन्।
आलोचकहरूले यो कानुन हतारमा ल्याइएको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार यो संघीय चुनावअघि राजनीतिक लाभका लागि गरिएको प्रयास हो। कानुन ल्याउने सरकारी प्रयासको समर्थकहरूचाहिँ यसले एकजनाको जीवन बचाउन सकेमात्रै पनि प्रयास सार्थक हुने दाबी गर्छन्।
घातक दुर्व्यवहार
दुई किशोरीहरूले अनलाइन दुर्व्यवहारको आरोपपछि गत महिना ज्यान गुमाएका थिए। अहिले यस्तो घटना बढ्दो छ। उदाहरणका लागि सप्टेम्बरमा चार्लोट ओब्रायनले ज्यान गुमाइन्। त्यसपछि एला क्याटली-क्रफर्ड पनि मृत्युवरण गर्न बाध्य भइन्। उनीहरू दुवै १२ वर्षका थिए। अभिभावकहरूका अनुसार उनीहरूलाई स्न्यापच्याटमार्फत दुर्व्यवहार गर्ने व्यक्तिहरूले निसाना बनाएका थिए।
एला क्याटलीलाई केही केटीहरूले नक्कली पहिचान बनाएर फसाएको आरोप छ। उनीहरूले एपमार्फत नक्कली पहिचान बनाएर एलाले पठाएका व्यक्तिगत भिडियोहरू फैलाएका थिए।
‘वास्तवमै सामाजिक सञ्जालबाट दुर्व्यवहार भइरहेको छ’, एलाको परिवारले उनको अन्तिम संस्कारका लागि रकम संकलन गर्न बनाइएको गोफन्डमी पेजमा ठूलो अक्षरमा लेखेको छ।
चार्लोटका अभिभावक म्याथ्यु हावर्ड र केली ओब्रायन पनि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनुपर्ने अभियानमा सहभागी भएका छन्। हावर्ड र ओब्रायनले यस महिनाको सुरुमा क्यानबेरामा गएर प्रधानमन्त्रीसमक्ष एक लाख २४ हजारजनाले हस्ताक्षर गरेको निवेदन प्रस्तुत गरे। यसलाई सामाजिक सञ्जालमा उमेर हद बढाउन माग गरेको विश्वकै सबैभन्दा ठूलो निवेदन भनिएको छ। उनीहरूले सामाजिक सञ्जाल प्रयोगको उमेर सीमा १३ बाट बढाएर १६ पुर्याउन अनुरोध गरेका छन्।
‘कुनै पनि अभिभावकले हाम्रोजस्तो दुःख भोग्नु नपरोस्,’ हावर्डले हालै ३६ मन्थ्स अभियान समूहलाई दिएको एउटा भिडियो सन्देशमा भनेका छन्। चिकित्सा मनोवैज्ञानिक एवम् लेखकसमेत रहेका डा. ड्यानियल आइन्स्टाइन भन्छिन्, ‘विद्यालयहरू अनलाइन अन्तरक्रियाहरूको जटिल क्षेत्रमा चल्दैछन्। यस्ता घटना विद्यालय समयबाहिर त्यस्ता प्लेटफर्ममा भइरहेका छन्, जसलाई विद्यालयको पहुँचबाहिर राखिएको छ।’
उनको बुझाइमा शिक्षकहरू ठूलो दबाबमा छन्। सामाजिक सञ्जालले संस्कृतिलाई कमजोर बनाएको छ। दुर्व्यवहार रोक्न निकै कठिन भएकाले मौन रूपमा सहनुपरेको छ’, उनले भनिन्।
आइन्स्टाइन पनि सामाजिक सञ्जाल प्रतिबन्धको समर्थनमा छिन्। उनका अनुसार फोन र समूह च्याटले प्रत्यक्ष अन्तरक्रिया हुन छाडेको छ। प्रत्यक्ष अन्तरक्रियाले बालबालिकालाई मानिससँग कसरी सम्बन्ध स्थापित गर्ने र समस्या समाधान गर्ने कला सिकाउँछ। ‘अचानक! उनीहरूले गरेका साना गल्तीहरू सबै समूहसम्म पुग्छन् र ती सार्वजनिक हुन्छन्’, उनले भनिन्, ‘बालबालिकाले साना गल्ती गर्न र ती गल्तीले कुनै ठूलो अर्थ नराख्ने अवस्थामा सिक्ने अवसर गुमाइरहेका छन्।’
राजनीतिक नेताहरू पनि दबाबमा
अस्ट्रेलियामा कुनै पनि विषयमा प्रमुख राजनीतिक दलहरूबीच सहमति जुट्नु दुर्लभ नै मानिन्छ। बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने मुद्दामा उनीहरूले समान दृष्टिकोण अगाडि सारेका छन्।
विपक्षी लिबरल पार्टीले जुन महिनामा सामाजिक सञ्जाल प्रयोगको उमेर सीमा तोक्ने प्रस्ताव राखेको थियो। प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रस्तावको समर्थन गरेका थिए। त्यसपछि प्रस्तावमा सबै राज्य र क्षेत्रीय नेताहरूले समर्थन जनाए।
‘म अस्ट्रेलियाका अभिभावकहरूसँग कुरा गर्न चाहन्छु’, प्रधानमन्त्री अल्बानिजले प्रतिबन्धको इन्स्टाग्राममा पोस्ट गरिएको एक भिडियोमा भनेका छन्, ‘सामाजिक सञ्जाल सामाजिक हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ। साँचो के हो भने यसले हाम्रा बालबालिकालाई हानि पुर्याइरहेको छ। म यसलाई अन्त्य गर्न चाहन्छु।’
‘राजनीतिक प्रेरणा’बाट प्रभावित कानुन
धेरै विज्ञहरूका लागि बहसको विषय सामाजिक सञ्जालका नकारात्मक प्रभाव मात्र होइन, बरु पूर्ण प्रतिबन्ध उचित प्रतिक्रिया हो कि होइन भन्ने हो।
पछिल्लो महिना १४० भन्दा बढी विज्ञले अस्ट्रेलियाली सरकारलाई संयुक्त पत्र पठाउँदै प्रतिबन्ध समस्या समाधानका लागि उपयुक्त विकल्प नभएको ध्यानाकर्षण गराएका छन्। यसै साता अस्ट्रेलियामा सामाजिक सञ्जाल अनुगमन गरेको संयुक्त समिति पनि यसमा सहमत देखियो। महिनौँ लामो सार्वजनिक सुनुवाइ र सयौँ प्रस्तावको समीक्षापछि तयार पारिएको प्रतिवेदनले पनि प्रतिबन्धको समर्थन गरेको छैन।
समितिले कानुन संशोधन गरी डिजिटल प्लेटफर्महरूलाई अस्ट्रेलियाली अधिकारभित्र प्रभावकारी रूपमा ल्याउा सुझाव दिएको छ। युवाहरूलाई असर गर्ने कुनै पनि परिवर्तनको ढाँचा युवाको प्रत्यक्ष सहभागितामा सहकार्य गरी तयार पार्नुपर्छ।
पश्चिमी सिड्नी विश्वविद्यालयको यङ एन्ड रेसिलियेन्ट रिसर्च सेन्टरकी सहनिर्देशक अमान्डा थर्ड भन्छिन्, ‘धेरै बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगको अनुमतिका लागि १३ वर्ष पूर्ण रूपमा उपयुक्त छ।’
‘प्रतिबन्ध लगाउने प्रस्ताव अभिभावकहरूका लागि आकर्षणको विषय छ, किनभने यसले तपाईंको चिन्ता सूचीबाट यो एक समस्या हटाइदिन्छ जस्तो लाग्छ’, उनले भनिन्, ‘वास्तविकतामा भने प्रतिबन्ध लगाउँदैमा अभिभावकहरूले चाहिरहेको कुरा प्राप्त गर्न सक्दैन।’
उनी प्रतिबन्धको प्रस्ताव राजनीतिक र आर्थिक समस्याबाट प्रेरित भएको बताउँछिन्। साइबर सुरक्षा शिक्षिका किर्रा पेन्डरगस्ट भने केही परिवर्तन आवश्यक रहेको बताउँछिन्। उनले भनिन्, ‘एउटा साधारण नियमले बालबालिकालाई बचाउँछ, उनीहरूलाई बलियो र समझदार युवाका रूपमा अघि बढ्न मद्दत गर्दछ, जसको गोपनीयता सुरक्षित रहन्छ, त्यसो भए के यो महत्त्वपूर्ण छैन? सीएनएनबाट भावानुवाद