दैनिकरूपमा हामीले सेवन गर्ने खुर्सानी, बेसार र अन्य मसलाहरू स्वास्थ्यका लागि फाइदाजनक हुने गरेको बताइन्छ। यस्ता खाद्यान्नले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गरेको दाबी स्वास्थ्य क्षेत्रका विज्ञहरूको हुन्छ। तर के मरमसलाहरूले साँच्चिकै खानामा फाइदा थप्न सक्छन् अथवा हामीलाई रोगबाट बचाउन मद्दत गर्न सक्छन्?
मसला हाम्रो आहारको एउटा हिस्सा बनेको छ। पछिल्लो समय कतिपय मसलालाई अनौपचारिक ढंगले हाम्रो दैनिक पाककलाको सामग्रीबाट सबै रोगको निदान गर्ने‘सूपरफूड’का रूपमा प्रवर्द्धन गर्न थालिएको छ।
एकदमै परिचित र व्यापक प्रयोग हुने मसलाहरूमध्ये खुर्सानी एउटा हो। थुप्रै अध्ययनले हाम्रो स्वास्थ्यमा त्यसका सम्भावित असरलाई हेरेका छन्। तर त्यसका फाइदा र हानि दुवै देखिएका छन्।
‘क्याप्सेइसिन’ खुर्सानीमा पाइने मुख्य सक्रिय तत्त्व हो। हामीले खुर्सानी खाएपछि त्यसका अणुहरूले हाम्रो शरीरभित्र रहेका तापमान ‘सेप्टर’हरूसँग अन्तरक्रिया गर्छन् र त्यस क्रममा तातोपनको आभास गराउने संकेतहरू मस्तिष्कलाई जान्छन्।
यसले दीर्घजीवनका लागि सघाउन सक्ने कतिपय अध्ययनले संकेत पनि गरेका छन्। सन् २०१९ मा इटलीको एउटा अध्ययनले हप्तामा चार पटक खुर्सानी भएको खाना खानेहरूलाई खुर्सानीयुक्त खाना नखानेहरूको तुलनामा मृत्युको जोखिम कम देखिएको जनाएको थियो।
सन् २०१५ मा चीनमा अनुसन्धानकर्ताहरूले खुर्सानी खाने बानी र करिब पाँच लाख वयस्कको स्वास्थ्यलाई हेरे। सो क्रममा उनीहरूले खुर्सानी खानेहरूमा मृत्युको जोखिम कम हुने गरेको तथ्य फेला पारे।
हप्तामा एक पटकभन्दा पनि कम पिरो खाने मानिसहरूको तुलनामा हरेक दिन पिरो खाना खानेहरूमा मृत्यु हुने जोखिम १४ प्रतिशतले कम देखिएको थियो।
‘मुख्य नतिजामा उच्च मात्रामा पिरो खाना खानेहरूमा खास गरी क्यान्सर, मुटु रोग र श्वासप्रश्वाससम्बन्धी रोगबाट हुने मृत्युको जोखिम कम रहेको पाइयो,’ हार्वर्ड विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थस्थित पोषणसम्बन्धी विषयकी प्राध्यापक लु कीले भनिन्।
यसको अर्थ यो होइन कि धेरै मात्रामा खुर्सानी खान थालेपछि तपाईँको स्वास्थ्यलाई राम्रो हुन्छ अथवा त्यसले श्वासप्रश्वाससम्बन्धी रोग लाग्नबाट जोगाउँछ।
कैयौँ अध्ययनहरूले ‘क्याप्सेइसिन’ले हाम्रो शरीरमा ऊर्जा खपत गर्ने मात्रा बढाउन सक्ने र भोक घटाउन सक्ने पनि देखाएका छन्।
मोटोपनको जोखिम कम
कतार विश्वविद्यालयको मानव पोषण विभागस्थित असोसिएट प्रोफेसर जुमिन शीका अनुसार पिरो खाँदा मोटोपन हुने जोखिम कम हुन्छ र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक हुन्छ। खुर्सानी खाँदाको बोधात्मक असरबारे अध्ययन गरेपछि उनले तेस्रो असरको अपेक्षा गरिन्।
तर जब उनले चिनियाँ वयस्कहरूमा बोधात्मक असरबारे अध्ययन गरिन्, धेरै खुर्सानी खानेहरूमा बोधात्मक क्षमता कमजोर रहेको पाइन्।
दिनहुँ ५० ग्राम खुर्सानी खाने व्यक्तिहरूमा स्वयं रिपोर्ट गरिएको कमजोर स्मरणशक्तिको जोखिम लगभग दोबर थियो। यद्यपि स्वयं रिपोर्ट गरिएका डेटा धेरैजसो अविश्वसनीय मानिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ।
खुर्सानी खाँदा पोलेको अनुभूति हुने कुराले वैज्ञानिकहरूलाई लामो समयदेखि आकर्षित पार्दै आएको छ।
बीबीसीबाट