एकाकीपनको कथा ‘सिमसारा’

विवेक विवश रेग्मी १० कार्तिक २०८१ १६:५८
46
SHARES
एकाकीपनको कथा  ‘सिमसारा’

लेखक एवम् पत्रकार बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’को गत असोज १६ गते काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भयो। लोकार्पण समारोहमा बोल्दै बस्नेतले भनेका थिए- ‘ब्ल्याक एन्ड ह्वाइटमा जति मान्छे हुनुहुन्छ, उहाँहरूलाई त मैले पत्रकारिताबाटै खत्तम गरेको छु। क्लियरली राम्रो, धन्यवाद। क्लियरली समस्या, त्यसपछि त हाम्रो छुरा चल्न थालिहाल्छ।’

उनको आशय नकारात्मक गतिविधिमा संलग्नहरूलाई पत्रकारिताकै माध्यमबाट सचेत र खबरदारी गरिएको हुनसक्छ। राम्रो गरेकाहरूबारे भने पुस्तक लेखिएको हुनसक्छ। उनको पुस्तक सिमसारामा भने उनैले भनेजस्तो क्लियरली राम्रो र क्लियरली समस्या दुवै होइन, बीचको हो भन्न सकिन्छ।

पूर्वी पहाडी जिल्ला इलामको ‘सिमसारा’ भन्ने ठाउँबारे केन्द्रित गरी उपन्यास तयार पारिएको छ। उपन्यासमा मुख्यगरी दुई पात्रको वर्चस्व छ। संवत र मन्दाक्रान्ता नामक पात्रको उपन्यासमा बढी भूमिका छ। उनीहरू आमाछोरा हुन्।

संवतले घटनाक्रमलाई विस्तृतमा बयान गरेको कुरा उपन्यासमा उल्लेख छ। उपन्यास पढिसक्दा आमपाठकले बुझ्न सक्ने आधार भनेको यो ‘एकाकीपनको कथा’ हो। एकाकीपन कोही एक व्यक्तिको मात्रै छैन, उपन्यासमा आइरहने र दोहोरिरहने पात्रहरूदेखि घरसम्म एकाकीपनमै बाँचिरहेको कुरा उधृत गरिएको छ। समग्रमा भन्दा यो उपन्यास एक घरपरिवारको हो। घरमा भइरहने गतिविधि र एउटा घरको प्रेमको चित्र उपन्यासमा प्रस्तुत छ।

पुस्तकमा पारिवारिक विखण्डन, तनाव र विरक्तिको कथा उल्लेख गरिएको छ। धनरूप क्षेत्री, उनकी श्रीमती मन्दाक्रान्ता र दुवैको एक्लो छोरो, संवत् क्षेत्री छन्। जसमध्ये संवत सानै छ। धनरूप हुलाकी हुन्। उनी पढेलेखेका भए पनि पहिल्यैदेखि घुसघुसे हुन्छन्। मन्दाक्रान्ता भने आफू पढलेख नगरेको र मनमा केही कुरा राख्न नसक्ने भन्दै हाक्काहाक्की नधकाईकन, नडराईकन मनका कुरा खोतल्छिन्।

यसरी उनले आफ्ना मनका कुरा धनरूपसँग कयन पटक खोलेकी छन्। धनरूपको घुसघुसेपनका कारण यो परिवारको प्रेममा विखण्डन आएको छ।

धनरूप र मन्दाक्रान्ता दम्पतीले जीवनमा रहरले बनाएको घरबाट धनरूप भने सिमसारातिरै बसाइँ सर्छन्। सुरुआती दिनमा कहिलेकाहीँ घर आउने गरेका उनी पछिल्लोपटक भने आउनै छाड्छन्। परिवारमा बेमेल बढ्दै जान्छ। धनरूप परस्त्रीसँग सामिप्य हुन मात्रै होइन, उनी भन्दा झण्डै आधा उमेरकी केटीसँग विवाह गर्छन्।

जसले मन्दाक्रान्ताको जीवन खण्डहर मात्रै बनाउँदैन, छोरो संवतको जीवनसमेत धमिलो बन्छ। उपन्यासमा परिवारको मिलन, बिछोड, हृदय गाँसिएको, हृदय टुक्रिएको कुरालाई सरल भाषामार्फत प्रस्तुत गरिएको छ।

एक दिन धनरूपसँगै एउटी फुच्ची केटी घर आई। पहेँलो स्विटर अनि आकासे नीलो टिकटिके फ्रकमा घर आएकी त्यो फुच्चीको नाम हो- इस्वी। इस्वीलाई देख्नेबित्तिकै संवत प्रेममा पर्छन्। मौन प्रेममा। उनले भित्रभित्रै इस्वीलाई यही घरको बुहारी बनाउने सोच बनाउँछन्। कल्पनाको गहिरो सागरमा डुब्छन्।

केही दिनको बसाइपछि भने बुबा धनरूपले इस्वीलाई सँगै लिएर फर्कन्छन् – सिमसारा।

त्यसपछि एकाकीपनको छटपटीमा परेका संवत कैयन् पटक इस्वीको यादमा डुब्छन्। किताबका विभिन्न पात्र र प्रसंग आउँदा पनि संवतले इस्वीलाई सम्झिरहेका हुन्छन्। उपन्यास सकिनै लाग्दा थाहा हुन्छ कि, इस्वीसँग संवतको चाहेर पनि विवाह हुँदैन। उनीप्रति संवत एकाएक घृणित बन्छन्।

के प्रेम गरेको मानिस आफूअघि जुनसुकै अवस्थामा उभिए पनि घृणा गर्न सकिन्छ? प्रेम गरेको मानिसलाई त घृणा गर्न नसकिनुपर्ने हो। लेखक हाबी हुँदा घृणा पनि बढाइदिन्छन्।

जहाँ पनि, जतिखेरैजस्तो, असाध्यै धेरैगरी संवतले इस्वीकै बारे मात्रै खोजी गर्नुले उनको प्रसंग नै नआइकन उनैको नाम प्रयोग गर्नुले लेखक बढी कल्पनामा डुबेका हुन् कि भन्न सकिन्छ।

संवतले इस्वीसँग विवाह वा थप प्रेम सम्बन्ध अगाडि बढाउन किन सकेनन्? यसबारे भने उपन्यास नै पढ्नुपर्छ।

उपन्यासमा केही त्रुटिहरू छन्। लेखक कताकता बढी भावनात्मक बन्दा यहाँ प्रस्तुत गरिएका पात्र र विषयवस्तु स्वैरकाल्पनिक जस्ता लाग्छन्। कतिपय ठाउँमा लेखकले पात्रलाई भन्दा आफूलाई बढी प्रस्तुत गरेका छन्।

बिछोडमा रहेकाहरुलाई बिछोडकै आर्तनादको कथाले छुन्छ। प्रेममा रहेकाहरुलाई प्रेमकै कथाले छुन्छ। पारिवारिक वियोगमा रहेकाहरुलाई त्यही किसिमको कथा मन पर्छ। सिमसाराले के छुन्छ ?यो जिज्ञासाको उत्तर पाउन पुस्तक पढ्नुपर्छ।

लेखकले पैयुँको रूखबाट सुरु गरेको उपन्यासमा गोगनको रूखसम्म कथा पुग्छ। उपन्यास आद्योपान्त पढिसक्दा अनेक प्रश्न उत्पन्न हुन्छन्। तर ती प्रश्नले त्यति घतलाग्दा उत्तरको अपेक्षा भने गर्दैनन्। केही सन्दर्भमा उठ्ने जिज्ञासा यस्ता छन् :

पाना नं. ४० र ४१-  ‘अलिक मास्तिर लेक छिरेपछि गोगन कम्ती देखिन थाल्छ। ठुल्ठूला पात भएका गोगनका रूख हेर्न मलाई उतिसाह्रो जाँगर चल्दैन। बरू नागीतिर पैयुँका फूल मस्तसँग फुलेका थिए। फागुनसँगै ती पनि हाँगाबाट खसेर झर्न लागिसकेका छन्। सबै फूल झरिसक्दा पैयुँघारी अचाक्ली नाङ्गो देखिन्छ। डरै लाग्ने गरी। जाडोयाममा सारा फूल गोजीमा हात हाल्दै प्रकृतिमा लुक्न गएका बेलामा कत्ति न यसलाई पुरुषार्थ देखाउनुपर्ने।’

के नाङ्गो हुनु भनेको पुरुषार्थ हो?वा पुरुषार्थ भनेको नाङ्गो हुनु हो?

पाना नं. ५२ र ५३ मा भने घरमा बाआमाको प्रेम र यौनजीवनको कुरा उधृत गरिएको छ।

‘बस्तीका सारा कुकुर मरेछन् कि क्या हो। चिहानघारीतिरसमेत केही चालचुल थिएन। भर्‍याङ मास्तिर जति हल्ला थियो, त्यति हल्ला त राति कराउने कीराहरूको पनि हुँदैन। सारा एकान्तमा टाँड मात्रै ल्याख-ल्याख गरिरहेको थियो। हन केको उपद्रो हो?’

यहाँ संवतका बाआमा अर्थात् धनरूप र मन्दाक्रान्ताले संसर्ग गरिरहेको कुरा उठाइएको छ।
के बाआमाले संसर्ग गरेको लेख्न सकिन्छ? सकिँदैन भने लेखकले किन लेखेको?

पाना नं. १०८- ‘म खुरूखुरू भित्र गएँ। आमाले बारीबाट टिपेर ल्याउनुभएको साग मिचिमिची पखालेँ। दुई पानी फालेर डेक्चीमा हालेँ। चुलेसीले काटेर त्यसलाई थालमा राखेँ। कराही बसाएँ, भुटुन हालेँ। मसला पड्काएर त्यसमाथि साग रोखेँ। कराइभरी लपक्क पारेँ।’

तरकारी पकाएँ भन्नका लागि यत्ति लम्ब्याउन जरुरी छ र?

लेखक यी र यस्तै प्रसंगहरूमा बढी हाबी भएका छन्।

अर्को कुरा पुस्तकको कभर हेर्ने हो सिमसारा भन्दा बसन्त बस्नेत निकै ठूलो देखिन्छ। अर्थात् पुस्तकको नाम भन्दा लेखकको नाम असाध्यै ठूलो छ। नामप्रति कत्रो भोक हो?
हुन त यसबारे पुस्तक विमोचनकै दिन लेखक बस्नेतले खण्डन गरेका थिए – ‘कभर चैँ मैले बनाको होइन है! अरू चैँ जिम्मा लिन्छु।’ यति भनेर उनी सहजतातिर लम्किएका थिए। प्रश्न सोध्ने मान्छे नै प्रश्नबाट यसरी सहजै भाग्न हुन्थेन कि?

के लेखकबाट फाइनल नभई कभर पनि फाइनल भएको हो? वा प्रकाशकले लेखकको नामका कारण पुस्तक बढी बिक्री हुन्छ भनेर लोभ गरेको हो?
सरल भाषाशैलीका कारणपुस्तक सहजै पढ्न सकिन्छ।

पुस्तकमा केही मार्मिक उद्धरण यहाँ प्रस्तुत गरिएको छ –
– बटुवारे भनेका आफैँमा ठेगाना हुन्। हेर्दा मात्रै यहाँ त्यहाँ पुगिरहन्छन्। बाटो तिनीहरूको घर हो। घर त्यो हो, जहाँ मानिसहरूले जीउ होइन, हृदय राखिदिन्छन्।
– मन परेन भने मन मर्छ। मन मर्‍यो भने माया मर्छ। माया मरेको घर चिसो हुन्छ। चिसो त चिहानघारी पो हुन्छ। चिहान घर जस्तो हुँदैन, घर चिहान जस्तो हुँदैन।
-आज उहाँहरूलाई एउटै रेडियो सुन्न मन थियो। तर एउटै सङ्गीत सुन्न मन थिएन।
– आज उहाँहरूलाई एउटै घरमा सुत्न मन थियो। एउटै ओछ्यानमा सुत्न मन थिएन।
– आज उहाँहरूलाई बोल्न मन थियो। एकअर्कासँग बोल्न मन थिएन।
– लेक अल्छी मानिस हो, जसले ढिलो गरी पात्रो पल्टाउँछ।
– म मर्नुभन्दा पहिल्यै पटक पटक मरिनजाऊँ।
– जो पायो तेईसँग बह पोख्दा मन हलुंगो हुँदैन, आफू चै हलुंगो भइन्छ।
– आँट, झ्वाँक र हिम्मतले मात्र जीवन चल्दैन। जीवनमा सन्तुलन निकै ठूलो कुरा हो।
– वर्षहरू समयका लम्बाइ मात्रै होइनन्, सम्झनाका चौडाइ, उचाइ र गहिराइ पनि हुन्। जति वर्ष बाँचियोस्, पूरा बाँच्नुपर्छ। गतिमा मात्रै बाँचेर काम छैन, गहिराइमा बाँच्नुपर्छ। सास फेरेकै भरमा जीवन काटियो भन्नु नै बाँच्नु होइन। अलिकति हर्षले, अलिकति बिस्मातले, अलिकति नोकझोकले, अलिकति आनन्दनले – सबैथोक मिलाएर बाँच्नुपर्छ। म चाहन्थेँ, म पनि त्यसरी नै बाँच्न सकूँ। तर मेरो इच्छा लामो छुट्टीमा घर गएको थियो।

पुस्तक – सिमसारा
विधा – आख्यान
लेखक – बसन्त बस्नेत
प्रकाशक – फाइनप्रिन्ट
पेज -२६५
मूल्य – ६५०

प्रकाशित: १० कार्तिक २०८१ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =