पुस्तक चर्चा

मिथिला मिथक : मैथिली संस्कृतिको  विस्तृत  जानकारी

धैर्यकान्त दत्त १७ कार्तिक २०८१ ११:१४
224
SHARES
मिथिला मिथक : मैथिली संस्कृतिको  विस्तृत  जानकारी

नेपालमा सबैभन्दा बढी बोलिनेमध्ये मैथिली भाषामा सयौँ कृति प्रकाशित छन्। मैथिली साहित्यसँग सम्बद्ध कृतिहरूले पाठकमाझ छुट्टै स्थान बनाएको पाइन्छ। हालै एउटा नयाँ कृति प्रकाशित भएको छ- ‘मिथिला मिथक’। मिथिलाको धर्म, संस्कृति, सभ्यता, मान्यतालगायतका विषय समावेश गरेर प्रकाशित विह्वलको यो कृतिमा अनेकौँ जानकारी समावेश छन्। पुस्तकका लेखक हुन्- धर्मेन्द्र विह्वल। वरिष्ठ पत्रकार धर्मेन्द्र झा साहित्य लेखनमाचाहिँ धर्मेन्द्र विह्वलका रूपमा परिचित छन्।

नेपाली र मैथिली भाषामा दख्खल राख्ने विह्वलका यी दुवै भषामा दर्जन बढी साहित्यिक कृति प्रकाशित छन्। मैथिली साहित्यमा कैयौँ कृतिहरू प्रकाशित गरिसकेका उनी यसपटक फरक शैलीबाट प्रस्तुत भएका छन्। उनको पछिल्लो कृति ‘मिथिला मिथक’ मिथिलामा प्रचलित मिथक अनुसन्धानमा आधारित छ।

औपचारिक रूपमा लोकार्पण हुनुअगावै यो अनुसन्धानात्मक कृति पाठक-समीक्षकमाझ लोकप्रिय भइसकेको छ। मिथिला संस्कृति र इतिहासको दस्तावेजका रूपमा रहेको यो पुस्तक अनुसन्धानमा रुचि राख्नेहरूका लागि उपयोगी साबित हुने निश्चित छ।

मैथिली भाषामा मिथकबारे खासै अनुसन्धान हुन नसकेको बेला विह्वलको ‘मिथिला मिथक’ राजा जनकदेखि जनकपुरधाम तथा माता सीताको बाल्यकालदेखि विवाहउपरान्तबारे अनेकौँ जानकारी पाउन ज्यादै उपयोगी देखिन्छ।

कृतिमा मैथिली भाषी समाजमा किंवदन्ती र विश्वासका रूपमा रहेका मान्यताहरूलाई मिथकका रूपमा संकलन गरिएको छ।

कुल ६ वटा अध्याय रहेका यस पुस्तकमा समाजमा प्रचलित मिथकका अतिरिक्त मिथकको शास्त्रीय विवेचनासमेत प्रस्तुत गरिएको छ। हिन्दु धर्म र सनातनीहरूबीच रामायणको अत्यधिक चर्चा भएको पाइए पनि सीताको जन्म र परिवारका लागि उनले गरेको त्याग तथा योगदानबारे खासै चर्चा हुन नपाएको गुनासोलाई विह्वलले आफ्नो यो कृतिमार्फत अन्त्य गर्ने प्रयास गरेका छन्- पुस्तकको दोस्रो अध्यायमा मिथिला, सीतायण र महाभारतसम्बन्धी विवेचना गरेर।

पुस्तकको पहिलो अध्यायमा मिथिला र मिथकबारे चर्चा गरिएको छ। यस अध्यायमा मिथिलामा प्रचलित किंवदन्तीलाई विह्वलले मिथकका रूपमा संगृहीत गरेर पाठकमाझ पस्किने प्रयास गरेका छन्।

अध्याय तीनमा मिथिलाका विभूतिहरूको प्रस्ट ढंगबाट चर्चा गरिएको छ। यस अध्यायमा मिथिलाका लोकप्रिय चरित्र गोनु झाबारे प्रकाश पारिएको छ। यसका साथै मिथिलाका विद्वान् कालिदास, मैथिली साहित्यका कवि कोकिल विद्यापतिको वीरता र साहससमेत वर्णन गरिएको छ।

अध्याय तीनमै शंकराचार्य र भारतीबीचको शास्त्रार्थ, अयाचीक पुत्र शंकर, दिना र भद्री, सहलेसको जीवनीसमेत उल्लेख गरिएको छ।

समाज आधुनिकतातर्फ अगाडि बढिरहे पनि मिथिला क्षेत्रमा अझै तन्त्रमन्त्रमा विश्वास राख्नेहरू ज्यादा पाइन्छन्। पौराणिककालदेखि चल्दै आएको यो विधाको प्रभाव मिथिला समाजमा हालसम्म विद्यमान छ। त्यस्तै मिथिला संस्कतिलाई विभिन्नखाले पर्वतिहारहरूले पनि समृद्ध बनाएको छ। प्रायः हरेक महिना कुनै न कुनै पर्व मनाइने मिथिलाको परम्परालाई पुस्तकको चौथो अध्यायमा ‘पावनि तिहार’ शीर्षकमा समेटिएको छ।

यस अध्यायमा तान्त्रिक विधिको झिझिया, होलिका दहन, सामा-चकेवा, छठको प्रारम्भ, नागपञ्चमी, मधुश्रावणी, जितिया, जुडशीतल र चौठचन्द्रबारे विह्वलले जानकारी दिएका छन्।

विह्वलले पुस्तकको अध्याय पाँचमा मिथिलाका मन्दिर, देवदेवी र पोखरीबारे चर्चा गरेका छन्। उनका अनुसार मिथिलामा दुईखाले पोखरीहरू पाइन्छ- पहिलो मानव निर्मित र दोस्रो अध्यात्मिक महत्त्वका पारम्परिक। लेखकले मानव निर्मित र दैवी शक्तिद्वारा निर्माण गरिएका पोखरीहरूको फरक छुट्याउँदैै मिथिलाका पारम्परिक पोखरीहरूको चर्चा पुस्तकमा गरेका छन्।

अध्याय पाँचमा उनले जनकपुरधाममा मात्रै दैवी शक्तिले निर्माण भएका पोखरीको संख्या ५४ रहेको उल्लेख गरेका छन्। तीमध्ये अधिकांश पोखरीहरू राम-जानकीको विवाहसँग जोडिएका उनले चर्चा गरेका छन्।

दैवी शक्तिबाट निर्माण भएका गंगा सागर, परशुराम सर, मृतखनी, जलेश्वरनाथ, वरुण सर, शुकदेव सुरलगायतका पोखरीहरू यो अध्यायमा समेटिएका छन्।

त्यस्तै महोत्तरी जिल्लाको पडौलस्थानस्थित कारिक स्थान, सोनामाईको भूतप्रेत मेला, संसारीमाईजस्ता धार्मिक स्थानका साथै मिथिला क्षेत्रको महत्वपूर्ण लोक नृत्य जट-जटिनबारे यो अध्यायमा प्रस्ट्याइएको छ।

पुस्तकको अन्तिम तथा छैटौँ अध्यायमा मिथिलाका प्रचलित जनश्रुति र जनविश्वासबारे चर्चा गरिएको छ। यो अध्यायमा ‘कोइलीक बच्चा’, ‘रातिमे आङनमे पानि’, ‘धानक मोडि’ लगायतका मिथिलाका जनविश्वासबारे लेखक विह्वलले चर्चा गरेका छन्।

एक सय ११ वटा मिथक संकलित यो पुस्तक मिथिलाबारे जानकारी प्राप्त गर्न धेरै उपयोगी देखिन्छ।

लेखक विह्वलले यो पुस्तक भविष्यमा मिथिलाबारे अनुसन्धान गर्नेहरूका लागि उपयोगी हुने विश्वास लिएका छन्। अध्ययनको प्रारम्भमात्रै रहेको बताएका उनले मिथिला क्षेत्रमा रहेका जनविश्वासबारे अझै अनुसन्धान गर्न जरुरी रहेको उल्लेख गरे।

पुस्तकको भूमिकामा त्रिविमा नेपाली विषयका उपप्राध्यापक राजेशकुमार यादवले मैैथिली भाषामा लेखिएको यो कृति पहिलो रहेको उल्लेख गरेका छन्। यो कृति मैथिली सभ्यता र संस्कृति हिन्दू सभ्यता एवं संस्कृतिको अभिन्न अंग रहेको उनको भनाइ छ।

त्यस्तै मैथिलीका प्रसिद्ध विद्वान डा.रमानन्द झा रमण सांस्कृतिक रूपमा सम्पन्न मिथिलाबारे यो पुुस्तक ज्ञान प्रसार गर्न सहयोगी हुने विश्वास लिएका छन्।
मुन्नीकुमारी मिश्रले प्रकाशित गरेको पुस्तकमा मिथिला क्षेत्रका लोकप्रिय मठ मन्दिर, धर्म संस्कृतिलगायतका तस्बिरहरू समेटिनुका साथै आवरणमा भिझिया नृत्यलाई उतारिएको छ।

प्रकाशित: १७ कार्तिक २०८१ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − sixteen =