अडानविहीन माओवादी र हिम्मत हारेको समाजवादीबीच गठजोड

किरण पौडेल २ मंसिर २०८१ १७:२९
30
SHARES
अडानविहीन माओवादी र हिम्मत हारेको समाजवादीबीच गठजोड

काठमाडौँ- नेकपा माओवादी केन्द्र स्थानीय तहको उपनिर्वाचनका लागि आफ्नै अडानबाट पछि हटेको छ। माओवादी बैठकले यसअघि एक्लै चुनाव लड्ने प्रतिबद्धता जनाए पनि १६ गते हुन लागेको चुनावमा अर्को दलसँग तालमेल गरेर मैदानमा उत्रन लागेको हो। यसैगरी अर्को दल नेकपा एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने आँट देखाउन सकेन। समाजवादी उपचुनावका लागि माओवादीकै फेर समात्न बाध्य भएको छ।

माओवादीले साउन १५ मा बसेको माओवादीको पदाधिकारी बैठकबाट निर्वाचन एक्लै लड्ने निर्णय गरेको थियो। बैठककक्षबाहिर पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले भनेका थिए, ‘आउँदो आमनिर्वाचनमा माओवादीले एक्लै भिड्ने निर्णय गरेको छ।’ प्रधानमन्त्री पद गुमेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘अब हामी एक्लै चुनाव लड्छौँ। उनले २०८४ सालमा बहुमत ल्याउने समेत दाबी गरेका थिए।

‘हामीले ०६४ मा चुनावमा बहुमत ल्याएका थियौँ। तिनै मतदाताको लिस्ट तयार पार्नुपर्छ,’ गत भदौ ८ मा नुवाकोट-काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘माओवादी ठूलो पार्टी हुँदाको मतदाताको लिस्ट हामीले निकाल्नुपर्छ। यसो गरेको खण्डमा बहुमत आउँछ।’

माओवादीको यो अडान लामो टिकेन। गत कात्तिक २६ मा बसेको माओवादी पदाधिकारी बैठकले समाजवादी मोर्चासँग एकता गर्ने निर्णय लियो। समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), विप्लव नेतृत्वको नेकपा सम्मिलित छन्।

मंसिर १ (शनिबार बेलुका) माओवादी-समाजवादीको तालमेल गर्ने सहमति दुवै पार्टीको शीर्ष तहमा भयो। शनिबार बेलुका स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर र काठमाडौँमा माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य गर्ने सहमति बाहिरियो। दुवै दलबीच कीर्तिपुरको मेयर र काठमाडौँ वडा नम्बर १६ का वडाध्यक्ष पदका लागि सहकार्य गर्ने सहमति भएको हो।

एकीकृत समाजवादीले कीर्तिपुरमा माओवादीका मेयर पदका उम्मेदवार शिवशरण महर्जन र माओवादी केन्द्रले काठमाडौँ वडा नम्बर १६ मा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरलाई वडाध्यक्षमा समर्थन गर्ने सहमति भयो। माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

हिस्स परे माओवादी उम्मेदवार

काठमाडौँ-१६ का माओवादीका उम्मेदवार दीलिपराज वन्तले मत मागिसकेका थिए। उनले आफू निर्वाचित भए सेवासुविधा नलिने प्रतिबद्धता जनाएका थिए। उनले भनेका थिए, ‘हाम्रो क्षेत्रमा सडक अव्यवस्थित छ। म व्यवस्थित बनाउन लाग्छु। सडकमा अव्यवस्थित रूपमा छाडिएका गाईगोरूको दीर्घकालीन समस्याको समाधान गर्न कानुनी उपचार खोज्ने।’ माओवादी-समाजवादीको तालमेलका कारण दीलिपराज अघि बढ्नै पाएनन्।

अब त्यस वडामा माओवादीबाट कुनै उम्मेदवार नहुने भएको छ। किनभने समाजवादीले कीर्तिपुरको मेयरमा सहयोग गर्ने सर्तमा माओवादीले काठमाडौँ-१६ मा समाजवादीलाई सहयोग गरेको छ। ‘माथिल्लो स्तरबाट यस्तो निर्णय आयो। यहाँ जित्न सकिन्थ्यो। नेतृत्वले किन यस्तो ग¥यो। हामीलाई थाहा भएन,’ कीर्तिपुरका एक नेताले भने। यसअघि पनि यी क्षेत्रमा समाजवादीको उम्मेदवार थिएन।

जहिल्यै तालमेल

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने समाजवादी मोर्चाको मर्मअनुसार तालमेल गरिएको बताए। माओवादीले ०६४ पछिका सबै चुनाव तालमेलबाटै लडेको छ। यसपटक सत्ताबाट बाहिरिएपछि एक्लै चुनाव लड्ने सम्भावना थियो। प्रचण्ड आफैँले पनि जनलहर ल्याउने कार्यक्रम अघि बढाउने बताएका थिए। तर उनी आफ्नै अडानमा अडिन सकेनन्।

लामो समय सत्तामा रमाए पनि पछिल्लो समय माओवादी पार्टी निर्माणमा लागेको थियो। पार्टीका बैठक बोलाउने, कमीकमजोरी स्वीकार्ने प्रतिबद्धता जनाएको थियो। प्रचण्डले यसअघि प्रदेशप्रदेश पुगेर पनि यही कुरा बताएका थिए।

हिम्मत हारेको समाजवादी

माओवादीजस्तै अडान र हिम्मतविहीन प्रदर्शन गरिरहेको पार्टी हो एकीकृत समाजवादी। पार्टी गठनको चार वर्षमा समाजवादीले अहिलेसम्म आफ्नै बँुताले चुनाव लड्न सकेको छैन। आउँदै गरेको उपनिर्वाचनमा समेत एक्लै चुनाव लड्ने आँट समाजवादीले गरेन। समाजवादीले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादीलाई समर्थन गर्ने निर्णय छ।

सोही कारण यसपटकको उपनिर्वाचनका लागि तयारी समेत गरेन। अन्य ठूला पार्टी (नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र) आन्तरिक तयारीमा पहिल्यै लागेका हुन्।

कात्तिक २४ मा समाजवादीले उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दियो। त्यो समय समाजवादीका लागि ढिला भइसकेको थियो। समाजवादी निकट स्रोतका अनुसार त्यसपछि प्रदेशमा समेत उपनिर्वाचनबारे छलफल हुनै सकेन।

केन्द्रले सिफारिस गर्ने म्याद नतोकेका कारण पनि प्रदेश कमिटी सुस्त थिए। यही कारण पनि समाजवादीले अधिकांश क्षेत्रमा उम्मेदवार उठाउन सकेन। ‘हामीले तालमेलको नीतिअघि बढाएका छौँ। समाजवादी मोर्चाभित्रका शक्तिसँग एक भएर लड्नेछौँ,’ समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्। समाजवादीले अहिलेसम्म आफ्नो मत कति हो यकिन गर्न पनि सकेको छैन।

समाजवादी यसअघि निर्वाचनमा कांग्रेस, माओवादीसहितका दलमा निर्भर रहेर चुनावमा होमिएको थियो। तालमेल गर्दा समेत समाजवादीले अपेक्षाकृत मत पाउन सकेन।
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा समेत समाजवादीले १० सिटमा चुनाव जित्न सक्यो। वैशाखमा सम्पन्न इलामको प्रतिनिधिसभा चुनावमा पनि समाजवादीले लज्जास्पद मत ल्यायो। यसैले पनि समाजवादीले यो एक्लो चुनाव लड्न आँट नगरेको नेताहरूको भनाइ छ। देशभर ४४ स्थानमा उपनिर्वाचन हुँदैछ।

स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकएक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ। यसमध्ये अधिकांश स्थानमा एमाले वा कांग्रेसले जितेको छ। कतिपय स्थानमा त समाजवादीका उम्मेदवार थिएनन्।

यसैकारण पनि समाजवादीलाई चुनाव लड्न सकसक भएको हो। अब चुनाव हुनेमध्ये २५ स्थानमा समाजवादीको उम्मेदवार यसअघि पनि थिएन। विगतमा प्रतिस्पर्धा नभएकाले पनि समाजवादी एक्लै चुनाव लड्न हडबडाएको हो।

प्रकाशित: २ मंसिर २०८१ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast