रुस मामिलामा भारतविरुद्ध थप कठोर बन्दै अमेरिका

हिमाल प्रेस १७ कार्तिक २०८१ ९:४१
48
SHARES
रुस मामिलामा भारतविरुद्ध थप कठोर बन्दै अमेरिका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन।

काठमाडौँ-  रूसलाई सघाएको आरोपमा अमेरिकाले विश्वका विभिन्न देशका ३९८ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ, जसमा भारतका १९ कम्पनी समावेश छन्। अमेरिकी प्रतिबन्धमा दुई भारतीय नागरिक पनि परेका छन्।

फेब्रुअरी २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछि अमेरिका र उसका सहयोगीहरूले रुसमाथि हजारौँ प्रतिबन्ध लगाएका थिए। यस्ता प्रतिबन्ध मुख्यतः रक्षा, अर्थ र प्रविधिजस्ता क्षेत्रहरूमा केन्द्रित छन्।

अहिले आएर रुससँग व्यापार गरिरहेका कम्पनीमाथि यस्तो कारबाही गरिएको हो। नयाँ प्रतिबन्ध अमेरिकी अर्थ र परराष्ट्र मन्त्रालयहरूको एक व्यापक रणनीतिको हिस्सा हो, जसको उद्देश्य रुसको सैन्य उपकरण आपूर्ति शृंखला तोड्नु रहेको बताइएको छ।

भारतविरुद्ध अमेरिकी कदम शिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नुको हत्या प्रयासमा भारतीय नागरिकको संलग्नता आरोपका कारण बढेको तनावबीच आएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकाले भारतीय कम्पनीमाथि लगाएको प्रतिबन्ध पहिलोपटक भने होइन; नोभेम्बर २०२३ मा पनि एक भारतीय कम्पनीमाथि रूसी सेनालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाइएको थियो।

अमेरिकाले प्रतिबन्ध लगाएका दुई भारतीय नागरिकमा विवेककुमार मिश्रा र सुधीर कुमार छन्। उनीहरू एसेन्ड एभिएसनका सहनिर्देशक एवम् लगानीकर्ता हुन्। एसेन्ड एभिएसन इन्डिया प्रालिको वेबसाइटका जनाइएअनुसार नयाँदिल्लीमा रहेको यो कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा विमान उद्योगका स्पेयर पार्टसका साथसाथै लुब्रिकेन्ट आपूर्ति गर्दै आएको छ।

युक्रेनसँग युद्ध गर्न थालेयता अमेरिका, बेलायत, युरोपेली युनियन, अस्ट्रेलिया, क्यानडा, जापानसहितका देशले रूसमाथि १६ हजार ५०० भन्दा बढी प्रतिबन्ध लगाएका छन्।

अहिले प्रतिबन्ध लगाइएकामा भारतसहित यूएई, टर्की, थाइल्यान्ड, मलेसिया, स्विजरल्यान्ड र चीनसहित दर्जनभन्दा बढी देशका कम्पनी छन्। नयाँ प्रतिबन्धमा भारतलाई निशाना बनाउनुको कारण हो ती कम्पनीहरूमाथि रुसलाई उच्च प्राथमिकता भएका सामान आपूर्ति गरेको आरोप। यी कम्पनीहरूले युक्रेन युद्धमा रूसलाई प्रयोग हुने सामानहरू, जस्तै माइक्रो इलेक्ट्रोनिक्स र कम्प्युटर न्युमेरिकल कन्ट्रोल (सीएनसी) सामग्री उपलब्ध गराइरहेको अमेरिकी दाबी छ।

भारतीय कम्पनीमाथि लगाइएको प्रतिबन्धलाई अमेरिकाको हालसम्मको सबैभन्दा ठूलो प्रयास मानिएको छ किनभने पछिल्ला दुई वर्षमा भारतले रुससँग व्यापारिक सम्बन्ध निकै सुदृढ बनाएको छ।

अमेरिकाले निशाना बनाएको एउटा कम्पनी हो भारतस्थित फ्युटरेभो कम्पनी। त्यसले रुसको ओरलान ड्रोन निर्माता कम्पनीलाई उच्च प्राथमिकता प्राप्त सामग्री आपूर्ति गरेको अमेरिकी आरोप छ।

अर्को भारतीय कम्पनी श्रेया लाइफ साइन्सेज प्राइभेट लिमिटेडमाथि सन् २०२३ देखि रुसलाई अमेरिकी ट्रेडमार्क भएका प्रविधिका करोडौँ डलरका सामग्री पठाएको आरोप छ।

एएफपीसँगको कुराकानीमा एक वरिष्ठ अमेरिकी अधिकारीले भारतका यी गतिविधिप्रति चासो बढिरहेको बताए। नाम नबताउने सर्तमा ती अधिकारीले भने, ‘भारतसँग हामीले यसबारे धेरै स्पष्ट र प्रत्यक्ष कुराकानी गरेका छौँ। उनीहरू अझ अगाडि बढ्नुपहिले हामीले रोक्न सकौँ भन्ने चाहना छ।’ अमेरिकाले गत वर्ष रुससँग व्यापार गरेका केही भारतीय कम्पनीहरूको भुक्तानी रोकेको थियो।

यी प्रतिबन्धहरू रुसका अत्याधुनिक प्रविधि र उच्च प्राथमिकता प्राप्त सामग्री आपूर्ति रोक्ने एक व्यापक अमेरिकी रणनीतिको हिस्सा हुन्, जसको आवश्यकता रुसलाई युक्रेनमा आफ्नो युद्ध जारी राख्नका लागि पर्छ।

गत बुधबार अमेरिकी अर्थ मन्त्रालयले २७४ संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगायो भने परराष्ट्र मन्त्रालयले १२० भन्दा बढी कम्पनी र व्यक्तिहरूको सूची जारी गरेको थियो। अमेरिकी वाणिज्य विभागले पनि रुसी सेनाको समर्थनमा संलग्न ४० कम्पनी र अनुसन्धान संस्थाहरूलाई व्यापार प्रतिबन्ध सूचीमा समावेश गरेको छ।

अमेरिकी परराष्ट्र मन्त्रालयका ती अधिकारीले एएफपीसँग भने, ‘यो कदम ती देशहरूको सरकार र निजी क्षेत्रका लागि गम्भीर सन्देश हो। अमेरिकी सरकार प्रतिबन्धहरूले रुसमाथि दबाब कायम राख्नेछ र उसले युक्रेनविरुद्धको आफ्नो युद्ध अन्त्य गरोस् भन्ने हाम्रो चाहना हो।’

अमेरिकी उप अर्थमन्त्री वाली अडेयेमोले अमेरिकाको प्रतिबद्धता दोहोर्‍याउँदै भने, ‘अमेरिका र हाम्रा सहयोगीले निर्णायक कदम जारी राख्नेछन्। रुसलाई ती महत्त्वपूर्ण उपकरण र प्रविधिको आपूर्ति रोक्न सकियोस्। किनभने रुसलाई युक्रेनविरुद्धको आफ्नो अवैध र अनैतिक युद्धका लागि ती मुलुक र कम्पनीको सहयोग आवश्यक छ।’

चीनको भूमिकामा पनि चासो

अमेरिकाले यी नयाँ प्रतिबन्धमा चीन पनि निशानामा छ। अमेरिकी अधिकारीहरूका अनुसार रुसले प्राप्त गर्ने ७० प्रतिशत उच्च प्राथमिकता प्राप्त सामग्री चीनबाट आपूर्ति हुन्छ। त्यो युद्धको सुरुदेखि हालसम्म झण्डै २२ अर्ब डलर पुगिसकेको दाबी गरिएको छ। अमेरिकी परराष्ट्र मन्त्रालयका ती अधिकारीले भने, ‘चीनको भूमिका अरू कुनै पनि देशभन्दा धेरै छ।’

बुधबार निशाना बनाइएका संस्थाहरूमा हङकङ र चीनस्थित कम्पनीहरू पनि समावेश छन्। ती कम्पनीमाथि रुसलाई लाखौँ डलर मूल्यको उन्नत प्रविधि सामग्री आपूर्ति गरेको आरोप छ। यस्ता सामग्री उन्नत हतियार उत्पादनमा प्रयोग भइरहेको अमेरिकी दाबी छ।

अमेरिकाले रुसका अन्य महत्त्वपूर्ण क्षेत्रहरूलाई पनि निशाना बनाएको छ, तिनमा उसको अर्थतन्त्र र सैन्य क्षमतासँग सम्बन्धित क्षेत्ररू पर्छन्। रुसको आर्कटिक एलएनजी २ परियोजनालाई समर्थन गर्ने धेरै संस्थानहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ। यो परियोजना रुसका सबैभन्दा ठूला एलएनजी संयन्त्रहरूमध्ये एक बन्ने थियो। अमेरिकी र युरोपेली प्रतिबन्धले यसलाई गम्भीर रूपमा प्रभावित पारेका छन्।

प्रतिबन्ध थपिँदै गर्दा अमेरिकामाथि प्रश्न उठेको छ, यी प्रतिबन्धहरूले रुसलाई रोक्न प्रभावकारी छन्? रुसी अर्थतन्त्रले अहिलेसम्म लचिलोपन देखाएको छ। विशेषगरी अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको बिक्रीलाई निरन्तरता दिँदै उसले आर्थिक क्षतिलाई केही हदसम्म कम गरेको छ। तर पनि अमेरिकी अधिकारीहरूले विश्वास गर्छन् कि समयसँगै यी प्रतिबन्धहरूले रुसको सैन्य क्षमतालाई कमजोर बनाउने महत्त्वपूर्ण भूमिका खेल्नेछन्।

प्रकाशित: १७ कार्तिक २०८१ ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast