आमासँग छुटेको गाउँ

सागर रावल ८ मंसिर २०८१ ९:४४
32
SHARES
आमासँग छुटेको गाउँ

आमाबुबाको छोड्नै नसकिने गहिरो साथ, बाल्यकालका साथीहरूको एक पल पनि टाढा नहुने माया त्यागेर आफ्ना जिन्दगीका सुमधुर सपना बुनेर गगनमा पंख फुकाउँदै उडेका चराहरू पनि फत्र्याक्क भुइँमा खस्ने गर्मी। त्यही गर्मीमा दिनभरि मरीमरी काम गर्दा पसिनाले निथ्रुक्क भिजेको शरीर लिएर आज पनि सदाझैँ बेलुकीको बासस्थानसम्म आइपुगियो। पसिनाले हुस्स गन्हाउने जिउ र लुगाफाटो धोइपखाली एउटा प्लास्टिकको पोको फुकाउँदै भोकले लखतरान परेर छिट्टै खाना खाने तयारी गरियो।

तल्लो होटलवालाले ल्याइदिएको चिल्सा र घुन लागेर कालै देखिने भात र कुरुमकुरुम गर्ने काँचै आलुका चोक्टा। यसो एक गाँस मुखमा हाल्न खोज्यो कि वाक्क आउने। दिनभरि काम गरेर दुई छाक निल्नु छ, त्यसैमा पनि यत्रो कस्ट? मन चुकभन्दा पनि अमिलो बन्छ, बरररर आँखा रसाउँछन्! दिनभरि गाउँ डुलेर घर फर्किँदा मध्यरातसम्म चुलोमाथि भाततिउन तताएर टुकी बालेर छोरो पर्खने आमा र तिनै आमाले ‘बाबु तरकारीमा नुन लागेको छ? लौ छोरा अझै खानुपर्छ’ भनेर खाना पस्किएको पल सम्झिँदा डाँको छोडेर रुन मन लाग्छ। के गर्नु त अब घर नफिर्दासम्म यहाँको छाड्न नसकिने र उताको पाउन नसकिने भन्दै शान्त हुनुको अर्को कुनै बाटो छैन।

दिनभरको गर्मी र थकानले चुसिएर मुरलीझैँ भएको जिउ एउटा चिसो एसी चल्ने बन्द कोठाको खाटमा लगेर फाल्यो। कहिले बोल्दाबोल्दै भुसुक्कै निदाइँदो रहेछ। कहिले रातभरि नै आँखा नलाग्ने। आज पनि एवंरीतले सबै काम भ्याएर भर्खरै खाटमा पल्टिएर यसो साथीहरूतिर आँखा दौडाएको त, सबैजना निदाइसकेका रहेछन्। दिनभरि गर्मीमा काम गरेका साथीहरू बन्द कोठाको चिसो हावाले बाधा पुर्‍याएर होला डरलाग्दो गरी घुरिरहेका थिए। पापी मन त हो, अझ आज सुतेर भोलि बिहान उठिन्छ वा नाइँ भन्ने पो डर हुन्थ्यो। बेलुकी सँगै सुतेको साथी बिहान कहिल्यै नब्युँझिने गरेर अस्ताएको पनि मैले नेपालबाट यहाँ आउनासाथ देखेको थिएँ। अझै पनि त्यो क्रम जारी छ। कोठामा मजस्तै जिन्दगीको कुनै टुंगो नभएका धेरै जना नेपाली साथीहरू गहिरो निद्रामा छन्। थाहा छैन, बिहान हामी सबै ब्युँझिन्छौ कि नाइँ?

अखबार पल्टायो– आज मलेसियामा तामिलहरूद्वारा यति नेपालीमाथि आक्रमण। रेडियो खोल्यो अरबमा यति जना नेपाली सुतेको ठाउँमा मृत भेटिए। फेसबुक हेर्‍यो कोरियामा नेपालीमाथि गोली प्रहार। हो, जता चियायो यस्तै वेदना! यिनै कारुणिक घटना र समाचार छ्यापछ्यापती भेटिन्छन्। यो दुनियाँमा सायदै भेटिएला त्यो मुलुक जहाँ इमानदार नेपालीको रगत नपोखिएको होस्, त्यो विश्वयुद्धमा होस् वा जम्मुकाश्मिरमा, इराक, अफगानिस्तान, अरब वा मलेसियामा। घरखेत बन्धकी राखेर श्रीमतीका गलाको तिलहरी र कानका मुन्द्रा बेचेर मुग्लान छिरेका मजस्तै कैयौँ युवा बकसुर परदेशमा रेटिएर रातो बाकसमा डल्लो पर्दै दैनिक त्रिभुवन विमानस्थलमा उत्रिन्छन्। हामीले त त्यही एउटा बाकस र २–४ जना आफन्तीको बिलौनामात्र देख्छौँ।

ती दैनिक नेपाल पुग्ने रातो बाकसहरूले कति निर्दोष चेलीहरूको सिउँदो पुछिदिएको छ। बाबा भन्न सिक्दै गरेका कति अबोध मुनाहरूलाई टुहुरो बनाएर बाउ परदेश छिर्दाको ऋणको भारी बोकाएको छ। अस्ताउनै लागेको घामजस्ता बुढा आमाबाबाहरू बाँचेर पनि पटकपटक मरेका छन्। दुर्भाग्य! यति हुँदाहुँदै पनि बिदेसिनेको संख्या दिनानुदिन बढेको छ। ज्यानको बाजी लगाएर रगतपसिनासँग साटेको पैसामा मस्ती भने सधैँ सत्ता र भत्ताका डाडुपन्युँ छोप्नेहरूले गरिरहेका छन्। यिनै रातो बाकसमा आएका र त्यस्तै भीरपहरामा झुन्डिएर रगतपसिनाको आहूति गर्ने युवाले पठाएको रेमिट्यान्सले चलेको देशका शासकहरू सत्ता पल्टाउन र बनाउनकै लागि रुद्राक्ष जपिरहेका छन्।

धन कमाएर मझेरीको कुनामा राखिएको सानो बाकस पैसाले भर्ने सपना सजाएर मुग्लान छिरेका लाखौँ युवा मरुभूमिमा बिनाकारण विलाप गर्दै मारिएर काठको बाकसमा काठमाडँ झरेपछि गोहीका आँसु झार्दै बाकसमाथि फूल चढाएर गाईजात्रा देखाउँछन् र भन्छन्– यो देश युवाहरूको हो, र म नै युवाहरूको नायक हुँ। आखिर यो रमिता कहिलेसम्म?

त्यस्ता मुलुकमा रहेका नेपाली दूतावास के गरेर बसेको छ? देशभित्रै छ्यापछ्याप्ती उम्रिएका सुरक्षित वैदेशिक रोजगारका क्षेत्रमा झोला बोकेर गाउँ छिर्नेहरू कुन लोकमा छन्? हुन त तारे होटल छिरेर बिरयानी र ह्विस्कीको स्वादमा राष्ट्रियता खोक्ने काला मान्छेहरूलाई के थाहा रातो बाकसको सकस र पीडा?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast