इटहरी– अरू बेलाभन्दा सडकमा भीड देखिन्छ। चर्को आवाजमा भारतीय गीतहरू बजाएर तडकभडक साथ कार्यकर्ता घरदैलो गरिरहेका छन्। सडकमा गुड्ने चुनावी झण्डावाला गाडीको ताँता हेर्दा लाग्छ, उनीहरूको रबाफै अलग छ।
यो दृश्य, मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवारहरूसहित कार्यकर्ताले मत माग्न जाँदा देखिएको हो। यसले मतदातालाई भने छोएको छैन। मतदाताहरू खेतीमा व्यस्त छन्। धान थ्रेसर लगाउनको चटारो र अर्को बाली लगाउन व्यस्तता रहेका यहाँका मतदातामा चुनावी उत्साह कुनै छैन। खेतीमा भेटिएका हरिनारायण चौधरी (५८) ले काम नगरी खान नपुग्ने भएकाले यसमै व्यस्त भएको बताए।
सानै छ बारी, सानै छ घर, सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान। –दैवज्ञराज न्यौपाने
हरिनारायणले उक्त कविताको हरफ गीतजस्तैगरी गाए। उनले भने, ‘काम पर्दा कोही माइकालाल भेटिँदैनन्।’ उनको भनाइले लाग्थ्यो, उनी दिग्दारीमा छन्। ‘भोट त कति हालियो, हालियो,’ उनले भने, ‘यसपटक चैँ जतासुकै जाओस् आँखा चिम्लेर हाल्छु।’ मत कहाँ, कसलाई वा कुन उम्मेदवारलाई दिने भन्ने प्रश्न नै नसोधी उनले जवाफ दिए। ग्रामथान-७ स्थित बनी टोलका उनले ससानो काम पर्दा पनि आफैँले चुनाव जिताएकाहरूले काम नगरेकोमा आक्रोश पोखे।
‘स्थानीय त व्यक्तिगत चुनाव भयो तर कोही काम लाग्दैनन्,’ उनले उल्टै प्रश्न गरे, ‘को बलियो छ? कसले जित्छ?’ मतदातालाई पो थाहा हुन्छ कसले जित्छ, होइन र? भन्ने प्रश्नमा हरिनारायणले भने, ‘काम गर्ने मान्छेलाई के थाहा हुन्छ? केही थाहा हुँदैन।’
उनले बनीगाउँबारे पनि प्रस्ट्याए। पहिलेपहिले यहाँका अधिकांश मानिसहरू बनी (मजदुरी) काम गरी खान्थे। मजदुरी गरेबापत पाइने ज्यालाबाटै दुई छाकको जोहो हुन्थ्यो। त्यसैले यो किसिमबाट गुजारा गर्दै आएका मानिसमाथि राज्यले भोट बैँकका रूपमा मात्रै प्रयोग गर्ने गरेकाले उनको आक्रोश देखियो।
ग्रामथान–७ थारू टोलका कमल चौधरी भने चुनाव आउने बेला भोजभतेर हुने र मानिसहरू त्यही भोजकै आधारमा दलतर्फ केन्द्रित हुने गरेको सुनाए। ‘चुनाव आउने बेला मानिसहरू भोजभतेरमै केन्द्रित हुन्छन्। पार्टी, दल केही बुझेको हुँदैन, मान्छे त्यतै कुद्छन्,’ उनी भन्छन्, ‘चुनावका बेला भोट चेन्ज गरौँ भन्दै आउँछन्, जसलाई दिए पनि उही त रहेछ।’
यसअघि ०७४ को निर्वाचनमा भने यहाँ एमालेले जितेको थियो। ०७९ को निर्वाचनमा कांग्रेसले चुनाव जित्यो। दुवैले निर्वाचन जिते पनि जनता सधैँ उपेक्षित भएको उनले सुनाए।
‘एमाले, कांग्रेस दुवैले अवसर पाए पनि काम गरेनन्। अब स्वतन्त्रले मौका पाउनुपर्छ। मान्छेलाई मौका नै नदिई कसरी थाहा हुन्छ? दलहरू आएको कति भयो, भन्नुस त?’ कमलले भने, ‘यहाँ धेरैजसो थारू बस्ती छ। गाउँका मानिस ज्यालादारी गरेर खान्छन्, तर उनीहरू सचेत छैनन्।’ निर्वाचनताका मतदाताले स्वविवेक प्रयोग गर्नुपर्ने भए पनि कार्यकर्ताले फकाएर आफ्नो पक्षमा मत पार्ने गरेको उनले स्मरण गरे।
सानोसानो पसल। पसलको बाहिर देखिन्छ पानीका बोतल। त्यसबाहेक बोतलमै बेच्न राखिएको पेट्रोल। भित्र सानो किराना पसल छ। त्यही पसलको बाहिरपट्टि विभिन्न दलका झण्डा देखिन्छन्। त्यही पसलका साहुजी रहेका कमलले भने, ‘सबैले झन्डा राख्छु भन्छन्, मैले पनि पसल हो झुन्ड्याऊ भनेको छु।’
विभिन्न राजनीतिक दलले झण्डा झुन्ड्याए पनि नयाँ व्यक्तिले चुनाव जित्नुपर्ने उनको तर्क छ। कांग्रेस, एमाले र माओवादी अग्रपंक्तिमा रहे पनि तीबाहेक अरू दल वा व्यक्तिलाई मत दिएर एकपटक मौका दिनुपर्ने उनले सुनाए।
‘जसले जति भोट चेन्ज गरौँ भने पनि अन्तिममा कांग्रेस, एमाले र माओवादीमध्ये एकले चुनाव जित्छन्,’ उनी भन्छन्, ‘तर यसअघि पार्टी हेरेकै हो नि। बरू अब त अरूलाई पो हेर्नुपर्ला।‘
उनले स्थानीय निर्वाचन भएका कारण व्यक्ति हेर्नुपर्ने सुनाए। ‘स्थानीय चुनाव हो, सबै उम्मेदवार चिनेकै हुन्छ, भोट चैँ कसलाई दिने, कसलाई नदिने? व्यक्ति नै हेर्नुपर्ला,’ उनले भने।
यसअघि निर्वाचित भएकाहरूले देखिने गरी विकास गर्न नसकेको उनी बताउँछन्। पिछडिएको जातिलाई उत्थान गर्न र रोजगारको सिर्जना गर्नका निम्ति पहल गर्नुपर्ने उनले सुझाए। निर्वाचनमा जितेर जानेहरू फर्किएर नआउने भएकाले पनि जनतामा निराशा छाएको उनको तर्क छ।
‘बाटो, हस्पिटल स्कुल ती कुरा त हो चाहिने। त्यसबाहेक जनताका ससाना कामलाई पूरा गर्नुपर्छ,’ उनले भने, ‘मुख्य रोडको छेउमा मात्रै पहाडे बस्ती छ। भित्री गाउँमा सबै थारूहरू छन्। भित्री गाउँमा कसैको नजर पर्दैन, तिनीहरू भोट बैँक मात्रै हुन्।’
निर्वाचनताका दलका उम्मेदवारहरूले विभिन्न आश्वासन देखाए पनि त्यो पूरा नगरेकोमा उनले निराशा जनाए। ‘भोट माग्ने बेला ल–ल हुन्छ–हुन्छ भन्छ। सबैले यस्तो गर्छु, उस्तो भन्छन् तर जितेर गएपछि केही कामै गर्दैनन्,’ कमलले भने।
यहाँको निर्वाचनको माहोल हेर्दा अहिले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र अग्रपंक्तिमा छन्। त्यसबाहेक राप्रपा, रास्वपासहित अरू दल पनि घरदैलो अभियानमा छन्। घरदैलोमा रहे पनि अधिकांश मतदाताहरू खेती, किसानीमा व्यस्त देखिन्छन्। अहिलेसम्मको प्रक्षेपण हेर्दा यहाँ कसले जित्छ भने यकिन भइसक्ने अवस्था छैन। चुनावी अंकगणित मिश्रित छ।
मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईका अनुसार ग्रामथानको अध्यक्षका लागि १६ जना चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुलसीराम विश्वास, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी मैदानमा छन्।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारू, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीको उम्मेदवारी परेको छ।
नमनारायण चौधरीले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरिरहेका छन्। खासगरी नेकपा एमाले निकट रहेका नमनारायण अध्यक्षको आकांक्षी थिए। उनीसहित ११ जना आकांक्षी रहेकोमा पार्टीले एमाले गाउँपालिका उपाध्यक्षसमेत रहेका तुलसीरामलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिएका हुन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। राष्ट्रियसभाको निर्वाचनमा मत हाल्न विराटनगर गएको बेला उनी अचानक बेहोस भएका थिए। उपचारका क्रममा उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो।
७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन्। २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए। उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ।
मोरङ निर्वाचन क्षेत्र ४ मा पर्ने यहाँ २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादीका अमनलाल मोदी निर्वाचित भएका थिए।