हवाई भाडा महँगिएपछि दिल्ली हुँदै कामदार पठाउन अनुमति माग

हिमाल प्रेस २३ कार्तिक २०८१ १६:१०
14
SHARES
हवाई भाडा महँगिएपछि दिल्ली हुँदै कामदार पठाउन अनुमति माग परराष्ट्र मन्त्रालयमा शुक्रबार मन्त्री आरजु राणा देउवा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै रोजगार व्यवसायी।

काठमाडौँ–  विदेश जाने हवाई भाडा व्यापक वृद्धि भएपछि म्यानपावर व्यवसायीले सरकारसँग त्यसको विकल्प खोज्न माग गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै  नेपाली कामदार बढी कार्यरत विभिन्न मुलुकका सहरमा जाने हवाई भाडा बढेपछि श्रमिक समस्यामा परेका छन्। सरकारसँग समस्या समाधान गर्न आग्रह गरिएको  वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारका लागि शुक्रबारदेखि चैत १८ सम्म राति १० पछि बिहान ८ बजेसम्म दैनिक १० घण्टा उडान बन्द हुने भएको छ। जसका कारण अन्तर्राष्ट्रिय उडानमा व्यापक कटौती हुँदा एयरलाइन्सहरूले हवाई भाडा बढाएका छन्।

संघले अन्तर्राष्ट्रिय उडानमा भाडा बढेपछि भारतको नयाँदिल्ली हुँदै वैदेशिक रोजगारीमा जाने व्यवस्था गर्न सरकारसँग माग गरेको हो।  यस विषयमा संघले  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह  भण्डारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेर ज्ञापनपत्र बुझाएको अध्यक्ष भुर्तेलले जानकारी दिए।

सरकारसँग अन्तर्राष्ट्रिय उडानमा भाडा वृद्धिपछि उत्पन्न समस्या तत्कालै समाधान गर्न माग गरिएको उनले बताए। ‘विमानस्थलको स्तरोन्नतिका नाममा ‘उडान समय’ छोट्याइएपछि एयरलाइन्सहरूले यसलाई बहाना बनाएर भाडा बढाए। यो समस्या तत्काल समाधान नभए व्यवसायीले वैदेशिक रोजगारीमा कामदार पठाउन रोक्नुपर्ने बाध्यता हुन्छ। हामीले मन्त्रीहरूलाई यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छौँ’, उनले भने।

नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य देशका सहरतर्फ जाने उडानमा अत्यधिक भाडा वृद्धि भएको छ। व्यवसायीका अनुसार करिब साढे ४ घण्टा दुरीको काठमाडौँ-यूएई उडानको सामान्य अवस्थामा हवाई भाडा ३० देखि ३५ हजार लाग्छ। अहिले यहाँको भाडा ६५ हजार पुगेको छ। साउदी, कतार, मलेसिया, ओमान, बहराइन र कुवेतको सामान्य समयमा एकतर्फी भाडा ४० देखि ४५ हजार मात्र थियो। अहिले ८० देखि एक लाखसम्म पुगेको म्यानपावर व्यवसायीहरू बताउँछन्।

युरोपका देश जाने हवाईभाडा ९० हजारदेखि १ लाख २० हजारसम्म पुगेको छ। नयाँदिल्लीको १० देखि १५ हजार रुपैयाँसम्म रहेको एकतर्फी भाडा बढेर ४० हजार पुगेको छ।

भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट खाडी तथा मलेसिया उड्ने हवाई भाडा कम छ। जसका कारण वैदेशिक रोजगारीमा जाने कामदार भारतका विमानस्थलबाट पठाउन बाध्य हुने एक म्यानपावर व्यवसायीले जानकारी दिए। वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नुपर्ने व्यवस्था छ। अन्य देशको विमानस्थल प्रयोग गरेर त्यही देशको कूटनीतिक नियोगबाट ‘एनओसी’ लिनुपर्ने हुन्छ।

नयाँदिल्लीबाट यूएईको हवाई भाडा २६ हजारदेखि ३० हजार रुपैयाँ, बंगलादेशबाट २३ हजारदेखि २६ हजार रुपैयाँसम्म मात्र छ। यी देशबाट युरोप ५०–६० हजारमा पठाउन सकिने व्यवसायीहरूले बताए। तेस्रो मुलुकको विमानस्थल ट्रान्जिट मात्र प्रयोग गर्न पाइन्छ। दिल्लीबाट उड्नका लागि नेपाली दूतावासबाट ‘एनओसी’ लिएर भए पनि कामदार पठाउनुपर्ने बाध्यता आइलागेको ती व्यवसायीले बताए।

‘काठमाडौँबाट स्थलमार्ग हुँदै दिल्लीको विमानस्थल भएर कामदार पठाउने विषयमा धेरै व्यवसायीबीच छलफल भइरहेको छ। सरकारले यस विषयमा अहिलेसम्म चासो दिएको छैन’, ती व्यवसायीले भने।

काठमाडौँ-दिल्लीको भाडा अस्वाभाविक रूपमा वृद्धिले नेपाली कामदारलाई दिल्ली हुँदै वैदेशिक रोजगारीमा जान पनि महँगो पर्नेछ। सोही कारण कामदारहरू दिल्लीसम्म स्थलमार्गबाट जान बाध्य भएका छन्। सस्तो टिकटमा कामदार पठाउन पनि भारतको विमानस्थल प्रयोग गर्न अनुमति दिनुपर्ने माग व्यवसायीहरूको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले अन्तर्राष्ट्रिय उडानमा बढेको भाडादर र लागि त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तारसम्बन्धी निर्माणकार्य सम्पन्न नभएसम्म त्यसको विकल्प खोजिने बताए। यस विषयमा वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिले गुनासो गरेपछि मन्त्री भण्डारीले नै पहल थालेको घिमिरेको भनाइ छ।

सरकारले इम्प्लोइमेन्ट पे मोडलमा कामदार पठाउने नीति लागू गरेको छ। जसका कारण रोजगारदाता कम्पनीले दिने टिकटमा कतिपय कामदार जान नपाएको संघले जनाएको छ। इम्प्लोइमेन्ट पे मोडलको भिसा आएका कामदार पनि पठाउने अवस्था नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए।

दैनिक दुई हजारभन्दा बढी नेपाली त्रिभुवन विमानस्थल हुँदै दैनिक ८४ देश उड्ने गरेको उनले बताए। ‘अहिले भाडा बढेका कारण नयाँ टिकट लिन म्यानपावर व्यवसायी डराएका छन्। तर सरकारले यस विषयमा चासो दिएको छैन। सरकारले तत्काल समाधान खोज्नुपर्छ’, उनले भने।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछाने त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी निर्माण सम्पन्न नभएसम्म लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने विषयमा छलफल भइरहेको बताउँछन्।

अन्तर्राष्ट्रिय उडानको अत्यधिक भाडा बढेको विषयमा पनि सम्बन्धित पक्षसँग छलफल भइरहेको उनले बताए। ‘हाल देखिएको समस्या समाधान गर्ने उच्चस्तरीय छलफल भइरहेको छ। लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र भाडादर घटाउन पहल भइरहेको छ’, उनले भने।

प्रकाशित: २३ कार्तिक २०८१ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast