भाषासेवी यज्ञरत्न धाख्वालाई एक लाख राशिको हेमराज पुरस्कार

हिमाल प्रेस ३ कार्तिक २०८१ २१:३४ | Saturday, October 19, 2024
भाषासेवी यज्ञरत्न धाख्वालाई एक लाख राशिको हेमराज पुरस्कार

ललितपुर– भाषासेवी एवं नेपाल भाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वालाई एक लाख राशिको हेमराज पुरस्कार प्रदान गरिएको छ। लोकसाहित्य परिषद्द्वारा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले भाषासेवी धाख्वालाई पुरस्कारको सम्मानपत्रसहित नगद रु. एक लाख हस्तान्तरण गरेकी हुन्।

पुरस्कार वितरणपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्गीले धाख्वाले नेवा समुदायको भाषा, संस्कृति, कला, सम्पदालगायतका क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताइन्। ‘जबसम्म लिपिको विकास गर्न सकिँदैन, तबसम्म भाषासंस्कृतिको विकास हुन सक्दैन, संविधानमा व्यवस्था भएअनुरुप बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गरेको छ, तर लिपिको विकास नभएसम्म नामको मात्रै कामकाजी भाषा भनेर उपलब्धि हुँदैन, लिपिको विकास हाम्रो प्राथमिकता हो,’ उनले भनिन्।

भाषासेवी एवं नेपाल भाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाले प्रतिष्ठानमूलक, गौरवशाली पुरस्कार आफूले पाएकामा गौरवान्वित महसुस भएको बताउँदै पुरस्कारको ९० प्रतिशत रकम अर्थात् रु. ९० हजार लोक साहित्य परिषद्लाई हस्तान्तरण गरे। ‘भाषा, साहित्य हाम्रो जीवन हो, यसमा मेरो क्रियाशिलतालाई कदर गर्दै एक लाख नगद पुरस्कारसहित सम्मानित हुन पाएकामा म आभारी छु, खुसी व्यक्त गर्दछु,’ धाख्वाले भने।

एकेडेमीका भाइस चान्सलर मल्ल के सुन्दरले पण्डित हेमराज शाक्य विद्वान व्यक्तित्व भएको भन्दै उनीजस्तो व्यक्तित्वको इतिहास नेवाः समुदायका लागि गर्वको कुरा रहेको बताए। उनले प्रविधिमैत्री लिपि विकासका लागि हेमराज शाक्यले योगदान दिएका कारण अहिले नेपाल भाषा क्षेत्रमा हालसम्मको उपलब्धि हासिल गर्न सफल भएको बताए।

पुरस्कारदाता लक्ष्मीशोभा शाक्यले विभिन्न भाषा साहित्य, संस्कृति र जात्राहरुको संरक्षणका लागि यो पुरस्कार स्थापित गरिएको बताउँदै यसले समाजलाई सकारात्मक प्रभाव पार्ने र पुरस्कार पाउने व्यक्तित्वलाई अझै राम्रो काम गर्न प्रेरित गर्ने धारणा व्यक्त गरिन्।

यो पुरस्कार हरेक दुई वर्षमा वितरण गरिँदै आएको छ। सुरुमा २५ हजार दिँदै आएकामा यस वर्षदेखि ७५ हजार थप गरेर एक लाख राशि बनाइएको उनले बताइन्।

सत्यमोहन जोशीका ज्येष्ठ सुपुत्र एवम् लोकसाहित्य परिषद्का संरक्षक अनुजराज जोशीले पुरस्कार स्थापना गर्ने परिवारलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित: ३ कार्तिक २०८१ २१:३४ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast