चीनका तीन युवा अन्तरिक्ष प्रस्थान

हिमाल प्रेस १५ कार्तिक २०८१ १३:४१
18
SHARES
चीनका तीन युवा अन्तरिक्ष प्रस्थान चिनियाँ अन्तरिक्ष यात्रीहरू काई सुजे (दायाँ), सोङ लिङडोङ (बीचमा) र वाङ हाओजे (बायाँ)। तस्बिर : सिन्हवा/रासस

काठमाडौँ-  चीनले आफ्नो अन्तरिक्ष केन्द्रमा तीन सदस्यीय टोली पठाएको छ। यसलाई अहिलेसम्मकै सबैभन्दा युवा दल मानिएको छ। अक्टोबर ३० को बिहान यी तीनजनालाई लिएर चिनियाँ रकेट अन्तरिक्ष प्रस्थान गरेको हो।

चीनले आफ्नो तीन सदस्यीय दललाई अन्तरिक्ष केन्द्रमा पठाएपछि यसलाई पूर्ण रूपमा सफल घोषणा गरेको छ। चिनियाँ अधिकारीहरूका अनुसार अभियान चीनको अन्तरिक्ष अनुसन्धानलाई चन्द्रमा र त्यसभन्दा पर पुर्‍याउने प्रयासको हिस्सा हो।

सेन्जो–१९ नामक अन्तरिक्षयान उत्तर–पश्चिम चीनको सिउचान स्याटेलाइट लन्च सेन्टरबाट स्थानीय समयअनुसार बिहान ४:२७ बजे लङ मार्च-२एफ रकेटका साथ प्रक्षेपण गरिएको थियो। यो रकेट चीनका अन्तरिक्ष मिसनको आधार हो।

चीनको सरकार नियन्त्रित टेलिभिजन चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले भनेको छ, ‘तीनैजना अन्तरिक्ष यात्रीको अवस्था राम्रो छ र प्रक्षेपण सफल भएको छ।’

चीनले आफ्नो अन्तरिक्ष केन्द्र बनाएका कारण उसलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट अलग गरिएको थियो। चीनको अन्तरिक्ष कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको सेना र जनमुक्ति सेनाको नियन्त्रण रहेको चिन्ता अमेरिकाको रहँदै आएको छ। चीनको चन्द्र कार्यक्रम अमेरिका, जापान, भारतजस्ता अन्य देशहरूसँग बढ्दो प्रतिस्पर्धाको एक अंश हो।

सबैभन्दा युवा अन्तरिक्ष यात्री

दुई पुरुष र एक महिला सदस्य रहेको चिनियाँ अन्तरिक्ष यात्रीले विगत ६ महिना तियांगोङ अन्तरिक्ष केन्द्रमा बसिरहेका अन्तरिक्ष यात्रीलाई प्रतिस्थापन गर्नेछ। नयाँ दल आगामी वर्षको अप्रिल वा मेसम्म रहनेछ।

नयाँ अभियानका कमान्डर काई सुजे हुन्। उनले २०२२ मा सेनझोउ-१४ मिसनअन्तर्गत अन्तरिक्ष यात्रा गरिसकेका छन्। अन्य दुई सोङ लिङडोङ र वाङ हाओजे भने पहिलो पटक अन्तरिक्ष यात्रामा लागेका छन्। यी दुवै १९९० को दशकमा जन्मिएका हुन्। सोङ वायुसेनाका पाइलट हुन् भने वाङ चीन एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनकी इन्जिनियर हुन्।

चीनले अन्तरिक्षमा स्टेसन स्थापना गर्नुका साथै मंगल ग्रहमा पनि खोजी अभियान पठाएको छ। उसको लक्ष्य सन् २०३० भन्दा अगाडि चन्द्रमामा मानिसलाई पठाउनु हो। यदि त्यसो भयो भने अमेरिकापछि यस्तो गर्ने चीन दोस्रो देश बन्नेछ। चीनले चन्द्रमामा एउटा अनुसन्धान केन्द्र बनाउने योजना बनाएको छ। चन्द्रमाको टाढाको भागबाट चट्टान र माटोका नमुना संकलन गरेर विश्वव्यापी उपलब्धि हासिल गरिसकेको छ।

अमेरिका अझै पनि अन्तरिक्ष अनुसन्धानमा सबैभन्दा अगाडि छ। ५० वर्षभन्दा बढी समयपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन तयारी गरिरहेको छ। यद्यपि यसका लागि तोकिएको मिति यसै वर्षको सुरुवातमा २०२६ सम्म बढाइएको थियो। भारत पनि यस दिशामा अगाडि बढिरहेको छ।

चीनले सन् २००३ मा आफ्नो पहिलो मानवयुक्त मिसन प्रक्षेपण गरेको थियो। पूर्व सोभियत संघ र अमेरिकापछि चीन अन्तरिक्षमा पठाउने तेस्रो देश हो। चीनको अन्तरिक्ष कार्यक्रम राष्ट्रिय गर्वको ठूलो स्रोत बनेको छ र पछिल्ला दुई दशकमा चीनको प्राविधिक प्रगतिको प्रतीक बनेको छ। एएफपी

प्रकाशित: १५ कार्तिक २०८१ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =