काठमाडौँ- नेपालीहरुको दोस्रो महान् चाड तिहार सुरु भइसकेको छ। सडक अनि घरमा सजाइएको झिलीमिली बत्तीले झनै उल्लास थपेको छ। रेडियो टेलिभिजनमा तिहार विशेष गीत घन्किन थालिसकेका छन्। बर्सेनि तिहार लक्षित थुप्रै गीत सार्वजनिक हुन्छन्। सबै गीतले अर्को वर्षदेखि खासै चर्चा पाउँदैन तर केही यस्ता गीत छन् जुन कालजयी बनेर पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएको छ।
ती गीतले अहिलेका वयस्क पुस्तालाई बालापनको तिहारको स्मरण गराउँछ। यस्ता छन् तिहारका पुराना १० गीत :
दियो बाली साँझको
लक्ष्मीपूजाको दिन बर्सेनि बज्ने गीत हो ‘दियो बाली साँझको’। यो गीतले तिहारमा माटाको पालामा बत्ती बालेर उज्यालो बनाएको घरको रौनकको स्मरण गराउँछ। जुन आज इलेक्ट्रोनिक्स किसिमका रंगीचंगी बत्तीले उक्त गीतलाई ब्युँताइरहेको छ।
गीत भारतीय गायिका आशा भोस्लेले गाएकी हुन्। कुसुम गजमेरको शब्द रहेको गीतमा रञ्जित गजमेरले संगीत भरेका छन्। यो गीत तुलसी घिमिरे निर्देशित ‘चिनो’ फिल्ममा समावेश छ।
भैलेनी आए आँगन
तिहारमा खेलिने भैलोसँग सम्बन्धित ‘भैलेनी आए आँगन’ बोलको गीत तिहारमा कालजयी बनेको छ। भैलो खेल्नेहरुले यही गीतबाट सुरु गर्छन्। यादव खरेलको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ। यो गीत पनि शम्भु प्रधान निर्देशित ‘स्वर्ग’ फिल्ममा समावेश गरिएको छ।
आहै झिलीमिली झिलीमिली (देउसी लोक नृत्य)
अर्को कालजयी बनेको छ पूर्वेली लोकभाका शैलीको तिहार गीत ‘आहै झिलीमिली झिलीमिली’। अरुण उपत्यकाले सार्वजनिक गरेको गीत नवीनकुमार खड्का र लक्ष्मी पराजुलीले संकलन गरेका छन्। गीतमा नवीनकुमार खड्का, पुस्तक खड्का, बलराम समाल, अच्युत दवाडी, एमी खड्का र भीम बस्नेतको स्वर छ।
निधारमा लर्काएर सप्तरंगी टीको
तिहारमा सदाबहार बज्ने अर्को गीत हो ‘निधारमा लर्काएर सप्तरंगी टीको’। गीतले दाजुबहिनीको प्रेम झल्काएको छ। दिनेश अधिकारीको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीत गायिका हेम लताले गाएकी छन्। यो गीत राजेन्द्र शलभले निर्देशन गरेको फिल्म ‘विजय पराजय’ समावेश छ।
हाँसेर बोल बहिनी
‘हाँसेर बोल बहिनी’ बोलको तिहार गीत पनि बर्सेनि घन्किन्छ। आनन्द कार्की, उदितनारायण झा, दीपा झा, दयाराम दाहाल र नगेन्द्र श्रेष्ठले स्वर रहेको गीतमा लक्ष्मणले संगीत भरेका छन्। रिसाएकी बहिनी फकाउँदै गरेको गीतको भिडियोमा नायिका निरुता सिंह, स्व. श्रीकृष्ण श्रेष्ठको अभियन छ। यो गीत अनिल संग्रौलाको निर्देशनमा बनेको फिल्म ‘माइती’ को हो।
अधरमा आज उनकै छ गीत
‘अधरमा आज उनकै छ गीत’ बोलको गीत पनि तिहारसँग सम्बन्धित छ। रत्नशमशेर थापाको शब्द रहेको गीतमा मनिला सोताङले गाएकी हुन्। गीतमा रञ्जित गजमेरले संगीत भरेका छन्। यो गीत पनि तुलसी घिमिरे निर्देशित फिल्म ‘अन्याय’ मा समावेश छ।
भाइटीकामा भेट्न आउँला
राजु लामाको स्वर रहेको ‘भाइटीकामा भेट्न आउँला’ तिहारमा घन्किनेमा पर्छ। गीतमा विवाह गरेर घर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा प्रस्तुत गरिएको छ। शुक गुरुङको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्।
यसपालिको तिहारै रमाइलो
सुन्दर श्रेष्ठको शब्द रहेको ‘यसपालिको तिहारै रमाइलो’ बोलको गीत पनि निकै चर्चित छ। जुन हरेक वर्ष तिहारमा घन्किन्छ। शम्भुजित बाँस्कोटाले संगीत भरेको गीत प्रमोद खरेल र अञ्जु पन्तले गाएका छन्। यो गीत आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म ‘कोहिनूर’मा समावेश छ।
झिलिमिली रातमा साथीभाइ साथमा
अक्षता अधिकारी र नवाज अन्सारीको स्वर रहेको ‘झिलिमिली रातमा साथीभाइ साथमा’ पनि दर्शकले निकै रुचाएको गीतमध्येमा पर्छ। गीत र्याप मिश्रित गीत लोक र पप जनरामा छ।
पैयूँ फुल्दा
दिदीभाइको बिछोडको कथामा बनेको गीत ‘पैँयूँ फुल्दा’ पनि बर्सेनि तिहारमा गुञ्जिन्छ। गीतमा निलिमा पुनको स्वर छ।