तिब्बतीयन शरणार्थीले किन छाड्दैछन् वस्ती?

हिमाल प्रेस २५ कार्तिक २०८१ १८:३५ | Sunday, November 10, 2024
तिब्बतीयन शरणार्थीले किन छाड्दैछन् वस्ती?

बागलुङ- ढोरपाटन उपत्यका नजिकै एउटा सानो वस्ती छ। वस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन्। काठैकाठ र माटोढुंगाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ।

एक दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो। अहिले भने यहाँका अधिकांश घर सुनसान छन्। दशकौँदेखि बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि वस्ती रित्तो बन्दै गएको हो। २०१८ मा तिब्बतबाट आएका शरणार्थी पोखरा, काठमाडौँलगायत ठूला सहरमा जान थालेपछि वस्ती रित्तिन थालेको हो।

ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नं ९ को स्यालपाखेमा बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्न थालेपछि यहाँ बनेका घर जीर्ण बन्दै गएका स्थानीय बताउँछन्।

खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि वस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताए। पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो सङ्ख्यामा शरणार्थी बस्ने गरेमा अहिले बसोबास गर्ने घट्दै गएका उनको भनाइ छ।

‘ढोरपाटनमा पहिले धेरै शरणार्थीको बसोबास थियो, अहिले विस्तारै वस्ती खाली हुन थालेको छ। अवसर खोज्दै बजारतिर बसाइँसराइ सर्न थालेपछि अहिले गाउँमा बुढापाका मात्र छन्,’ उनले भने, ‘विकासका हिसाबले ढोरपाटन पछाडि रहेकाले पनि युवा अवसर खोज्न सहर तथा विदेश फस्न थालेका हुन्।’

नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जनाको मात्र बसोबास रहेको जानकारी दिइन्। आफ्नो बाउ र बाजे करिब ५३ वर्ष अघि यहाँ आएका भन्दै अहिले क्याम्पमा बुढापाका मात्र रहेका उनले उल्लेख गरिन्।

राज्यबाट यहाँका शरणार्थीलाई आधारभूत सेवा उपलब्ध हुनुपर्नेमा भुदीले जोड दिइन्। क्याम्पमा बस्दै आएका हुनेखानेहरू सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै यहाँ बस्ने गरेका उनले बताइन्। ‘पहिला यहाँ धेरै शरणार्थी बस्ने गरेका बुबा र हजुरबुबाले भन्नुहुन्थ्यो। अहिले घटेर ४० जना भएका छौँ,’ उनले भनिन्, ‘मानिस बसाइँ सरी जान थालेपछि अधिकांश घर जीर्ण बन्दै गएका छन्।’

जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम हुँदै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा ५६, आव २०७९/८० मा ५३ र गत आवमा ५० जनाले परिचयपत्र नवीकरण गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०८१ १८:३५ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast