कोशीमा दुई मन्त्रालय सम्हालिरहेका भूपेन्द्रलाई प्रवक्ताको पनि जिम्मेवारी

विवेक विवश रेग्मी २१ कार्तिक २०८१ २०:२८
38
SHARES
कोशीमा दुई मन्त्रालय सम्हालिरहेका भूपेन्द्रलाई प्रवक्ताको पनि जिम्मेवारी कोशी सरकारका भौतिक पूर्वाधार तथा विकास र स्वास्थ्यमन्त्री एवम् प्रवक्ता भूपेन्द्र राई

इटहरी– कोशी प्रदेश सरकारमा दुई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका भूपेन्द्र राईलाई प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ। बुधबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। उनी भौतिक पूर्वाधार तथा विकास र स्वास्थ्यमन्त्री हुन्।

कोशी प्रदेशका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएपछि आफूले प्रवक्ताको जिम्मेवारी पाएको राईले बताए।

उनले भने, ‘आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजीनामा दिएपछि उहाँले सम्हाल्दै आउनुभएको प्रवक्ताको जिम्मेवारी मलाई तोकिएको छ।’ कोशी प्रदेशमा आन्तरिक मामिला मन्त्रीलाई सरकारले प्रवक्ताको जिम्मेवारी तोक्दै आएको छ। जापान भ्रमणमा गएका मन्त्री अधिकारीले विवादमा तानिएपछि उनले बुधबार राजीनामा दिएका छन्।

बुधबार नै मन्त्रिपरिषद् बैठक बसेर राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगरी जापान गएपछि अधिकारी विवादमा तानिएका थिए। अधिकारीले राजीनामा दिएपछि राईले तीनवटा जिम्मेवारी पाएका छन्।

नेपाली कांग्रेसले राईको नेतृत्वमा कोशी प्रदेश सरकारमा सहभागी भएको थियो। यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयको मात्रै जिम्मेवारी सम्हालिरहेका उनलाई कात्तिक ८ गते मुख्यमन्त्री हिक्मत कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए। असार तेस्रो साता कांग्रेस र एमालेको समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री तथा २ राज्यमन्त्री पाउने सहमति भएको थियो।

कांग्रेसको भागमा परेको ४ मध्ये २ मन्त्रालयमा डा. शेखर कोइराला समूहले दाबी गर्दै आएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन तयार भएपछि शेखर समूहले असन्तुष्ट हुँदै नाम पठाएको थिएन। पछिल्लोपटक कोशीमा गत भदौ २८ गते मन्त्रिपरिषद् विस्तार भएको थियो। कांग्रेसभित्र कोइराला समूहले मन्त्रीको नाम डेढ महिनासम्म नपठाएपछि मुख्यमन्त्री कार्कीले राईलाई नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए।

बुधबारको मन्त्रिपरिषद् बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिए।

त्यस्तै खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धिको पक्ष राष्ट्रहरूको बैठक (कोप २९) मा पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने निर्णय भएको उनले बताए।

मन्त्रिपरिषद्ले १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८१ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast