गाउँमा पर्यटकलाई प्रतिबन्ध

हिमाल प्रेस १४ कार्तिक २०८१ १३:२८
4
SHARES
गाउँमा पर्यटकलाई प्रतिबन्ध बुकचोन हानुक गाउँमा पर्यटकको भीड। तस्बिर साभार : रोयटर्स

काठमाडौँ- शान्तिसुरक्षा खलबलिएपछि मानिसहरूको जमघट कम गर्न निषेध आदेश (कर्फ्यु) लगाउने चलन नयाँ होइन। जुलुस र आन्दोलन दबाउन लगाइने कर्फ्यु कहिलेकाहीँ पर्यटक नियन्त्रण गर्न पनि लगाइँदो रहेछ। दक्षिण कोरियाको एउटा गाउँमा यस्तै निर्णय गरेको समाचार प्राप्त भएको छ। त्यो गाउँमा व्यापक मात्रामा पर्यटक वृद्धि भएपछि कर्फ्यु लगाउने निर्णय गरिएको हो।

कर्फ्युको समयमा कुनै पर्यटक गाउँमा प्रवेश गरेमा उनीहरूलाई जरिबाना गरिनेछ। राजधानी सोल नजिक रहेको बुकचोन हानुक गाउँमा पर्यटकको भीड कम गर्न यस्तो व्यवस्था गरिएको रोयटर्सको समाचारमा उल्लेख छ।

यसको परीक्षण नोभेम्बरदेखि हुने र मार्चदेखि पूर्ण कार्यान्वयनमा आउने समाचारमा जनाइएको छ। कर्फ्यु घोषणा भएपछि साँझ ५ बजेदेखि १० बजेसम्म गाउँमा पर्यटक प्रवेशमा प्रतिबन्ध लगाइनेछ। नियम उल्लंघन गर्ने पर्यटकलाई एक लाख कोरियन वन जरिबाना गरिनेछ। कोलाहल, प्रदूषण, सार्वजनिक ठाउँमा दिसापिसाब गर्ने क्रम नियन्त्रण गर्न र पर्यटकहरूले स्थानीय बासिन्दाको गोपनीयता भंग गर्न थालेपछि यस्तो नीति अवलम्बन गरिएको हो।

पर्यटक तीव्र रूपमा बढेका कारण पछिल्लो १० वर्षमा स्थानीय जनसंख्या २७.६ प्रतिशतले घटनेको छ। यतिबेला बुकचोन गाउँमा करिब ६१०० बासिन्दा छन्। कतिपय स्थानीय बासिन्दा त पर्यटकले दुःख दिएपछि गाउँ छाडेर अन्यत्र गएका छन्।

बुकचोनमा होम स्टेको संख्या पनि अत्यधिक बडेको छ। सन् २०१० मा १० वटा होमस्टे रहेकोमा अहिले ११६ वटा पुगेको छ। बुकचोन एक परम्परागत आवासीय गाउँ हो। टीभी कार्यक्रमबाट प्रचार भएपछि गाउँ पर्यटकीय स्थलका रूपमा विकास हुन थालेको हो। पछिल्लो साता वर्षका करिब ६० लाख पर्यटकले उक्त गाउँ भ्रमण गरेका छन्।

पर्यटक आगमन तीव्र हुन थालेपछि ठूला होटल बनेका छन्। यसबाट स्थानीय बासिन्दा रुष्ट भएका छन्। आफूहरूको रोजगारी गुम्ने भन्दै उनीहरू चिन्तित भएका छन्। हानुक स्टे प्लेटफर्म बटर डान्ट लीका सीईओ डोङ ऊ भने आफूले स्थानीयको सहयोगका लागि व्यवसाय  सुरु गरेको बताउँछन्।

स्थानीय बासिन्दालाई विस्थापित गर्ने आफ्नो उद्देश्य नरहेको उनले बताए। गाउँमा कर्फ्यु लाउने निर्णयबारे पर्यटकहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन्। कसैले पर्यटकलाई जरिबाना लगाउनु गलत रहेको बताएका छन्। केही पर्यटकले भने यस्तो निर्णयले स्थानीय बासिन्दको जीवन सहज हुने बताएका छन्। हनयाङ विश्वविद्यालयका प्राध्यापक ली हुन पनि कफुर्यका पक्षमा छन्। उनले गाउँको जीवन सहज बनाउन कर्फ्युले सहयोग गर्ने बताए।

सुन्दर र संरक्षण गरिएको परम्परागत कोरियाली घरहरू, जसलाई ‘हनोक’ भनिन्छ, का लागि प्रख्यात बुकोचन हनोक गाउँ सियोलको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्यमध्ये एक हो। जहाँ दैनिक हजारौँ पर्यटकहरू पुग्छन्।

पर्यटकको संख्या स्थानीय बासिन्दाभन्दा निकै धेरै भएकाले वर्षौँदेखि त्यहाँको वातावरणमा कोलाहल, फोहोर र स्थानीयको गोपनीयतासम्बन्धी गुनासा बढिरहेका छन्। सियोलको जोंग्नो जिल्लामा अवस्थित बुक्चोन गाउँ जोङम्यो राजपरिवारको पूजास्थल, ग्यङबोकगुङ र चाङ्देकगुङ दरबारजस्ता सांस्कृतिक धरोहर नजिकै छ।

प्रकाशित: १४ कार्तिक २०८१ १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast