२०६८ सालबाट गजल लेखनमा सक्रिय गणेशबाबु अधिकारीले केही महिनाअघि उपन्यास ‘रेजा’ प्रकाशित गरे। अजिरकोट-४ गोरखा घर भएका अधिकारी काठमाडौँमा बसोबास गर्छन्। प्रेममा केन्द्रित उपन्यासले पाठकको मन जित्दै गएको लेखकको दाबी छ। त्यसो त पछिल्लो समय अधिक पाठकहरू आख्यानतर्फ प्रेमबारे पढ्न रुचाउँछन्। उपन्यास ‘रेजा’बारे लेखक गणेशबाबु अधिकारीसँग विवेक विवश रेग्मीले गरेको कुराकानी :
तपाईँ गजल लेखनमा पहिचान बनाइसकेको स्रष्टा, उपन्यास लेखनमा कसरी केन्द्रित हुनुभयो?
कथा सबैका आआफ्ना हुन्छन्। यही समाजमा घटेका यथार्थ कथाहरूलाई समेटेर आएको एउटा उपन्यास हो रेजा। फरक-फरक परिवेश, फरक संस्कृति, फरक विचार राख्ने पाठकसम्म पुर्याउने मेरो एउटा प्रयास हो। म एउटा लेखक मात्र नभएर पाठक पनि हुँ। मेरा लागि साहित्यका हरेक विधा उत्तिकै महत्त्व छन्। यसै क्रममा गजल लेख्दै जाँदा निकै गहिराइमा पुगिएछ। एउटा सागरसरी कुनै बन्धनबिना पोखिन पाउँदा निकै आनन्द महसुस हुन थाल्यो। सोही कारण म बग्दै-बग्दै उपन्यास बनेर निस्किएछु।
यो पुस्तक पाठकले पढ्नैपर्ने कारण केही छ?
हुन त सबै लेखकलाई लाग्नु स्वाभाविक हो। आफ्नो कृति सबैले पढिदिऊन् अझै हामीले आफ्नो कृतिलाई जनजनसम्म पुर्याउन केही न केही त फरक दिनैपर्छ। हामी यही रेसमा लागिरहेका छौँ। लेखकलाई लाग्छ आफ्नो कृति निस्किसकेपछि केही न केही पुरस्कार पाउन सफल होस्। हामी त्यही दौडमा हुन्छौँ। त्यसले के गर्छ भने सिर्जना व्यापारीकरण केन्द्रित भइदिन्छ। अनि बिर्सन्छौँ, हाम्रै आसपास घटेका सानातिना घटना। तर समाज परिवर्तन गर्न सक्ने समाजलाई केही सन्देश दिन सक्ने विषयवस्तु मैले तिनै कथाहरूलाई प्रेमको आधार बनाएर रेजामा उतारेको छु।
उपन्यासमा स्मृति, प्राप्ति, रूपाबाहेक विष्णु, प्रभात, मदन, रश्मी, विजय, सुमन, रमा, अनुराधा, सुरज, विवेक, आकृतिलगायतका पात्रहरू उल्लेख छन्। तीमध्ये कतिपय पात्रका पनि आफ्ना कथा वर्णन गरिएको छ। के यी पात्रहरू कताकता बरालिएकोजस्तो लाग्दैन?
समाजभित्र विकृति भित्र्याउन एउटा पात्र पनि काफी रहन्छ। त्यस्तै, समाज परिवर्तन गर्न पनि एउटै व्यक्ति काफी हुन्छ। समाजसँग जोडिएका धेरै पात्रहरू तिनै दुई चरित्रभित्र रुमलिएका हुन्छन्। मैले रेजालाई एउटा समाजको रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छु। मुख्य कथामा सहयोग हुनेगरी आएका उपकथाका पात्रहरू बीचमा जोडिँदै जान्छन् र छुट्दै जान्छन्। त्यो नै रेजाको धरातल हो। सकेसम्म विषयवस्तु भन्दा बाहिर कुनै पात्र नजाऊन् भनेर ध्यान दिने कोसिस गरेको छु।
उपन्यासको मुख्य पात्र बाबु। तपाईँको नामको पछाडि पनि बाबु जोडिएको छ। उपन्यासको पात्रको ठेगाना पनि गोरखा। तपाईँको घरको ठेगाना पनि गोरखा। तपाईँ पनि केही समय परदेश बस्नुभयो। उपन्यासको पात्र पनि बेलाबेला परदेशमा बसेको कुरा उल्लेख छ । कतै यो उपन्यासको मुख्य पात्र बाबु तपाईँ आफैँ त होइन?
कुनै पनि विषयवस्तुको गहिराइसम्म पुगेर लेख्न आफैँ पात्र बनेर प्रस्तुत गर्नजस्तो सहज अरू नहुने रहेछ। रेजा लेख्दै गर्दा मलाई के लागेको थियो भने मेरा पाठकले मेरो उपन्यास पढ्दै गर्दा त्यही धरातल, त्यही समाज, त्यही परिवेश, त्यही संस्कृतिसँग आफूलाई उभ्याऊन्, त्यही पात्रसँग आफूलाई तुलना गरून्। खासमा बाबु त एउटा प्रतिनिधि पात्र मात्र हो। यो त हजारौँ युवाीको कथा हो। परदेशिएका दाजुभाइ दिदीबहिनीहरूको चित्रण हो। अपहेलित वर्गको भावना हो। तिरस्कारको कथा हो।
के सबै कथाहरू वियोगमै टुंगिनुपर्छ? वा वियोगको कथामात्रै पाठकले चाहेका हुन्?
हुन त हामीले पाठकको मनोभावलाई बुझेर लेख्न सकियो भने एक सफल लेखक हुन सकिन्छ। विषयवस्तु राम्रा छन् भने त्यसले संयोगान्त या वियोगान्तसँग केही फरक पर्ला जस्तो लाग्दैन। मैले लेख्दै गर्दा पनि सबैभन्दा पहिला मेरो मनलाई सोध्ने गर्छु, तैँले छानेका चरित्र, तैँले छानेका पात्र, विषयवस्तु ठिक छन् या छैनन्? मेरो मनलाई ठिकै लाग्छ भने संयोगान्त होस् या वियोगान्त दुवै भावलाई उत्तिकै सम्मान गर्छु र मन पराउँछु।
भनाइको मतलब पहिला आफू सन्तुष्ट छ कि, छैन? एकजनालाई पनि मनपर्यो भने कमसेकम हजारौँ पाठकमध्ये तपाईँका स्वभावसँग मिल्ने केही त पक्कै हुन्छन्। कैयौँ संयोगान्त उपन्यास पनि राम्रै चलेका छन् भने कैयौँ वियोगान्तक उपन्यास पनि पाठकले मन नपराएका उदारण पनि छन्। मैले रेजामा त्रिकोणात्मक प्रेमभित्रको वियोगलाई प्रस्तुत गरेको छु।
पछिल्लो समय पाठकले कस्ता पुस्तक पढिरहेका छन्? पाठकले चाहेअनुरूपको पुस्तक लेखिएका छन्?
मनोभावभित्र रहेर खोजमूलक विषयवस्तुमा आधारित धेरै पुस्तक आए। पछिल्लो चरण र तिनै पुस्तकले स्थान पनि पाए। पहिला उपन्यासभित्र कहीँ न कहीँ प्रेम जोडिएका हुने गर्थे। नयाँ पुस्ताका लेखकहरूले त्यो शैलीलाई थोरै भए पनि परिमार्जित गर्दै गएको पाइन्छ।
मलाई विश्वास छ, पछिल्लो समयमा प्रकाशित भएका पुस्तकले पाठकको मन जित्न सफल भएका छन्। पुस्तक आफैँमा नराम्रा हुँदैनन्, पाठकको बुझाइका आधारमा वर्गीकरण हुने गर्छन्। समग्रमा पुस्तकहरू राम्रा आएका छन्।
नयाँ पुस्ता वा पछिल्लो पुस्ताका मानिसहरू साहित्य लेखनमा इच्छुक छन् भने उनीहरूले के कुरामा ध्यान पुर्याउन आवश्यक छ?
लेखकले आफ्नो सन्तुष्टिका लागि मात्र लेखेर सुख पाउँदैन। लेखक भनेको सार्वजनिक व्यक्तित्व हो। उसले म एउटा व्यक्ति हुँ भन्न मिल्दैन। त्यसैले उसले आफ्नो पाठकको भावनालाई सम्मान गर्न सक्नुपर्छ। नयाँपुरानो कुनै अर्थ राख्दैन, सबै लेखकले पाठकको भावनालाई सम्मान गर्न सक्नुपर्छ। मलाई लाग्छ, विषयवस्तु र प्रस्तुतीकरणले निकै प्रभाव पार्ने भएकाले यसबारे बढीजसो ध्यान पुर्याउन आवश्यक हुन्छ।
अन्त्यमा, मैले सोध्न छुटाएको र तपाईँलाई भन्नै मन लागेका केही कुरा छन् कि?
मेरो भावनालाई सम्मान गर्दै मेरो कृति निकाल्न साथ दिनुहुने पेज टर्नरप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै, प्रत्यक्ष या अप्रत्यक्ष रेजालाई साथ दिनुहुने सबैप्रति असीमित आभार व्यक्त गर्न चाहन्छु। सबै पाठकलाई एकपटक रेजा पढेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। रेजालाई पाठकसामु प्रस्ट्याउने मौका दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु।