अर्थशास्त्री एवं कूटनीतिज्ञ मोहनमान सैंजूको निधन

हिमाल प्रेस १५ कार्तिक २०८१ ६:४८
56
SHARES
अर्थशास्त्री एवं कूटनीतिज्ञ मोहनमान सैंजूको निधन मोहनमान सैंजू। फाइल तस्बिर

काठमाडौँ– अर्थशास्त्री एवं कूटनीतिज्ञ डा. मोहनमान सैंजूको मंगलबार निधन भएको छ। ८४ वर्षीय सैंजूको सानेपास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी केही समययता पक्षघातबाट पीडित थिए।

सन् १९४१ मा पाल्पामा जन्मिएका सैंजूले प्रारम्भिक शिक्षा बुद्धिस्ट गुम्बामा लिएका थिए भने पछि उनी एकैपटक चार कक्षामा जनता विद्यालय हाइस्कुलमा औपचारिक अध्ययन थालेका थिए। सुरूकै वर्षमा नै पाँच नपढी ६ कक्षामा पुगे। त्यहाँ अध्ययन गर्दै उनले आठ पास गरे त्यसपछि उनलाई भारतको उत्तर प्रदेशमा अध्ययन गर्न परिवारले पठायो। त्यहाँबाट १० पास गरेपछि उनी पाल्पा फर्किए। आफ्ना उमेर समूहको साथीहरू मुस्किलले बनाएर पाल्पामा बालसखा मण्डल नै चलाए।

सानोमा पढ्न नपाएकालाई पढाउने, कुलतमा लागेकालाई सुधार्ने, आवश्यक परे प्रहरीमा उजुरी गरेर तह लगाउने, विद्यालयमा अध्ययन गरेकालाई मासमा बोल्न लगाउने, नयाँ कार्यहरू गर्न दिने जस्ता कार्य पनि उनले गरेका थिए। जसका कारण सानै उमेरमा उनीसँग लक्ष्मीप्रसाद देवकोटा, खडजित सिंह जस्तासँग भेट भयो।

उच्चशिक्षाका लागि काठमाडौँ आउनु भनेको पाल्पाबाट काठमाडौँमा ढुंगा हान्नुजस्तो भएको थियो उनलाई। त्यसबेलाको बाटो सम्झेर उनी काठमाडौँ आएनन्। त्यसपछि उनी उच्चशिक्षाका लागि बनारस हिन्दु विश्वविद्यालयमा गए। त्यहाँ उनले स्नातक गरे। उनी उक्त विश्वविद्यालयका तेजावी छात्र थिए। अनि उनलाई लाग्यो भारत मात्र बुझेर भएन अब नेपाल जानुपर्छ। उनी काठमाडौँ आए। अनि कोलम्बो प्लानअन्तर्गत अर्थशास्त्रमा स्नाकोत्तर गर्न थाले। उनले मास्टर सकेर पीएचडीको तयारीमा रहँदा डा. भेषबहादुर थापाले उनलाई सरकारी जागिरमा जोड गराए।

त्यसपछि उनी भूमिसुधारको काममा लागे। जसले गर्दा उनी भूमिसुधारको पहिलो निर्देशक बने। सैंजू एक्टिङ सचिवसमेत भए। त्यसपछि उनीमाथि एलिटहरूको आँखा पर्यो। उनले अघि बढाएको भूमिसुधारको कुरा मन नपरेकासँग सिँगौरी नखेली उनी फेरि अध्ययनका लागि अमेरिका गए। पुनः अध्ययन गर्न उनी फुलब्राइटमा अमेरिका गए। त्यहाँबाट पाँच वर्षमा मास्टर्स सके भने पीएचडीका लागि केही तयारी पनि पूरा गरे। केही  रिसर्च समेत लिएर आएका थिए। उनले कोलम्बो प्लान अन्तरगत अर्थशास्त्रमा मास्टर गर्दै गर्दा कानुनमा स्नातक पनि गरेका थिए।

सैंजू गर्वका साथ भन्थे, कानुनको अध्ययनले मलाई सहज बनाएको छ। उनले भारत र अमेरिकामा अध्ययन गरेकी माधुरीलाई धर्मपत्नीका रूपमा भित्र्याए। उनका एक छोरा र एक छोरी छन्। छोरीले अमेरिकामा अध्ययन गरिन् भने छोरा अध्ययनपछि फर्केर नेपालमै काम गरिरहेका छन्। सैंजू पछिल्लो समयमा डा. भेषबहादुर थापा संस्थापक अध्यक्ष भएर खोलेको आईआईडीएसमा सक्रियता पूर्वका अध्यक्षका रूपमा थिए।

मोहनमान सैंजूको विवाहको तस्बिर। स्रोत : सैंजूको परिवार

उनको नाममा एक सेमिनार हल आईआईडीएसमा छ। मोहनमान सैंजू हल मन्डिखटारस्थित केन्द्रमा छ। उनी सानैदेखि समूह बनाएर समाजमा केही गर्नुपर्छ भन्ने सोचाइ राख्थे। जीवनको अन्त्यसम्म उनले समूहमा काम गरे। अध्ययन गर्ने र नयाँ कुरा सोध्नेलाई असाध्यै मन पराउँथे सैँजू।

सैंजू २०४६ सालअघि तीन वर्ष अमेरिकाका राजदूत भएका थिए। उनी अमेरिकामा राजदूत रहँदा ३५ राज्य घुमेर त्यहाँको अर्थतन्त्र र नेपालका लागि हुन सक्ने उपयोगिताबारे सरकार र तत्कालीन परराष्ट्र मन्त्रालयलाई जानकारी दिएका थिए। उनी अध्ययन गर्ने र त्यसलाई नेपालसँग जोड्ने गर्थे। जुन उनको पथ विरलै राजदूतले पछ्याए।

अमेरिकाका लागि तत्कालीन राजदूत विश्व प्रधान एउटा किताब चोरीमा विवादित भएर फिर्ता बोलाइएपछिको असामान्य अवस्थामा नयाँ राजदूतमा डा. सैंजू नियुक्त भएका थिए। सन् १९८८ मा डा. सैंजू राजदूत भएर अमेरिका जाँदा त्यहाँ खस्किएको नेपाली गरिमा बढाउनुपर्ने उनको पहिलो जिम्मेवारी थियो। उनी अमेरिकामा रहँदा  भारतीय नाकाबन्दी नेपालमा थियो त्यतिबेला राजदूतका रूपमा भारतलाई दबाव दिन उनले अमेरिकामा खेलेको भूमिका प्रशंसनीय छ।

डा. सैंजूले सन् १९८८ सेप्टेम्बर १९ मा अमेरिकाका तत्कालीन लोकप्रिय राष्ट्रपति रोनाल्ड रेगनसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका थिए। २०४६ सालको राजनीतिक आन्दोलन सफल भएपछि उक्त आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहले त्यतिबेला प्रायः असम्भव ठानिएको अमेरिकी राष्ट्रपतिसंगको भेट राजदूतका रुपमा सहजीकरण गरि उनले सम्भव बनाइदिएका थिए। त्यतिबेला नेपालको कुनै कार्यकारी भूमिकामा नरहेका गणेशमान सिंहले ओभल अफिसमा अमेरिकी राष्ट्रपति जर्ज बुससँग भेट गरेका थिए।

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४७ सालको संविधान र त्यसपछिको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ प्रजातान्त्रिक सरकार गठन भयो। त्यसअघि नै उनले आफूलाई राजदूत नियुक्त गर्दाको राजनीतिक व्यवस्था र सरकार दुवै नरहेपछि सैंजू नयाँ व्यवस्था र नयाँ सरकारसमक्ष आफूले नैतिकताका आधारमा काम गर्न नक्सने भन्दै राजदूतबाट राजीनामा दिएर नेपाल फर्किएका थिए। त्यतिबेला पुरानो व्यस्थाबाट राजदूतमा नियुक्त भएकोमा नयाँ व्यवस्थासामु नैतिकताका आधारमा राजीनामा गर्ने उनी एक्ला थिए व्यक्ति थिए।

अहिले त फर्क भन्दा पनि केही हुन्छ कि भनेर बस्नेहरु छन्। तर उनले राजदूत भनेकाे नयाँ सरकारसँग मिलेर काम गर्ने विश्वास पात्र हाे, सरकार फरिएपछि फर्कनु पर्छ। उनको राजीनामापछि बहुदलीय सरकारले योगप्रसाद उपाध्यायलाई नयाँ राजदूत नियुक्त गरेको थियो। डा. सैंजूले भूमिसुधार निर्देशक, राष्ट्रिय योजना आयोगको पहिले सदस्य र पछि उपाध्यक्ष, गरिबी निवारण कोषको उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षका साथै राजदूतलगायत अन्य धेरै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए।

सैंजू निरन्तर कलम चलाउने विद्वान्‌मध्येका थिए। सैंजू अर्थशास्त्र, वातावारण, कूटनीतिमा लगातार कलम चलाउथे। उनले नेपालका प्रायः सबै दैनिकमा लेखेका छन् भने सबै जसो टेलिभिजनमा बोलेका पनि छन्। सैंजूको पहलमा वातावरण पत्रकार समूह संस्था बनेको हो। समूहको उद्घाटन उनले नै २०४३ जेठमा गरेका हुन्। जानेको विषय उनले टेलिफोनमा पनि भन्थे। उनले बोलेको विषय छापिएपछि त्यसमा थप कुराकानी गर्न बोलाउने बानी थियो। उनीसँगको भेटमा नेपालको अर्थतन्त्रलाई कसरी विकेन्द्रित गरिएको भन्ने विषय आइहाल्थ्यो। उनी भन्थे, ‘जान्नेका कुरा सुन्दैनन् आफू पनि जान्दैनन्।’

पत्नीका साथ मोहनमान सैंजू।

सैंजू आफैँ पनि राम्रो लेख्न सक्ने भएकाले होला कतिपय वाक्य यसरी लेख्नुभएको भए राम्रो हुने भन्दै पत्रकारलाई नै लोभलाग्दो शैलीमा सुझाउँथे। अधिक अध्ययन गरेकै कारण सबै क्षेत्रको बारेमा लामो व्याख्यान दिन सक्ने क्षमता भएका व्यक्तित्व हुन् उनी। सैँजू भन्थे, ‘म करिअर कूटनीतिज्ञ होइन तर मैले गरेको नेगोसिएसनहरू पनि उनीहरूको भन्दा नराम्रो थिएन होला तर करिअर कूटनीतिज्ञमा बढी कन्फिडेन्ट हुन्छ हामीमा कम।’ यद्यपि नेपालमा पछिल्लो समय त्यस्तो करिअर कूटनीतिज्ञ अभाव रहेको उनको बुझाइ थियो।

उनी भन्थे, जागिर खाँदैमा करिअर हुँदैन त्यसमा केही ज्ञान हासिल गरेर मात्र विज्ञ बन्न सकिन्छ। अग्रज पत्रकार ध्रुवहरि अधिकारीका अनुसार डा. सैंजूसँग कुनै विषय बुझ्न पर्दा उहाँले  सबै भनिदिने र पत्रकारमार्फत कतिपय कुरा परीक्षण गराउन सिपालु र शालीन व्यक्तित्व हुन्। राष्ट्रहितका कतिपय विषय उनी अखबार मार्फत प्रयोगमा पनि ल्याउँथे र जाँच गर्थे। अनि सबैको कुरा सुनेर निष्कर्ष निकाल्थे। उनको यो शैली असाध्दै मन पराउने अधिकारीले भने, ‘पत्रकारले बुझेर जिज्ञासा राख्दा सबै कुरा भन्न मन लाग्छ। र नबुझेका तर बुझ्न खोज्नेलाई सिकाउन पनि मन लाग्ने कुरा उहाँले सुनाउनु हुन्थ्यो। उहाँको निधन मुलुकको लागि नै ठूलो क्षति हो । राज्यले उहाँको बारेमा सोच्न आवश्यक छ।’

सैंजूले डा. भेषबहादुर थापा, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा, मधुकरशमशेर, बद्रीप्रसाद श्रेष्ठ, नरेन्द्रविक्रम शाहलगातयसँग नजिक रहेर काम गरेका थिए। उनी पत्रकारसँग पनि उत्तिकै नजिक रहन्थे। उनको निधनबाट मुलुकले एकजना मिहेनती र राष्ट्र निर्माणमा साँच्चै योगदान गरेका व्यक्ति गुमाएको छ। विद्वानको खडेरी लागेर टापटिपेहरू नै विद्वान देखिएको वर्तमान अवस्थामा मुलुकले एक हाेनाहार  व्यक्ति गुमाएको छ।

प्रकाशित: १५ कार्तिक २०८१ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast