नयाँनयाँ ठाउँको भ्रमणमा जान र त्यहाँको परिवेश, इतिहास, मानिस र तिनका रहनसहन, संस्कार र संस्कृति,, खानपिनबारे जान्न हेर्ने, बुझ्ने, अनुभूत गर्ने चाहना मानिसमा अन्तरनिहित स्वभाव हो। आजको विश्वमा आधुनिक सञ्चार र यातायातको सुगमता एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्न सहज बनेको छ। परिणामत: मानिस मनोरञ्जन, ज्ञान र नयाँ ठाउँ, सामाज, संस्कृति र सभ्यताबारे हेर्न, जान्न र बुझ्न विभिन्न ठाउँको यात्रा गर्दछ जसलाई एक पर्यटन व्यवसायका रूपमा विकास गर्दै लगिएको छ।
प्रकृति, संस्कृति, सभ्यताको विविधताप्रति रहने कौतूहल, जिज्ञासा र उत्सुकतता समन गर्न पनि मानिस एक ठाउँ/देशबाट अर्को ठाउँ/देशको यात्रा गर्दछ। फलस्वरूप आज पर्यटन व्यवसाय एक विश्वव्यवापी व्यवसायका रूपमा विकसित पनि हुन पुगेको छ। सर्जक, लेखक कविहरू आफू भ्रमण गरेको स्थान र परिवेश अनि आफूले अनुभूत गरेको आनन्द वा तितामिठा अनुभवलाई अक्षरका माध्यमबाट साहित्यको कलेवरमा हालेर प्रस्तुत गर्ने गर्दछन्।
विश्व साहित्य होस् वा हाम्रै नेपाली साहित्यमा यस प्रकारको लेखनलाई नियात्रा (travelogue) भन्ने गरिएको छ। देखिएका, भोगिएका अनि अनुभूत गरिएका विषय र सन्दर्भलाई निजात्मक तवरमा प्रस्तुत गरिने लेख, निबन्ध वा भ्रमण विवरणलाई नै नियात्रा भनेर सामान्य रूपमा परिभाषित गरिएको पाइन्छ। चूडामणि गौतमको बृहत्तर नेपाली शब्दकोश (२०७९) ले ‘यात्रा निबन्धको औपन्यासिक वा उपख्यातात्मक रूप’ नियात्रा हो भनेर परिभाषित गरेको पाइन्छ।
यस प्रकारको नियात्रा लेखनमा आफ्नो बलियो उपस्थिति जनाउन नेपाल होस् वा विदेशका विभिन्न देश/स्थानका भ्रमणपछि पाएको अनुभवलाई पाठकसमक्ष प्रस्तुत गर्ने कूटनीतिज्ञ एवं लेखक राजाराम बर्तौला र तिनको हालै प्रकाशित कृति ‘देश-देशान्तर’ का विविध पक्षबारे चर्चा गर्नु यो लेखको उद्देश्य छ।
निश्चित उमेर हद पुगेपछि सार्वजनिक सेवाबाट निवृत्त भएपछि आफूलाई सिर्जनात्मक, सकारात्मक एवं सामाजिक कार्यमा निर्लिप्त गराएर जीवनका बाँकी अवधि सकेसम्म उपयोगी र फलदायी बनाउन लागिपर्ने केही थोरै मानिसमध्येका एक सर्जक राजाराम बर्तौला पर्दछन्। उनी नेपाल सरकार, परराष्ट्र मन्त्रालयको नायब शिष्टाचार महापाल पदबाट सेवा निवृत्त भएपछि आफूलाई एक यायावरका रूपमा परिणत गरेको आभास हुन्छ किनभने उनी नेपालका विभिन्न स्थलको प्राकृतिक सुन्दरता अवलोकन गर्दै ती स्थानहरूको सांस्कृतिक, धार्मिक, ऐतिहासिक पाटाबारे पनि विहंगम शाब्दिक चित्रण गर्न र आफ्ना जादुमयी लेखनका माध्यमबाट आफूसँगै पाठकलाई पनि त्यो ठाउँ, त्यहाँका मानिस र संस्कृतिसँग निकट पुर्याउन र परिचित गराउन प्रयत्नरत छन्। यसरी सेवानिवृत्त जीवनलाई पनि सकारात्मक ढंगमा जिउने यो कलाबाट धेरै मानिसले पाठ सिक्न सक्छन्।
राजाराम बर्तौला र उनका कृति
२०१५ साल वैशाखमा हेटौँडा नवलपुरमा जन्मिएका राजाराम बर्तौला १६ वर्ष प्रशासन सेवा (लेखा समूह) र करिब दुई दशकभन्दा बढी कूटनीतिक सेवामा संलग्न भई करिब ३६/३७ वर्षको सक्रिय सार्वजनिक सेवाबाट निवृत्त भएपछि साहित्यिक तथा समसामयिक विषयमा फुटकर लेखरचना सिर्जना गर्ने र प्रकाशन गर्ने कार्यमा अनवरत रूपमा सक्रिय देखिन्छन।
२०५२ सालमा परराष्ट्र मन्त्रालयको लेखा शाखामा कार्यरत उनी २०५४ मा कूटनीतिक सेवामा प्रवेश भएपछि बंगलादेश, कतार, चीन, कोरियास्थित नेपालका कूटनीतिक नियोगहरूमा विभिन्न पदहरूमा कार्यरत भई परराष्ट्र मन्त्रालयको नायब शिष्टाचार महापाल पदबाट २०७३ सालमा सेवानिवृत्त भए। उनले आफ्नो कूटनीतिक सेवा अवधिमा कार्यरत रहँदा सबै नियोगमा कार्यवाहक राजदूतसमेत भएर आफ्नो कुशल कूटनीतिक क्षमता प्रदर्शन गरिसकेका छन्।
सेवा निवृत्त जीवन सुरु भएपछि लोभलाग्दो गरी सिर्जनात्मक क्रियाकलापमा उनी सक्रिय हुन थाले। यस क्रममा उनको पहिलो कृति ‘मेरा पाइला'(संस्मरण) २०७८ सालमा प्रकाशित भयो। २०७९ मा उनको लघु निबन्ध संग्रह ‘अल्छी ढुंगो’ प्रकाशन भयो भने २०८० मा कविता संग्रह ‘भ्रमित सत्य’ निस्कियो। यसरी उनले २०७८ देखि प्रत्येक वर्ष एक कृति प्रकाशन गर्ने अठोट गरेको प्रतीत हुन्छ। यी प्रकाशित कृतिका माध्यमबाट उनले नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएका छन्।
२०८१ साउनमा उनका केही पूर्वप्रकाशित र केही अप्रकाशित नियात्राहरूको संगालोका रूपमा ‘देश-देशान्तर’ नामक एक गहकिलो, रोचक र ज्ञानवर्धक पुस्तक प्रकाशित भएको छ। सिर्जनात्मक रचना लेख्न अनवरत रूपमा सक्रिय बर्तौलाको यो कृति चौथो कृतिका रूपमा प्रकाशन भएको हो।
पुस्तकको आवरण चित्र हेर्दा नै यो कृति मूलत: नेपालको हिमाल, पहाड, तराईको मात्र होइन विदेश भ्रमणको अनुभव र अनुभूतिलाई मनमोहक रूपमा वर्णन गरिएको हुनुपर्छ भन्ने पूर्वानुभूति भइहाल्छ। आवरण हेर्दैमा यसले पाठकलाई आफूतिर तत्क्षण आकर्षित गराउन सफल हुन पुग्छ। यस कृतिमा समाविष्ट आलेखहरूमध्ये ‘पशुपतिनाथ मन्दिर र अमेरिकी सपना’ शीर्षकको एक लामो नियात्रा लेखकको छोरी-ज्वाइँ भेट्न गरिएको अमेरिका भ्रमण (खासगरी टेक्सास भ्रमण) को विवरणबाहेक संग्रहका अन्य २५ नियात्रामा उनले नेपालभित्रका विभिन्न ऐतिहासिक, प्राकृतिक र धार्मिक स्थलहरू भ्रमण गरेर लेखकले आफ्ना अनुभव र अनुभूति पस्किएका छन्।
‘देश-देशान्तर’ भित्र विचरण गर्दा
पुस्तकमा नेपालका विभिन्न दर्शनीय स्थानहरू (१० वटा) र काठमाडौँ उपत्यका निकट(१६ वटा)का प्राकृतिक, धार्मिक, ऐतिहासिक स्थलहरूको पैदल यात्रा गरेर अनुभूत गरेका प्रभाव, भावना र अनुभव अभिव्यक्त भएका छन्। २०६२/६३ यता करिब दुई दशक पुग्न लागेको राजनीतिक परिवर्तनले नेपालका गाउँ, सहर, दुरदराज ठाउँहरूमा के कस्तो सकारात्मक वा नकारात्मक परिवर्तन ल्याएछ भन्ने बुझ्न पनि यो पुस्तक सहायकसिद्ध हुन्छ। यसर्थ सर्वप्रथम यसअन्तर्गत समाविष्ट २६ आलेख- जसलाई नियात्रा वा निबन्ध वा यात्रा वर्णन जे भने पनि हुन्छ – तिनमा अन्तर्निहित मूल विषयलाई संक्षेपमा हेर्नु उचित लाग्छ।
शीर्षक/मूल विषय/स्थान-परिवेशका आधारमा ‘देश-देशान्तर’
बागमतीमा डुंगा सयर : नेपाल परिवर्तनको संघारमा छ भन्ने यथार्थ बुझ्न तराई र पहाडलाई जोड्ने नेपालको पहिलो राजमार्ग महेन्द्र राजमार्गको छेउमा विकसित हुँदै गएको नयाँ सहर र बस्तीको कथा यसले प्रतिनिधित्व गरेको छ।
स्थान/परिवेश : उपत्यकाबाहिर/राजमार्गको अर्थतन्त्र र विकास
बन्दीपुर छें : समृद्ध इतिहास बोकेको र आजको एक प्रमुख नेपालको पर्यटन गन्तव्य बन्दीपुर भ्रमणका सन्दर्भमा लेखिएको नियात्राले हिजो र आजको बन्दीपुर, यहाँको प्रकृति, संस्कार, संस्कृति र मानिसहरूबारे राम्रोसँग सूत गराउन सक्षम छ।
स्थान/परिवेश : उपत्यकाबाहिर/पश्चिम नेपाल
भेडेटारको तोङ्बा र तमोरको तीर
२०७९ साल चैतमा पूर्वी नेपालको भ्रमणको रोमाञ्चक वर्णन गरिएको नियात्रा हो। चतरा-धरान-भेडेटार र तमोर नदीको तीरैतीर हुँदै गरिएको यात्राको रोचक वर्णन पढिरहुँ लाग्छ।
स्थान/परिवेश : पूर्वी नेपाल/धार्मिक,पर्यटकीय स्थल
आस्थाकी देवी पाथीभरा : पूर्वी नेपालको ताप्लेजुङमा रहेको किरात धर्म र हिन्दु धर्मावलम्बीको आस्थाकी देवीका रूपमा पूजाअर्चना गरिने यो एक साहसिक यात्रा विवरण हो। भ्रमणमा जाँदा आइपर्ने कठिनाइ र उच्च उचाइका कारण पाथीभरा देवीको सहज दर्शन गर्न जोसुकैले सक्ने अवस्था हुँदैन। ६५/६६को उमेरमा पनि यस प्रकारको साहसिक यात्रामा गएर रोमाञ्चक, ज्ञानवर्धक र यथार्थ चित्रणसहित तयार पारिएको यो एक उत्कृष्ट नियात्रा हो। पाथीभरा मन्दिरसम्म प्रस्तावित केबलकारले स्थानीय अर्थतन्त्र र वातावरणमा पार्ने क्षतिको आकलन र स्थानीय मानिसको भावनाविपरीत बनाउने प्रयासका सम्बन्धमा पनि लेखकले उल्लेख गरेका छन्।
स्थान/परिवेश : पूर्वी नेपाल/धार्मिक स्थल
बम्बैसनको स्वाद र कन्यामको चियाबारी : इलामको कन्याम भ्रमणको रसिलो कथा हो यो। यसमा इलाम चियाबगान र त्यहाँको सुन्दरताको वर्णन गरिएको छ। चियाको उत्पादन हुन थालेको इतिहास, उत्पादन विधि बारे यथेष्ट जानकारी दिइएको छ।
स्थान/परिवेश : पूर्वी नेपाल/पर्यटकीय स्थल
बालकोटको बार्दली र झापाको झ्याल : यो नियात्रामा झापाको भ्रमणमा वर्तमान प्रधानमन्त्री केपी ओलीको घरसमेत हेर्न पुगेको, टी इस्टेटहरूको विवरण र बन्दै गरेको भ्यु टावरको उपादेयता के होला भन्ने सोच्दै लेखिएको यो एक राजनीतिक व्यंग्यजस्तो लाग्ने लेखन हो।
स्थान/परिवेश : पूर्वी नेपाल/स्थान विशेष
पवित्र वराह क्षेत्रको रमणीयता : यसमा पहिलो तीर्थ मानिने वराह क्षेत्रको भ्रमणको रोचक वर्णन गरिएको छ। वराह क्षेत्र र कोशीको महिमा वर्णन गरिएको यो एक रोचक आलेख हो।
स्थान/परिवेश : पूर्वी नेपाल/धार्मिक-प्राकृतिक सुन्दरता
नागमती हुँदै धापड्याम : धाप ड्यामको एक दिन को पैदल यात्राको अनुभव समेटिएको आलेख हो यो। ड्याम (बाँध) बारे पनि राम्रै जानकारी दिनुका साथै ऐँसेलु टिप्दाको रमाइलो प्रसंगले पनि पाठकलाई पनि बाल्यकालतर्फ फर्काउँछ।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/प्राकृतिक सुन्दरता र जनजीवन
मोहनी झरनाको मोहनी : मकवानपुर स्थित कुलेखानी (इन्द्र सरोवर) को पानि मुहान रहने मोहनी झरना र त्यससगै मार्खु, चित्लाङ प्राकृतिक, सामाजिक, आर्थिक पक्षबारे सजीव चित्रण गरिएको आलेख हो यो।
स्थान/परिवेश : उपत्यका निकट/प्राकृतिक र सामाजिक जनजीवन
ओझेलमा परेको फुङफुङे झरना : नुवाकोटमा रहेको फुङफुङे झरनाको एक दिवसीय पैदल यात्राको अनुभव सँगालिएको जानकारीमूलक आलेख हो।
स्थान/परिवेश : उपत्यका निकट/प्राकृतिक सुन्दरता र जनजीवन
पनौतीको रमणीयतामा रमाउँदा : पनौती नेपालको एक एतिहासिक- धार्मिक पवित्र स्थल हो। आधुनिकताका नाममा त्यहाँको प्राकृतिक सुन्दरता क्रमिक रूपमा स्खलित हुँदै छ। तथापि यसका निकट क्षेत्रको प्राकृतिक रमणीयताबारे लेखकले आफ्नो अनुभूति व्यक्त गरेका छन्। पनौतीका कतिपय अनुद्घाटित पक्ष पनि सजीव रूपमा प्रस्तुत गर्न लेखक सफल देखिन्छन्।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/ऐतिहासिक-धार्मिक
स्कुलदेखि गुरुकुलसम्म श्रावणी यात्रा : सनातनी परम्परामा साउन महिना पवित्र मानिन्छ। यसै महिनादेखि विशेष चाडबाड पनि सुरु हुन थाल्छन्। साउने झरीमा धार्मिक स्थलहरूको भ्रमणमा – त्यो पनि पैदल यात्री भएर- कठिन नै मानिन्छ। लेखक भने आफ्नो समूहसँग ‘श्रावणी यात्रा’ निस्किएका छन्। यसमा उनले बनेपा वरिपरि रहेका विभिन्न धार्मिक र ऐतिहासिक स्थल अवलोकनसाथै धार्मिक भ्रमणमा प्राप्त अनुभूतिजन्य विषयवस्तु समेटेका छन्।
स्थान/परिवेश : काठमाडौं उपत्यका निकट/धार्मिक-प्राकृतिक सुन्दरता
तीनछाँगे झरना र इन्द्रेणी सपना : नौबिसे खानिखोलाको शिर रहेको तीनवटा छहरा भएको उद्गमस्थल पुगेर त्यहाँको मन छुने वर्णन गर्दै वरिपरिका बस्ती, तिनको सामाजिक-आर्थिक स्थिति, सांस्कृतिक पक्षका साथै प्रकृतिको अनुपम छटाको वर्णन गर्दै लेखक हामीलाई पनि तीनछाँगे झरनाको भ्रमण गराउँछन्।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट /प्राकृतिक र सामाजिक जनजीवन
गोसाइँकुण्डको यात्रा : यसमा करिब ७० को उमेरमा पुग्न आँटेका ‘युवा’ले जनैपूर्णिमाको छेको पारेर गोसाइँकुण्डसम्म गरिएको पैदल यात्रा दुस्साहसपूर्ण लाग्छ र त यो अहिले पढ्दा रोमाञ्चक र पठनीय बन्न गएको छ। यो संग्रहको एक उत्कृष्ट नियात्रा मान्दछु म यसलाई।
स्थान/परिवेश : जटिल हिमाली भेग/साहसिक पदयात्रा/धार्मिक-जनजीवन
मिनी इलाम र चियाबारी : मिनी इलाम भनेर ख्याति कमाएको मेलम्चीमा पर्ने चिया बगान र चिया उद्योगको बेवारिसे अवस्थाको दारुण चित्र र नेपालमा केही गर्न खोज्नेको नियति बुझ्दा मनमस्तिष्क झंकृत पार्ने आलेख हो यो।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/प्राकृतिक सुन्दरता -सामाजिक-आर्थिक विषय
रोशीको शिरैशिर उँभो लाग्दा : पनौतीको नौ चोके दरबार, रोशी खोला, पञ्कन्या झरनाको स्थलगत पैदल यात्रा गरी त्यहाँको विषयमा लोभलाग्दो पाराले लेखिएको यो आलेखले त्यो क्षेत्रको पर्यावरणमा पर्दै गएको क्षय र क्षतिको विषय, ट्रिपरहरूले सिर्जना गरेको मृत्युको त्रासदीपूर्ण स्थितिको यथार्थ प्रस्तुतिले एकपटक नेपालको विकासको कुरूपतालाइ नंग्याई दिएको छ। नेपाली समाजमा बढ्दै गएको व्यक्तिवादी प्रवृत्तिको चिरफार पनि गरेका छन् लेखकले यसमा।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/प्रकृति/विकास र विनाश
पशुपतिनाथ मन्दिर र अमेरिकी सपना : अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका छोरी, ज्वाइँ, नातिनातिना भेटन आफू र पत्नी अमेरिका भ्रमण गर्दाको अनुभव र अनुभूतिले आप्लावित यो आलेखले अमेरिका पदार्पण भएदेखि त्यहाँ घुमिएका विभिन्न सहर, ऐतिहासक, प्राकृतिक स्थल एवं मठमन्दिरको यात्रा हुँदै नेपाल फिर्तीसम्मको वर्णन छ। साथै अमेरिका खासगरी टेक्सासमा रहेका अमेरिका सपनाको निमित्त त्यहाँ पुगेका नेपालीको रहनसहन र बोलीवचन, संस्कार र संस्कृतिको पनि झल्को दिन सफल छ।
यो नियात्रा सबै अमेरिका जान चाहने नेपालीले एकपटक पढ्ने पर्ने र मनन गर्नैपर्ने देखिन्छ। यो संग्रहकै सबैभन्दा लामो आलेख यो करिब ३७ पृष्ठको छ। तर लामो भए पनि उपशीर्षकसहित स्थान र घटना विशेष गरी लेखिएको हुँदा पाठकले आफ्नो ध्यान भंग नहुने गरी पढ्न सक्छन्। नेपाली आप्रवासीले ‘अमरिकी सपना’ मा कसरी आफूलाई अन्तरघुलन गर्दै लगेका छन् र त्यो क्रममा उनीहरूले भोग्नु परिरहेको चुनौतीमाथि पनि राम्रै प्रकाश पारेका छन् लेखकले।
अमेरिका खासगरी टेक्सासमा बसोबास गर्ने नेपालीले नेपालसँग आफूलाई सांस्कृतिक एवं धार्मिक रूपमा निरन्तर जोड्नका निमित्त स्थापना गरेको पशुपति-बौद्ध मन्दिरबाट सुरु गरिएको टेक्सास यात्रामा लेखक हामीलाई अमेरिकाको सामुदायिक सेवा र सार्वजनिक पुस्तकालयको व्यवस्था, साइप्रस उडस्थित मानव निर्मित ताल, ह्युस्टन सहर, सय वर्ष पुरानो हर्मन पार्क, ह्युस्टनको राजधानी अस्टिन सहर, बोनेल पर्वत, क्यापिटोल अर्थात् संसद् भवन, डल्लास, फोर्ट वर्थ, हेलोविन र देउसीभैलो, क्रिकेट क्रेज, ग्याल्भिस्टिन र यसको सुन्दरता, स्पेस सेन्टर ह्युस्टन, घर फिर्ती उपशीर्षकमा रमाइलोसँग वर्णन गरेका छन्।
स्थान/परिवेश : अमेरिका-टेक्सास /ऐतिहासिक/प्राकृतिक/जनजीवन/संस्कार संस्कृति/नेपाली डायोस्पोरा
तामाङ गाउँ, कोदोबारी र तीनपानेको स्वाद : यसमा काठमाडौँ निकट रहेका गाउँ भ्रमण गर्दाका अनुभूति व्यक्त गरिएको छ। नेपाली गाउँबाट युवाको पलायनपछि बेवारिसेजस्तो अवस्थामा पुगेको गाउँको प्रतिनिधि पात्र एक वृद्धा महिलासँगको भेट र कुराकानीले नेपाली गाउँको आजको कहालीलाग्दो तस्बिर देखाएको छ जुन पढ्दा प्रत्येक नेपालीको मन उद्वेलित हुन्छ। प्राकृतिक सौन्दर्यभित्र लुकेको नेपाली व्यथाको चित्रण हो यो नियात्रा।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/प्राकृतिक सुन्दरता/जनजीवन
जहाँ थुम्का थुम्कामा देवीको बास छ : यस भ्रमणमा पनि लेखक गाउँबेसी रित्तो हुँदै गएको देख्छन्। घरबारीहरू अस्तव्यस्त देख्छन्, प्राकृतिक सुन्दरताभित्र लुकेको यथार्थको कुरूपता देखाउँछन्।
स्थान/परिवेश : काठमाडौँ निकट/प्राकृतिक सुन्दरता/जनजीवन
सृन्गला पर्वतबाट नियाल्दा : काठमाडौँ उपत्यका निकट डाँडाकाँडा, गाउँघर पनि पैदल यात्राका लागि सहज छन्। जीवन र प्रकृतिसँग निकट बनाउन मात्र होइन स्वस्थ्य जीवन यापन गराउन पनि सहयोग हुन्छन् भन्ने सन्देश बोकेको आलेख।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/प्राकृतिक सुन्दरता
आनन्दवनको आनन्द : चापागाउँबाट टीकाभैरव, लेले, आनन्द वनसम्मको पदयात्रा र सो क्रममा अनुभूत जीवन क्षणभंगुरताको अनुपम जीवन दर्शनसमेत उजागर भएको यो छोटो आलेखले पनि परिवर्तन हुँदै गएको काँठ क्षेत्रको सजीव परिचय दिन्छ।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/प्राकृतिक सुन्दरता/जीवन दर्शन
चिम्टेश्वर महादेव र जुठो प्रसाद : ककनीको छेउछाउतिर रहेको भनिएको चिम्टेश्वर महादेवको दर्शनसहितको पदयात्राको चाख लाग्दो वर्णन छ। चिम्टा चढाउने र पानी नपर्दा जुठो प्रसाद चढाइने अनौठो परम्परा रहेको चिम्टेश्वर महादेवको रोचकयात्राले एकै पटक इतिहास, वर्तमान र युवायुवतीको चञ्चलतासमेत दर्शाउन सफल छ। नेपालको एकीकरणको सुरुवात भएको बेलकोट निकटको चिम्टेश्वर महादेवको वर्णनले पुस्तकलाई अझ विशिष्ट बनाउन सघाउँछ।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/प्राकृतिक सुन्दरता/ धार्मिक-सांस्कृतिक
ऐँसेलुको बुटामा अल्झदै तारकेश्वर पुग्दा : मुडखुबाट केही माथि रहेको भुवनेश्वरी मन्दिर, पाँचमाने र नजिकैको शिवपुरी निकुञ्जभित्र पर्ने तारकेश्वर महादेवको दर्शन र पैदल यात्राको रोमाञ्चक कथा रचेका छन् लेखकले यस आलेखमा। तीनपिप्ले, भुवनेश्वरी, तारकेश्वर, गुजे भन्ज्याङको पदयात्रा गर्दा पर्यावरणमा मानिसको अतिक्रमणको परिणतिका रूपमा बढ्दो प्रदूषण र त्यसले ल्याउने विनाशप्रतिको बेवास्ता, ऎँसेलु खान झुत्तिएको अनुभव र भुवनेश्वरी मन्दिर पुग्ने सिँढी गन्दा भएको अन्योल आदि रोचक प्रसंगले पठनीय बनाएको छ।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/प्रकृति/पर्यावरणप्रति उदासीनता
आमा याङ्ग्रीको शिखर र गुराँसे बतास : आमा याङ्ग्री पर्वतको शिखरसम्मको पदयात्राको विवरण। बाटोमा पर्ने मेलम्चीले भोग्नुपरेको प्राकृतिक विपत्तिको प्रसंगले दुखित बनाउँछ तर फेरि गुराँस फूलको सुन्दरताको वर्णनले भने तत्कालै आनन्दित तुल्याउँछ। आमा याङ्ग्रीको इतिहास, दन्त्यकथा र वास्तविकता बुझ्न पनि सघाउँछ।
स्थान/परिवेश : नेपाल पूर्वी-उत्तर/प्रकृति, वातावरण संरक्षण
लगलगेको उकालो र अनाम पहाड : थानकोटको दक्षिणपश्चिममा रहेको लगलगे पाखोको पदयात्राको वृत्तान्त लेखिएको छ यो शीर्षकमा। काठमाडौँको त्यति नजिकै रहेको संरक्षित वनको यात्रा भने निकै कठिन रहेको अनुभव उल्लेख गरिएको छ। साथै जीवन र यात्रा एक आर्काका पर्याय रहेको भन्ने जीवन दर्शनलाई पनि उल्लेख गरिएको छ।
स्थान/परिवेश : काठमाडौँ उपत्यका निकट/प्राकृतिक सुन्दरता/जनजीवन/जीवन दर्शन
सौम्य सुन्दरी शैलुङको शीतलता : यो यस संग्रहको अन्तिम आलेख हो। सयौँ थुम्काको पहाड शैलुङ र यस वरिपरिका पवित्र स्थान, मन्दिर, गुम्बाको वर्णन पढ्दै गर्दै आफैँ त्यहीँ पुगेको अनुभूति हुन्छ। त्यहाँको प्राकृतिक सुन्दरता हेर्दा ‘आँखा भरिएला तर मन भने पटक्कै भरिँदैन’ भने झैँ यो पुस्तक पढिसकेपछि र पढन थकाइ लागे पनि अझ पढ्न पटक्कै छोडन मन नलाग्ने बनाएका छन् लेखकले।
स्थान/परिवेश : पूर्वोत्तर नेपाल/प्राकृतिक सुन्दरता/धार्मिक-सांस्कृतिक
उपसंहार
सेवानिवृत्त जीवनको सिर्जनात्मक सक्रियताले जन्माएको कृति : सेवानिवृत्त जीवनलाई सक्रिय राख्दै नेपालका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वका स्थलहरूको अवलोकनार्थ सकेसम्म पैदल यात्रा र अन्य प्रकारका यात्रामा गएर आफूले प्राप्त गरेका ज्ञान, अनुभव र अनुभूतिलाई सिर्जनाको लालित्य भरेर लेख्ने क्षमतालाई निरन्तरता दिन सक्नु राजाराम बर्तौलाको क्षमतालाई जति नै प्रशंसा गरे पनि कम हुन्छ।
६६ वर्षको उमेरमा पनि यसरी कठिन डाँडाकाँडा, उकालीओराली घुम्दै भन्ज्याङ र चौतारी नाघ्दै, खोलानाला तर्दै, भीर, पाखा, पखेरु डुलेर आफूले देखेका भोगेका ठाउँ र त्यहाँ बस्ने मानिस, विभिन्न जातजाति, तिनका रहनसहन, संस्कृति र सभ्यताबारे यति मिहेनत साथ लेख्न सक्षम हुनु सेवा निवृत्त जीवन बिताइरहेका धेरैलाई यस प्रकारको सिर्जनात्मक सक्रियता प्रेरणादायी बन्न सक्ने देखिन्छ।
सूचनामूलक र रोचक प्रस्तुतिमा अब्बल लेखन : नेपालका विभिन्न स्थानमा अवस्थित मठमन्दिर, गुम्बालगायतका धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको उजागर गर्दै प्राकृतिक सुन्दरताको बखानले भरिएका यस सग्रहका आलेखले इच्छुक पाठक तथा यात्रुहरूलाई ती स्थानका महत्त्व र यात्रा सम्बद्ध विविध पक्षहरूको यथेष्ठ जानकारी दिन्छ। साथै ती क्षेत्र वा भेगका बासिन्दा, तिनको रहनसहन, आर्थिक-सामाजिक अवस्था बारे पनि सामाजशास्त्रीय दृष्टिकोणबाट सूचित गराउन उनी सफल देखिन्छन्। यसर्थ यो कृति नेपालीले नेपालका विभिन्न स्थान बारे लेखिएको सूचनामूलक र रोचक कृति बनेको छ।
प्रकृति र जनजीवनको सजीव तस्बिर : उनका नियात्रामा प्रकृतिका उदात्त रूप, रङ र सिँगारको मोहनीलाग्दो वर्णन मात्र हुँदैन जीवनदर्शनलाई पनि सटीक रूपमा सामेल गरिएको हुन्छ। पाठकलाई जीवनका सुखदुखसँग सादृश्य गराउन जान्दछन्। यात्राका क्रममा गाउँघरमा भेटिएका युवा, महिला, वृद्धहरूका कथाव्यथा, आशानिराशा, संघर्षपीडा मात्र होइन आफूले देखेका, भोगेका जीवनका यथार्थलाई पनि निर्धक्क लेख्न उनी चुक्दैनन्। स्थानविशेष होस् वा मन्दिरविशेष होस् त्यसलाई आवश्यक जानकारीसहित रोचक ढंगमा लेख्न सक्नु बर्तौलाका लेखनका थप विशेषता हुन्।
समाजको वास्तविकता चित्रण : यो पुस्तकले तथाकथित सहरियाले हेपेर गाउँ/ काँठ भनेर हेपिने क्षेत्र र सहर भनिएको कंक्रिटको जंगलबीचको सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, मानिसको बोलीचाली र व्यवहार आदिबीच विद्यमान अन्तर मात्र देखाउँदैन, यसले नेपालको राजधानी निकटका क्षेत्रहरूको भ्रमण गर्दा पाइने प्राकृतिक सौन्दर्यपान गर्न पनि मद्दत गर्दछ। साथै लेखकले भ्रमण गरेका गाउँठाउँका मानिसका जिजीविषाका चुनौती, जीवनका जटिलता र संघर्ष बारे पनि त्यत्तिकै सशक्त ढंगमा लेखिएको हुँदा यो पुस्तक एक यात्रा वर्णनको निबन्ध मात्र नरही समसामयिक नेपाली समाजको एक समाजशास्त्रीय गहन ग्रन्थ पनि बन्न पुगेको आभास हुन्छ।
सकारात्मक दृष्टिकोण प्रस्तुति : पैदल यात्रा गर्दा आफ्नो स्वास्थ्य तन्दुरुस्त हुनु त छँदै छ, यसले दिने अतिरिक्त अनुभव र ज्ञानले मानिसको जीवन र जगत्प्रतिको दृष्टिकोण र दर्शन सकारात्मक बनाउन सहयोगी भूमिका खेल्छ। सहरीकरणले संकुचित बनाउँदै गएको सहरिया जीवनको दैनिकीबाट केही क्षण भए पनि मुक्त भई प्रकृतिको काखमा रमाउने अवसर दिने यस्ता पदयात्राले जिन्दगीको परिभाषा बदल्ने क्षमता राख्दछ भन्ने कुराको बोध गराउन र पदयात्रामा जान पाठकलाई उत्साहित गराउनमा यो कृति सक्षम छ।
सहअस्तित्व र सहिष्णुताका प्रतीकहरूको उजागर : लेखकले यात्रा गरेका स्थानरुको केवल प्राकृतिक सुन्दरता, पहाड, हिमाल, नदीनालाहरूको मात्र वर्णन गरेका छैनन्, उनले नेपालमा रहेको विविध धर्म-संस्कृति एवं जातजातिबीच सदीयौँदेखि कायम रहँदै आएको समन्वयात्मक सहअस्तित्व र सहिष्णुताको जीवन्त इतिहासलाई पनि विभिन्न प्रसंगमा उल्लेख गरेका छन्। यस्तै पुस्तकका प्रत्येकजसो पानामा जीवन, जगत् र आध्यात्मिक पक्ष उजागर गर्नु लेखकको लेखनीको एक मूल विशेषता हो।
भ्रमण गरिएका स्थानको भौगोलिक तथ्यतथ्यांक, जनसंख्या, बसोबास गर्ने जातजाति, धर्म र संस्कारहरू एवं स्थानीय बासिन्दाको आनिबानी आदि बारे पाठकलाई आफ्ना आलेखरुका माध्यमबाट पूर्ण रूपमा सुसूचित गराउने लक्ष्य लिएको देखिन्छ जुनमा लेखक सफल छन्।
पुनर्जीवित इतिहास : पुस्तकमा उल्लिखित विभिन्न प्रसंगमा लेखक इतिहास बिर्सने नेपाली प्रवृत्तिप्रति दु:खी देखिन्छन्। इतिहासको बोध गर्दै त्यसबाट पाठ सिकेर भविष्यको मार्गप्रशस्त गर्नुपर्नेमा इतिहासका धरोहर मासेर निर्माण गरिने भविष्यको आधारभूमि विनाश हुन जाने तर्फ सजग पनि गराउनु सायद आफ्नो कर्तब्य पनि ठान्दछन्। यसैले उनी विभिन्न प्रसंगमा इतिहासप्रति सचेत हुन अभिप्रेरित गराउन पनि छोड्दैनन्। इतिहास मात्र होइन उनी समृद्ध प्रकृति, उत्कृष्ट मौसम तथा आवाहवा, हिमालदेखि तराईसम्मका विविधतायुक्त भूबनोट, धर्म, संस्कृति र सभ्यताको नेपाल भूमिको संरक्षण र सवर्धन गर्ने तर्फ नेपालीहरू जति जागरुक हुनुपर्ने हो त्यति भएको नदेखिएको तर्फ पनि उनी ध्यान आकृष्ट गराउनु आफ्नो लेखकीय दायित्वलाई राम्रैसँग निर्वाह गर्न पछि पर्दैनन्।
उत्प्रेरक नियात्रा लेखनको उदाहरण : पैदल यात्राका क्रममा घुमेर आफूले आनन्द मात्र लिने नभई पाठक वा अन्य इच्छुकलाई पनि यस्ता यात्राको निमित्त उत्प्रेरित गर्नु पनि लेखकीय अभीष्ट देखिन्छ। स्थान विशेषको इतिहास, किंवदन्ती, पुराण, लोकगाथा पनि साथसाथै संकलन गरेर आफ्नो लेखनलाई संग्रहणीय, सुरुचिपूर्ण र गहन बनाएको मात्र होइन, हराउँदै गएका इतिहासलाई पुनर्जीवित गराउन पनि बर्तौला सक्षम देखिन्छन्।
पठनीय कृति : यो पुस्तकका आलेखहरू मुख्यतया सप्ताहन्तको पदयात्राको निजी अनुभवलाई साहित्यको चास्नीमा डुबाएर तयार पारिएका मिष्ठान्न्न हुन्। आफ्नो सानो मित्र मण्डलीको साथ होस् वा ‘हाइक फर नेपाल’ नामक संस्थागत धेरै मानिस जोडिएका संस्थाहरूको संयोजनमा हिँडिएको पैदलयात्रा होस्, यात्रा विवरणको रोचकता र पठनीयताले स्वत: पाठकलाई सुरुदेखि नै आकर्षित गर्दछ। काठमाडौँ उपत्यका निकट पनि यति धेरै रोचक र रमणीय स्थान छन् जहाँ एकदिवसीय पैदल यात्राबाट पनि हाम्रो निकट रहेका विविध सभ्यता र संस्कृति प्रत्यक्ष अनुभूत गर्न सकिन्छ भन्ने प्रमाणित गर्न लेखक सफल भएका छन्। यसका लागि लेखक साधुवादका पात्र बनेका छन्।
अन्त्यमा, लेखक बर्तौला एक संवेदनशील कवि पनि भएकाले उनको लेखन सरस कविता बगे जस्तो, मन छुने भावाभिव्यक्ति, मनै आह्लादित पार्ने गरी गरिएको प्रकृतिको अनुपम छटाको वर्णन, अनि स्थान विशेषको यथोचित तथ्यपरक विवरण, आफ्ना र अरुका तितामिठा अनुभव र अनुभूति सँगालेर पाठकलाई डाँडाकाँडा, भिरपहरा, कुनाकन्दरा, वनपाखा, नदीछहरा, गाउँघर आदिको भ्रमण गराउन पनि सफल छन्। उनको लेखनकला यसैगरी थप निखारिँदै अगाडि बढ्ने हो भने उनी एक सशक्त नियात्राकारका रूपमा नेपाली साहित्यका क्षेत्रमा स्थापित हुनेछन्।
यस कृतिमा एउटा खड्किने कुरा भनेको लेखकले आफूले गरेका कतिपय यात्राका वर्ष वा मिति कतैकतै त उल्लेख गरेका छन् तर सबै प्रसंगमा मिति वा वर्ष मात्र पनि उल्लेख भएको भए पाठकलाई तत्कालीन समय, परिवेश र सन्दर्भ बुझ्न थप सजिलो हुने थियो भन्ने लागिरहन्छ। भविष्यमा यसतर्फ लेखकको अवश्य ध्यान जानेछ भन्ने विश्वास छ।
संग्रहित २६ नियात्राहरू लेखकले मूल रूपमा प्रकृति, स्थानीय संस्कृति र सभ्यता, जनजीवन, धार्मिक स्थान विशेष, इतिहास, मानवीय प्रवृत्ति, पर्यावरण र वातावरणमा पुग्दै गरेको क्षति, भौतिक विकासले आध्यात्मिक पक्षमा ल्याउँदै गरेको विसंगति र विचलन, विदेश गएका नेपालीका कारण गाउँघरमा युवाको शून्य उपस्थिति, गरिबी, अशिक्षा र अज्ञानताजस्ता नेपाली समाजका विविध पाटाहरूलाई आफ्नो लेखनको केन्द्रमा राखेका छन्।
त्यसैगरी उनी प्रकृतिका पूजक त हुन् नै तर उनी हिमाल, पहाड, तरेली परका खेतबारी, खलिहान हेरेर मात्र रमाउन चाहँदैनन्, उनी एक जागरुक नागरिक र लेखकको सामाजिक कर्तव्य निर्वाह गर्दै आममानिसको दैनिक पीडालाई उजागर गर्दै पाठकलाई ती विषय प्रति थप सचेत र संवेदनशील बनाउन उद्यत देखिन्छन्। देशको सामाजिक-राजनीतिक दुरावस्था र यसलाई सम्बोधन गर्न राजनीतिक नेतृत्वले देखाएको उदासीनता एवं समृद्धि र विकासका नाममा भित्र्याइएका विषमता र विसंगतिलाई पनि लेखक सन्दर्भ र तथ्यसहित आफ्ना नियात्रा विवरणमा सप्रसंग उल्लेख गर्न चुक्दैनन्।
उनको यात्राहरूको उद्देश्य केवल तन्दुरुस्तता, मनोरञ्जन वा आत्मिक सुखको खोज मात्र नभएर एक सञ्चेतना एवं सोद्देश्यमूलक भएकाले भ्रमण गरिएका स्थानका बासिन्दाको जीवनका उतारचढाव, दु:खसुख र संघर्षका कथा उनेर पाठकलाई नेपालको आजको सामाजिक-आर्थिक यथार्थसँग परिचित गराउनु हो। मूल रूपमा भन्नुपर्दा, वर्तमानको नेपाली गाउँघर समाजको वास्तविक दर्पण बन्न सफल रहेको ‘देश-देशान्तर’ समसामयिक नेपालको वास्तविकता बुझ्न पनि एक पटक पढ्ने पर्ने कृति बन्न पुगेको छ। साथै यस कृतिमार्फत कूटनीतिज्ञ एवं लेखक राजाराम बर्तौला नेपाली साहित्यको प्रमुख विधा नियात्रा लेखनका क्षेत्रमा सशक्त हस्ताक्षरका रूपमा स्थापित हुन सफल भएका छन्।
[कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक पूर्वराजदूत एवं पूर्वशिष्टाचार महापाल हुन्।]