राजा सुरेन्द्रबाट ऐतिहासिक मानपदवी र तक्मा पाउने बंगाली संगीतज्ञ टैगोर

सन्तोष खडेरी २४ साउन २०८० १५:३८
1.1k
SHARES
राजा सुरेन्द्रबाट ऐतिहासिक मानपदवी र तक्मा पाउने बंगाली संगीतज्ञ टैगोर राजा सुरेन्द्रले बंगाली संगीतज्ञ सुरेन्द्र मोहन टेगौरलाई मानपदवी र तक्मा दिएको सनदपत्र र टैगोर।

भारत लामो समयसम्म अंग्रेज  उपनिवेशका रूपमा रह्यो। सम्पूर्ण भारतमा विदेशीको उपनिवेश कायम भएपछि स्वतन्त्र राज्य र राष्ट्रप्रमुख  रहने कुरा भएन। कसैको उपनिवेश नरहेको नेपालमात्र एउटा स्वतन्त्र हिन्दू अधिराज्य थियो। नेपालका राजा संसारभरका हिन्दूका सम्राट् थिए। भारतीयले समेत नेपालका राजालाई हिन्दूहरूको राजाका रूपमा लिन्थे। विदेशी हिन्दूहरूमा त्यस्ता राजाबाट सम्मानित हुने चाहना राख्नु स्वाभाविक थियो। तक्मा, विभूषण र पदवीप्रति मानिसको आज पनि उस्तै आकर्षण छ भने दुई सय वर्षअगाडिको समय त मानपदवीकै थियो।

तत्कालीन समयमा निकै कम विदेशीले मात्र नेपालका राजाबाट सम्मानित हुने अवसर पाउँथे। त्यसैमध्येका एक हुन् सुरेन्द्र मोहन टेगौर। टेगौर सन् १८४० मा कलकत्तामा जन्मिएका थिए। कलकत्तास्थित हिन्दू कलेजमा पढेका टेगौर १४ वर्षदेखि साहित्य सिर्जनामा संलग्न भए।

बंगाली संगीतमा उनको ठूलो योगदान छ। उनले शास्त्रीय संगीतको इतिहाससम्बन्धी पुस्तक प्रकाशित गरेका थिए। साहित्य र संगीतमा ख्याति कमाएका सुरेन्द्र मोहनले चीन, जापान, इटाली, बेल्जियम, स्विडेन, नेदरल्यान्ड, पोर्चुगलजस्ता थुप्रै युरोपेली मुलुकबाट तक्मा र पदवी पाएका थिए। तर हिन्दू राजाबाट भने उनले तक्का पाएका थिएनन्।

उनको योगदानबारे थाहा पाउन अहिलेजस्तो सञ्चारमाध्यम थिएन। त्यसैले उनी आफूले शास्त्रीय संगीतमा काम गरेको भनी नेपालका राजालाई पत्र पठाएर पदक प्राप्त गर्न सफल भएका रहेछन्। सन् १८७८/७९ ताका कलकत्तास्थित नेपाल सरकारका प्रतिनिधिका रूपमा वकिल मेजर कप्तानका रूपमा विश्वनाथ उपाध्याय थिए। उपाध्यायमार्फत नेपालका राजा श्री ५ सुरेन्द्रसमक्ष यिनले चिठी र किताब पठाएका थिए।

नेपालमा पठाएको पत्रमार्फत उनले अप्रत्यक्ष रूपमा आफूले हिन्दू सम्राट्बाट तक्मा पाउनुपर्ने माग गरेको इतिहासकारको अनुमान छ। राजा सुरेन्द्रले ती बंगाली सुरेन्द्र मोहनका नाममा पठाएको नेपाली भाषाको सनदपत्रमा सुरेन्द्र मोहनले पत्र र किताब कलकत्तास्थित नेपाली वकिलमार्फत आफूकहाँ चढाएको उल्लेख छ।

त्यसैले तत्कालीन दरबारले यिनको शास्त्रीय संगीतका क्षेत्रमा यिनको योगदान बुझ्ने अवसर पाएको थियो। नेपालमा गीतसंगीतको विकास भइसकेको थिएन। शाह एवं राणा शासकका राजकीय समारोहमा मनोरञ्जनका लागि भारतीय सांगीतिक समूहलाई निमन्त्रणा गरिन्थ्यो। नेपालका शासकले कसैको गीतसंगीतबाट प्रभावित भएर तिनलाई मोटो पारिश्रमिक र सेवासुविधा दिने विषय सामान्य हो। तत्कालीन शासकले बंगाली संगीतज्ञ टैगोरलाई शास्त्रीय संगीतमा तक्मा र पदवी प्रदान गर्नुचाहिँ पहिलो घटना थियो।

राजा सुरेन्द्र र प्रधानमन्त्री रणोद्वीप सिंह।

वकिलले सीधा राजालाई भेटेर पत्र चढाउन पाउँदैनथे। पत्र र किताब हस्तान्तरण प्रधानमन्त्री रणोदीप सिंह हुँदै राजा सुरेन्द्रसम्म पुगेको थियो। सुरेन्द्र मोहनले थुप्रै मुलुकबाट तक्मा पाउनु, नेपालका राजा र प्रधानमन्त्रीलाई पत्र र किताब पठाउनु र त्यसका आधारमा नेपालले यसअघि कहिल्यै प्रयोग नगरेको तक्मा र पदवी प्रदान गर्नुले एउटा आशंका उब्जाएको देखिन्छ।

नेपालले तक्मा र पदवी प्रदान गरेको सनदपत्रमा लेखिएको छ :

‘उक्त पत्र र किताब श्री ३ रणोद्वीप सिंहबाट हाम्रा हजुरमा दाखिल गरी विस्तार बिन्ती गर्दा जाहेर भयो साथै तिम्रो बुद्धि, गुणबाट बहुतै खुसी भई तिमीलाई नाथ देवेश्वरदत्त संगीत शिल्पविद्यासागर भन्या तक्मा र भारत वर्षीय शिल्पविद्याका नायक पदवी गरिबक्सियौँ।’ 

कसैलाई कुनै मानपदवी र तक्मा दिँदा उसलाई तक्मा प्रदान गरिएको सनदपत्र सँगसँगै त्यो मानपदवी र तक्मा प्रयोग गर्ने अर्को अख्तियारी पत्र लालमोहरसमेत साथमा दिइएको हुन्छ। राजा सुरेन्द्रले उक्त तक्मा र पदवी प्रदान गर्न नेपाली भाषामा पठाएको पत्रमा अर्को गोर्खा तारा तक्माबारे केही उल्लेख छैन। अंग्रेजी अनुवादमा सुरेन्द्र मोहनलाई ‘सुन जडित गोर्खा तारा पहिलो दर्जाको तक्मा’ प्रदान गरेको उल्लेख छ।

त्यतिबेलाका अखबारमा समेत गोर्खा ताराको तक्मा प्रदान गरिएको समाचार छापिएको पाइन्छ। नेपाली वकिल उपाध्यायबाट प्राप्त जानकारी भनी त्यतिबेला छापिएको एउटा सामग्रीअनुसार ‘गोर्खा तारा’ तक्माबारे यस्तो उल्लेख थियो। (दी अर्डर्स अफ नाइटहुड, ब्रिटिस एन्ड फरेन विथ अ ब्रिफ रिभ्यु १८८४)

सन् १८५५/५६ को नेपाल-भोट युद्धपछि युद्ध विजेता नेपाली फौजको कदरस्वरूप तत्कालीन राजा सुरेन्द्रले ‘गोर्खा तारा’ तक्माको सुरुवात गरेका थिए। पहिलो दर्जाको तक्मा सुनजडित थियो भने त्यसमा सूर्य-चन्द्रअंकित थियो।

धीरशमशेर प्रधानमन्त्री रणोद्वीप सिंहका प्रतिनिधिका रूपमा गभर्नर जनरलसँग कलकत्तामा भेट गर्न जाँदा उनले नेपालबाट सो तक्मा र तक्मासँगको पत्रसमेत साथमा लगेका थिए। कलकत्तामा नेपाली प्रतिनिधिमण्डल बसेको स्थान एमराल्ड बोअरमा उपस्थित भएर टेगौरले उक्त नेपाली दलको सम्मानमा एउटा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेका थिए।

सन् १८७९ जनवरी १९ आइतबार त्यही सांस्कृतिक कार्यक्रममा प्रतिनिधिमण्डलका नेता धीरशमशेरले टेगौरलाई राजा सुरेन्द्रले प्रदान गरेको ‘नाथ देवेश्वरदत्त संगीत शिल्पविद्यासागर’ तक्मा र ‘भारत वर्षीय शिल्पविद्या नायक’ पदवी त्यस्तै ‘गोर्खा तारा’ को पहिलो दर्जाको अर्को तक्मा प्रदान गरेका थिए। (दी इन्डियन डेली न्युज २३ जनवरी १८७९) 

नेपालले सुरेन्द्र मोहनलाई ‘भारत वर्षीय शिल्पविद्या नायक’ को पदवी दिएको विषयलाई भारतीय अखबारहरूले विशेष महत्त्वका साथ समाचार सम्प्रेषण गरेका थिए। दी इन्डियन मिररले सुरेन्द्र मोहनले प्राप्त गरेको नायक उपाधि त मुगल सम्राट् अकबरको पालाका प्रसिद्ध संगीतज्ञ गोपाल नायकपछि उनले मात्र प्राप्त गर्न सफल भएको उल्लेख गरेको थियो। (दी इन्डियन मिरर २३ जनवरी १८७९)

सुरेन्द्र मोहनले हिन्दू संगीतमा गरेको योगदानको कदरस्वरूप हिन्दू सम्राट्बाट मानपदवी र तक्मा प्रदान गरेको भन्ने टिप्पणी अखबारको थियो।

नेपालका राजा संसारका एक मात्र स्वतन्त्र हिन्दू अधिराज्यका हिन्दू सम्राट्ले एक हिन्दू संगीतज्ञलाई विभिन्न मानपदवी र तक्मा दिएको विषयले सार्वजनिक रूपमा धेरै चर्चा पाएको थियो। नेपालले कुनै पनि संगीतज्ञलाई ठूलो मानपदवी र तक्मा प्रदान गरेको त्यही पहिलो र अन्तिम घटना थियो।

सन् १८७७ मा जंगबहादुरको निधन भएपछि रणोद्वीप सिंह श्री ३ महाराज एवं प्रधानमन्त्री भए। श्री ३ महाराजको निधनमा वर्ष दिनसम्म आशौच बार्ने चलन थियो। वर्षभरि नियमित राजकाजबाहेक अरू कुनै पनि शुभकार्य गर्ने प्रचलन थिएन। रणोद्वीप प्रधानमन्त्री भएपछि नयाँ प्रधानमन्त्रीका तर्फबाट कलकत्तामा रहेका ब्रिटिस गभर्नर जनरलसँग भेट गर्न सन् १८७९ को जनवरी सुरुतिर कमान्डिङ जनरल धीरशमशेर त्यहाँ पुगेका थिए।

प्रतिनिधिमण्डलका अन्य सदस्यमा केदारनर सिंहलगायत थिए। नेपाली प्रतिनिधिमण्डलको बसोबास प्रसिद्ध एमराल्ड बोअरमा भएको थियो। सोही स्थानमा टैगोरले सांगीतिक कार्यक्रम आयोजना गरेका थिए।

तस्बिर स्रोत : पब्लिक ओपेनियन एन्ड अफिसियल कम्युनिकेसन्स अबाउट् दी बंगाली म्युजिक स्कुलस् एन्ढ इट्स प्रेसिडेन्ट, कलकत्ता १८८४ 

आर्काइभबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast