राष्ट्रमण्डल सम्मेलन ‘पारिवारिक जमघट’ मात्र हो त?

ध्रुवहरि अधिकारी ११ कार्तिक २०८१ १७:४१
64
SHARES
राष्ट्रमण्डल सम्मेलन ‘पारिवारिक जमघट’ मात्र हो त?

राष्ट्रमण्डल (कमनवेल्थ) को सम्मेलनस्थल हुनाको कारण गए साता सामोआ चर्चित राष्ट्र बन्यो। ७५ वर्षको इतिहास भएको राष्ट्रमण्डलका प्रतिनिधिहरू पहिलो पटक प्रशान्त महासागरको यस टापूराष्ट्रमा भेला भएका थिए। राष्ट्रमण्डलका अध्यक्षको हैसियतले बेलायतका राजा चार्ल्स सपत्नी सामोआ पुगेका थिए।

सन् २०२२ को सेप्टेम्बरमा माता महारानी एलिजाबेथ द्वितीयाको निधनपछि राजा भएका चार्ल्सको लागि पनि राष्ट्रमण्डलको सम्मेलनमा सहभागी हुने पहिलो अवसर थियो। राष्ट्रमण्डल को सचिवालय लण्डनमा छ।

एसिया, अफ्रिका र क्यारिबियन क्षेत्रलगायत सबैतिरबाट आएका उच्चस्तरीय प्रतिनिधिहरूलाई शुक्रवार सम्बोधन गरे, र त्यस क्रममा आजको विश्वले सामना गरिरहेका  युद्ध तथा जलवायु परिवर्तनका असरहरूको उल्लेख गरे। सम्भाव्य निकास खोज्ने काममा आफ्नो सहयोग रहने आश्वासन दिए। आखिर राष्ट्रमण्डल ‘राष्ट्रहरूको परिवार’ हो भनेर मानेपछि बेलायतका राजा स्वतः त्यस परिवारका मूली (हेड अफ् कमनवेल्थ) हुन गए। 

राष्ट्रमण्डलका ५६ सदस्य-राष्ट्रहरूमध्ये अधिकांश पहिले बेलायतका उपनिवेश रहेका मुलुकहरू हुन्। दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्‌का र माल्दिभ्स् गरी यस भेगका पाँचवटै देश सदस्य हुन्। अपवादमा नेपाल र भूटान मात्र पर्दछन्। हालैका वर्षहरूमा आएर पहिले बेलायतको उपनिवेश नरहेका  जाम्बिक, रुआण्डा, ग्याबोन र टोगो जस्ता देश पनि राष्ट्रमण्डलमा सामेल भएका छन्। किनभने ‘समानता, विविधता र एकता’ लाई राष्ट्रमण्डलको चिनारी मानिन्छ।

दुई वर्षअघिको सम्मेलनको आयोजक-राष्ट्र नै रुआण्डा थियो। त्यहाँका राष्ट्रपति पल कागामेले यसपालि सामोआका राष्ट्राध्यक्षलाई अर्को दुई वर्षको लागि कार्यभार सुम्पिएका हुन्। सहभागिता जनाउन विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू सामोआको राजधानी अपिया पुगेका थिए। सामोआको क्षेत्रफल हङकङको भन्दा दोब्बर तर जनसंख्या दुई लाखभन्दा केही बढी मात्र छ। सञ्चारकर्मी, सुरक्षाकर्मीहरूसमेतको उपस्थिति जोड्दा झण्डै पाँच हजार  पाहुनालाई खाने-बस्ने चाँजो मिलाइएको थियो।

विश्व-जनसंख्यामध्ये दुई अर्ब ७० करोडले बसोबास गर्ने क्षेत्र ओगटेको भूखण्डलाई त्यसै पनि उपेक्षा गर्न सकिंदैन। एक अर्ब ४० करोड भारतीय यसैको हिस्सा हुन्। तर सम्मेलनमा भारतको सहभागिता उच्चस्तरमा भएन। क्यानडाको प्रतिनिधित्व पनि उच्च तहबाट भएन।

सम्भवतः यी दुई देशबीच हालै देखापरेको कूटनीतिक मनमुटाव नै यसको कारण थियो।

न्यूजील्याण्डका एक अनुभवी पत्रकार माइकल फील्डले सामाजिक सञ्जालमा राष्ट्रमण्डल सम्मेलन आयोजक देशबाहेक अन्यको लागि खास उपयोगी नभएको निष्कर्ष निकालेका छन्। सामोआ सम्मेलनलाई नजिकबाट नियालिरहेका पत्रकार फील्डको मूल्याङ्‌कनलाई सम्मेलनस्थलबाट प्रवाहित समाचार विवरणले एक हदमा पुष्टि गरेका छन्। किनभने यसपालिको सम्मेलन (२१-२६ अक्टोबर) को कार्यसूचीमा अफ्रिका, क्यारिबियन र प्रशान्त क्षेत्रका नेताहरूले त्यो विषय पनि समावेश गर्न चाहेका थिए जसमा कमारा-कमारी (दास) व्यापारमा संलग्न युरोपेली देशहरूबाट हर्जाना भर्न आग्रह गर्ने कुरा पनि थियो। भनिन्छ, १५औंदेखि १९औं शताब्दीका बीच कमारा-कमारीको व्यापारमा लागेका युरोपेली र जहाजीहरूले अफ्रिकीहरूलाई अपहरण गरेर दास-बजारमा बेच-बिखन गर्थे। एक करोड २५ लाख मानिस ओसार-पसार भयो जसमा ३२ लाख जति बेलायती साम्राज्यका व्यापारीले गरेका थिए।

सम्मेलनको अघिपछि पारेर प्रेसबाट आएका प्रश्नहरूको जवाफमा बेलायतका प्रधानमन्त्री कीएर स्टारमरले क्षमायाचना र हर्जानाका कुरा असान्दर्भिक ठहर्‍याए। राजा चार्ल्सको भाषणमा ‘दुःखद् इतिहास’ को चर्चा भए तापनि बितेर गएको कुरामा अल्झेर फाइदा छैन भन्ने विचार समेटिएको थियो। ‘हामीमध्ये कसैले पनि विगतलाई परिवर्तन गर्न सक्दैनौं,’ राजाको कथन रह्यो। जे भए तापनि, सम्मेलनको आखिरमा जारी भएको विज्ञप्तिमा ‘बँधुवा व्यापार’ संवादको मामिला हुनुपर्छ भन्ने कुराको उल्लेख भएको छ।

सामोआ सम्मेलनको अन्त्यमा शनिवार १६ पृष्ठमा ५२ बुँदा हालेर विज्ञप्ति र एकैसाथ निकालिएको ‘वक्तव्य’ मा हाल युक्रेन र पश्चिम एसियामा चालू लडाञीलाई सङ्‌केत गर्दै राष्ट्रमण्डलका तर्फबाट ‘दिगो शान्ति’ का लागि आह्वान गरिएको छ। यस दिशामा पहल, प्रयत्नहरू हुँदै पनि जालान्। सन् २०२६ मा स्कटल्याण्डको ग्लास्गो शहरमा अर्को सम्मेलन हुँदा कार्यप्रगतिको समीक्षा पनि होला।

संयोगवश, गए साताको मध्यमा रुसको कजान शहरमा भएको ‘ब्रिक्स्’ सम्मेलनका सहभागी राष्ट्रमण्डलको जमघटमा भन्दा थोरै थिए, तर विश्वको बदलिँदो राजनीतिक परिप्रेक्ष्यमा कजान सम्मेलनको महत्त्व सामोआको भेलाभन्दा अधिक महत्त्वको हुन गएको छ। रुस, चीन, भारत र दक्षिण अफ्रिका मुख्य सहभागी भएको हुनाले कजान सम्मेलनले पश्चिमी विश्वको नेतृत्व गर्ने संयुक्त राज्य अमेरिका समेत झस्केको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast