दसैँमा मात्र गाउँ रमाइलो

हिमाल प्रेस ५ कार्तिक २०८१ ७:०६
8
SHARES
दसैँमा मात्र गाउँ रमाइलो oppo_0

म्याग्दी- शरद ऋतुको रमाइला दिन। उघ्रिएको आकाश। उत्तरतिर टलक्कै टल्किएका हिमाल। खेतैभरी लहलह धान खेत। झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन्। खुसीयाली छाएको छ।

तर, वास्तविकता त्यस्तो कहाँ छ र। गाउँको रौनक यहाँका युवासँगै बाहिरिएको छ। वयोवृद्ध मात्र गाउँमा छन्। दसैं मनाउन गाउँ आएका पनि आआफ्नो कार्यक्षेत्र फर्किसकेका छन्। उनीहरूसँगै गाउँको रौनक फेरी हराएको छ।

दसैँमा आएकाहरु सहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चराहरु साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ। उमेरले ८६ वर्ष पार गरेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए।

पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन्। श्रीमतीको मृत्यु पछि एकल जीवन जिउँदै आएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कमी छैन। एउटै कमी भनेको आफ्ना सन्तानको साथमा नहुनु हो। उसो त छोरा बुहारीले आफूसँगै पोखरामा बस्न कर गर्दछन् तर उहाँ आफ्नो थातथलो छोडेर पोखरा जान सक्दैनन्।

मनबहादुरकै जस्तो अवस्था छ सोही गाउँका ८७ वर्षीय खड्गबहादुर घिमिरे, ८९ वर्षीय बेदप्रसाद उपाध्याय, १०१ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि।

उनीहरूका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन्। अध्ययन, रोजगार तथा विभिन्न कामले सहरी क्षेत्र बस्दै आएकाहरु दसैँ मनाउन गाउँ आएका थिए। चाडपर्व सकिएलगत्तै धमाधम फिर्न थालेपछि गाउँ सुनसान बन्न थालेको मंगला गाउँपालिका–२ रणबांगका हरिकृष्ण पौडेलले बताउँछन्।

‘केही दिन गाउँघरमा निकै रमाइलो भयो। देश विदेशका आफन्तहरुसँगको भेटघाटले दिन बितेको पत्तै भएन’, उनी भन्छन्, ‘दसैं सकिएसँगै गाउँ आएकाहरु फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि विरक्तलाग्दो भयो।’

म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो भित्र्याउने समय भएको छ । गाउँमा मानिसहरु खासै छैनन्। कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् । बेनी नगरपालिका–२ का नारायण सापकोटा भन्छन्, ‘दसैँको समयमा गाउँमा जत्तिको रमाइलो कहीँ भएन। दसैं सकिएसँगै गाउँ खाली भयो। अहिले गाउँमा युवा पुस्ता देख्नै मुस्किल छ। बूढाबूढी र बालबालिकाबाहेक अरू देखिँदैनन्।’

गाउँका अधिकांश पोखरा, काठमाडौँ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँ गएको धौलागिरि गाउँपालिका–७ ताकमका हेम सुवेदीले बताउँछन्। गाउँमै गुणस्तरी शिक्षा, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा भए बसाइँ जाने क्रम घट्ने मालिका–२ की मीना पुनको अनुमान छ।

एक दशक अघिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै थिए। अचेल हुने खानेहरु सबै बजार झर्न थालेको देवीस्थानका टेकबहादुर बूढामगरले बताउँछन्। धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमाराले भरिएको उनको भनाइ छ।

सदरमुकाम बेनीसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन। यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावना छन्। तर यहाँका अनेकौं सम्भावनाप्रति स्थानीय युवाको रुची छैन।
युवा अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायतका मुलुक पुगेका छन्। वैदेशिक रोजगारीका लागि साउदी अरब, कतार, यूएई पुगेका छन्।

बचेका युवा सहरतिर छन्। दसैं मनाउन जापानबाट पाँच जना आउँदा गाउँको रौनक बेग्लै भएको स्थानीय सुनिल थापाले बताउँछन्। नौ वर्ष जापान बसेर गाउँ फर्किएका थापा अहिले गाउँमै व्यवसाय गरेर बसेका छन्। उहाँसहित १२ जना युवाहरु मात्रै हाल गाउँमा छन्।

ती मध्ये सात जना वैदेशिक रोजगारीका लागि जाने तयारीमा छन्। गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाहरुको संख्या दुईसय भन्दा बढी छ । महिला र बालबालिका छन्।

‘गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु देखिँदैनन्। मर्दापर्दा, दुःख विमार हुँदा खै खबर गर्ने मान्छे गाउँमा छैनन्’, ७४ वर्षिय टेकबहादुर कार्कीले भने। विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ रहेको छ।

२०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसंख्या एक लाख १३ हजार छ सय ४१ थियो । पछिल्लो जनगणनामा परिवार संख्या बढे पनि जनसंख्या घटेको छ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको संख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ। परिवारको औसत आकार तीन दशमलव ७१ प्रतिशते छ भने लैंगिक अनुपात प्रति सयजना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत छ ।

प्रकाशित: ५ कार्तिक २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =