गौतम बुद्धमा उडान नियमित बनाउन दबाब, भैरहवा डाकिए दुई मन्त्री

१० दिनमा ६४ अन्तर्राष्ट्रिय उडान, ९४० यात्रु भित्रिए, ८११ बाहिरिए

विनोद परियार ६ मंसिर २०८१ १३:५९
26
SHARES
गौतम बुद्धमा उडान नियमित बनाउन दबाब, भैरहवा डाकिए दुई मन्त्री भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर : विनोद परियार

लुम्बिनी- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नरोक्न सरकारमाथि दबाब परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको भैरहवामा अत्यावश्यक कार्यालयको संरचना तयार नहुँदा उडान फेरि रोकिन सक्ने भन्दै व्यवसायीहरूले सरकारलाई दबाब दिएका हुन्।

विमानस्थल नियमित चल्छ कि चल्दैन भन्ने चासो उत्पन्न भएपछि व्यवसायीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भैरहवा डाकेका छन्।  रूपन्देहीका उद्योगी व्यवसायीले आफूहरूको मागबमोजिम दैनिक पाँच उडान भइरहेको बताउँदै अब यसलाई नियमित उडानका लागि दबाब दिइन लागेको बताएका छन्।

सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘हामी जति उत्साहित छौँ, संशय पनि छ, सरकारले गर्नुपर्ने केही काम अधुरो हुँदा आशंका उब्जेको छ। सोही कारण उडान नियमित बनाउन दबाब दिन मन्त्रीद्वयलाई शनिबार भैरहवा डाकेका छौँ।’ मन्त्रीद्वयसँग विमानस्थलमा नियमित सञ्चालनका लागि थप संरचना निर्माणसहित अन्य विषयमा छलफल गरिने उनले बताए।

श्रम स्वीकृति लिन तथा पहिलो पटक स्वास्थ्य परीक्षण गर्न काठमाडौँ धाउनुपर्ने र म्यानपावर कम्पनीको कार्यालय, भिसा सेन्टरहरू स्थापना नहुँदा शंका उब्जेको व्यवसायीको भनाइ छ।

अध्यक्ष श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको विमानस्थलमा बौद्ध राष्ट्रहरूबाट उडानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइने बताए। उनले श्रीलंका, भियतनाम, चीनलगायतका देशबाट सीधा उडान गर्नुपर्नेमा जोड दिए।

लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बौद्ध राष्ट्रहरूबाट लुम्बिनीमा सीधा उडान हुँदा त्यसले अतर्राष्ट्रिय विमानस्थलको नियमित उडानमा सहयोग हुने बताए।

उनले लुम्बिनी आउने पर्यटकलाई अन्तर्राष्ट्रिय उडानले सुविधा दिएको बताए। अन्तर्राष्ट्रिय सुरु भएकाले अब यसको निरन्तरताका लागि भए पनि बौद्ध राष्ट्रबाट नियमित उडानका लागि सरकारले पहल गर्न जरुरी रहेको आवाज उठेको छ।

रूपन्देहीका जनप्रतिनिधिसमेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने विमानस्थल राम्रोसँग चल्ने बताएका छन्। ‘कतिपयले बनाउन हुँदैन भन्थे, बनाउने निर्णय भयो। बन्दैन भन्थे, ढिलो भए पनि बन्यो। चल्दैन भन्थे, चल्न थालेको छ। अझै भन्दैछन्, रम्रोसँग चल्दैन। म भन्छु, चल्छ, राम्रोसँग चल्छ, धेरै राम्रोसँग चल्छ। जसरी अनेक अवरोध छिचोल्दै बन्यो, त्यसैगरी बाधा पन्छाउँदै चल्छ’, पौडेलले फेसबुकमा लेखेका छन्।

उनले विमानस्थल सञ्चालन गर्न सरकारको पछिल्लो निर्णय आंशिक रूपमा कार्यान्वयन हुँदा यो रूपमा चलेको र निर्णय पूर्ण रूपमा कार्यान्वयन हँदा पूर्ण क्षमतामा चल्ने बताए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० दिनमा ६४ वटा उडान हुँदा ९४० यात्रु भित्रिएका छन् भने ८११ यात्रु बाहिरिएका छन्। कात्तिक २३ देखि मंसिर ३ गतेसम्म ६४ पटक जहाज उडान र अवतरण हुँदा एक हजार ७५१ जना यात्रुले ओहोदोहोर गरेका हुन्।

कतिपय विमान कम्पनीले गौतम बुद्धलाई ट्रान्जिट उडान भरेकाले यहाँबाट दुई हजार चार सय ६० यात्रुको आगमन भएको विमानस्थलले जनाएको छ। यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान भएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका यात्रुलाई सहज भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतसम्भार भइरहेको र गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि दबाबसमेत उत्पन्न भएपछि यहाँबाट उडान सुरु भएको हो।
कात्तिक १८ गते थाई एयर एसियाले परीक्षण उडान गरेको थियो। उसले यात्रु ल्याएको थिएन। कात्तिक २३ (शुक्रबार) ७ यात्रु बोकेर आएको थाई एयर एसियाले ३२ यात्रु लिएर फर्किएपछि गौतम बुद्धमा अन्तर्राष्ट्रिय उडान सुरु भएको हो।

थाई एयर एसियाले सोमबार र बिहीबार उडान भरिरहेको छ। कुवेतबाट जजिरा एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार गरी सातामा तीन दिन उडान गरिरहेको छ। फ्लाई दुबई र कतार एयरबाट नियमित उडान भइरहेको छ। नेपाल एयरलायन्सले सातामा चार दिन उडान गरिहेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक प्रतापबाबु तिवारीले उत्साहजनक उडान भइरहेको बताए। ‘उडानको छोटो अवधिले उत्साह जगाएको छ’ उनले भने । बुद्ध जन्मस्थल लुम्बिनीसँगै अन्य पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटकलाई सीधै उडानका लागि सबै पक्षले वातावरण बनाउनुपर्ने उनको सुझाव छ।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले पाँचवटा विमान सेवा कम्पनीले नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भरिरहेको जानकारी दिए। उनका अनुसार मौसम प्रतिकूलताबाहेक अन्य बेला उडान नियमित भइरहेको छ।

अर्बौँ लगानी गरेका उद्योगी व्यापारीमा उत्साह जागेको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले बताए। ‘राज्यको अर्बाैँको लगानी भएको विमानस्थल नचल्दा समग्रमा सबैमा घाटा थियो, अब चल्न थाल्यो यसले उत्साह जगाएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि अब काठमाडौँको विकल्प तयार भयो।’
सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले लामो समयको प्रयासपछि पाँचवटा उडान हुने कुराले निकै उत्साही बनाएको बताए।

गौतम बुद्धमा अन्तर्राष्ट्रिय उडान गर्दा विमानले विभिन्न छुटसमेत पाएका छन्। जसका कारण पनि गौतम बुद्ध विमानस्थलमा आकर्षण थपिएको छ। यात्रु सेवा शुल्कबापतको प्रतिव्यक्ति लाग्ने तीन हजारमा पूर्ण छुट दिइएको छ। ल्यान्डिङ, पार्किङ र नेभिगेसनमा पूर्ण छुट, पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डिलिङमा ७५ प्रतिशत छुट र इन्धनमा प्रतिकिलो सय डलर छुट दिएको विमानस्थल कार्यालयले जनाएको छ।

२०७१ साल माघ १ गते (जनवरी, १५ २०१५) मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको थियो भने २०७९ साल जेठ २ गते विमानस्थलको उद्घाटन गरिएको थियो।

विमानस्थल करिब आठ सय बिघा क्षेत्रफलमा फैलिएको छ। ती किलोमिटरको रनवे रहेको विमानस्थलमा फोर ई क्याटोगोरीको विमानस्थलमा नवौँ क्याटोगोरीका दमकल छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरह उडान र अवतरण हुन सक्ने यहाँ चारवटा न्यारोबडी र एउटा वाईडबडी गरी पाँचवटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्ने व्यवस्था छ।

प्रकाशित: ६ मंसिर २०८१ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast