साबिकका नेपाली राजा ज्ञानेन्द्रलाई भुटानमा ‘निजी’ तवरमा स्वागत-सत्कार गरी असोज २० गते (६ अक्टोबर) बिदा गरेको लगत्तैपछि भुटानका गद्दीनसीन राजा जिग्मे खेसर वाङ्चुक आफैँ विदेश-यात्रामा निस्केका थिए। अस्ट्रेलियाको उनको १०-दिने भ्रमण शनिवार सकिँदै छ। त्यो देशको यात्रामा जाने उनी पहिलो भुटानी राजा हुन् अरे। सिड्नीमा उनलाई अस्ट्रेलियाकी गभर्नर जनरल सामन्था मोस्टिनले भेट दिइन् भने संघीय राजधानी क्यानबेरामा प्रधानमन्त्री एन्टोनी अल्बेनिजीले स्वागत गरे। अर्थात् भ्रमण औपचारिक जस्तो हुन गयो।
क्यानबेरास्थित भुटानी दूतावासले ‘राजाको सवारी’ को अवसर छोपेर दर्शनभेट गर्न चाहने प्रवासी भुटानीहरूलाई बेलैमा नाम दर्ता गराएर प्रवेशपत्र पाउने चाँजो मिलाउन सूचना जारी गरेको थियो। अस्ट्रेलियाका छापा र सञ्चारमाध्यमहरूले त्यसै सूचनाका आधारमा सिड्नी, क्यानबेरा तथा पर्थ सहरका भुटानी समुदायमा निकै उत्सुकता छाएको प्रचार गरेका हुन्। तिनका लागि सानो भूगोलको एसियाली देश भुटानका शक्तिसम्पन्न राजाप्रतिको प्रवासीहरूको भक्तिभाव रोचक विषय बन्न पुग्यो। गम्भीर मामिला र पक्षलाई केही माध्यमले मात्र ध्यान दिए।
प्रकाशमा आएका आँकडाअनुसार ३५ हजारजति भुटानीमूलका नरनारी अस्ट्रेलियाका विभिन्न स्थानमा बसोबास गर्दछन्। करिब १० हजारको ठूलो समुदाय पर्थ सहरमा छ जहाँ राजाले भ्रमणका अन्तिम दुई दिन बिताए। राजाको भ्रमणको मुख्य उद्देश्य विदेशमा बसेर आर्जन गरेको सीप र सम्पत्ति भुटानमा ल्याएर लगानी गर्दै आफ्नै देशलाई समृद्ध गराउन प्रवासीहरूलाई उत्प्रेरणा दिनु हो भन्ने कुराहरू सञ्चारमाध्यममा आएका छन्। अस्ट्रेलियामा भुटानी विद्यार्थीको संख्या १३ हजार छ। सरकारी आँकडाले हाल भुटानको जनसंख्या आठ लाख देखाउँछ।
पूर्वाग्रही सोच
तर जिग्मे खेसरले भुटानबाट खेदेर नेपाल पुर्याइएका एक लाखभन्दा बढी नेपालीभाषीहरूमध्ये अस्ट्रेलियामा पुनर्वास गराइएका करिब छ हजार शरणार्थीको समुदाय वा तिनका प्रतिनिधि हुनसक्ने भुटानीमूलका व्यक्तिहरूसँग भेट्न चाहेनन्। त्यसैले दूतावासले साबिकमा भुटानमा ‘ल्होत्साम्पा’ (दक्षिणका बासिन्दा) भनिने गरेका नेपालीभाषीहरूले भेट्न असम्भव हुने सर्तहरू तोकिदियो यद्यपि पुनर्वासमा आएका अधिकांश भुटानीहरू आफ्नो देशप्रति समर्पित छन् र राजसंस्थाप्रति पनि वफादार नै छन्। र, कुनै खास बेलामा परिबन्दले गर्दा देश छोड्नुपरेको हो तापनि त्यो विग्रह र तुष आगामी सन्ततिहरूले नबोकून् भन्ने चाहना राख्छन्। तर सत्तानिकट एक थरी भुटानी राजालाई अर्का दुई थरी (समुदाय) लाई राजाको निकट पुग्नबाट रोक्न सफल हुँदै आएका छन्।
अस्ट्रेलियामा पुनर्वासमा छ हजार हाराहारीमा रहेकामध्ये धेरैजसो भुटानी अबका दिनमा आफ्नो जन्मस्थलमा जाने-आउने र आफन्त नातेदारहरूलाई भेट्ने निर्वाध सुविधा दिए पुग्छ भन्ने मान्यता राख्छन्। गरिखाने कर्मस्थल अब अस्ट्रेलिया नै हुने भयो। ‘भुटानदेखि ब्ल्याकटाउनसम्म’ ( भुटान टू ब्ल्याकटाउन ) पुस्तकका लेखक ओम ढुङ्गेल यस्तो मान्यता राखेर राजासमक्ष प्रस्तुत हुन इच्छुक त्यस्तै बुद्धिजीवीहरूमा पर्दछन्। उनी पुनर्वासमा अस्ट्रेलिया आएका भुटानीहरूबीच लोकप्रिय अगुवा पनि हुन्। अनि सान्दर्भिक अर्को कुरो के पनि छ भने माथि चर्चित उनको पुस्तकका लागि मन्तव्य लेखिदिने व्यक्ति अरू कोही नभएर अहिलेका प्रधानमन्त्री हुन्–अल्बेनिजी। ए.बी.सी.अन्तर्वार्ताका क्रममा तिनै ढुङ्गेलको भनाइ यसरी आएको छः- विगतका घोच्ने, बिझाउने कुराहरूलाई राजाले सुल्झाइहाल्नुपर्दछ। अन्यथा मानव अधिकार र राजबन्दीहरूको प्रश्नले राजा र उनको सरकारलाई संसारको जुनसुकै भागमा पुगेको बेलामा पनि लखेटिरहनेछ।’
यसैबीचमा, भुटानी राजासमक्ष मानव अधिकारबारे काम गर्ने संस्था ‘ह्युमेन राइटस् वाच’ ले भुटानमा हालसम्म थुनामा रहेका ३४ जना राजनीतिक बन्दीलाई रिहा गर्ने माग सार्वजनिक रूपमै प्रस्तुत गरेको थियो। सन् १९९० दशकको प्रारम्भमा शरणार्थी भई नेपाल पसेका एक लाखभन्दा बढी नरनारीमध्ये करिब सात हजार पुनर्वासमा नगईकन (भुटानमै फर्किने अठोटका साथ) हालसम्म झापाकै शिविरहरूमा बसेका छन्। तर नेपाल सरकारले दह्रो पहल नगरेकोले तिनको फिर्ती अनिश्चित अवस्थामा छ। निर्वासनमा रहेकाहरूका लागि यो कहालीलाग्दो स्थिति हो।
दीर्घकालीन योजना
यतिञ्जेल उपलब्ध औपचारिक समाचार र विवरणहरू हेर्दा राजा जिग्मे खेसरचाहिँ उतिखेर निकालिएका नेपालीभाषी भुटानीलाई उदारतापूर्वक क्षमादान दिई स्वदेश फर्किन आग्रह गर्ने पक्षमा देखिँदैनन्। उनी त नेपालीभाषीहरूलाई धपाएपछि खाली भएका गाउँ-बस्तीहरूको नामसमेत फेरेर ती ठाउँहरूमा आधुनिक सहर निर्माण गर्ने गुरुयोजना तर्जुमा पो गर्दैछन्। र, त्यसकै लागि लगानी भित्र्याउने ध्येय राखेर प्रवासीहरू भेट्न अस्ट्रेलिया पुगेका हुन्। जस्तो, नेपालीभाषीहरूको जन्मस्थल हो दक्षिण भुटानमा पर्ने गेलेफु। अब त्यहाँ एक हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलमा विस्तार हुने गरी देशको पहिलो ‘माइन्डफुलनेस सिटी’ पो बनाइनेछ जहाँ विदेशी लगानी पनि आकर्षित हुनेछ। भुटानी सञ्चारमाध्यम पढ्दा, सुन्दा यस्तै संकेत पाइन्छ।
अस्ट्रेलियाको प्रसारण संस्था एस्.बी.एस. नेपाली सेवाका तर्फबाट भुटानी दूतावासमा सम्पर्क राखेर नेपालीभाषीका इच्छा र मागहरू मौकामा राजासमक्ष पुर्याइदिने प्रयास भएको हो, तर दूतावासले कुनै प्रत्युत्तर दिएन। यही बीचमा,ए.बी.सी. प्रसारण संस्थाको अन्लाइन संस्करणमा सुसन बान्कीको विश्लेषण छापिएको छ जसमा वर्तमान राजाले नेपालीभाषीहरूउपर भएको ‘ऐतिहासिक अन्याय’ (हिस्टोरिकल इन्जस्टिस) लाई सच्याएर मेलमिलापको परिस्थिति सिर्जना गर्नसक्ने कुरा औँल्याइएको छ। बान्की सिड्नी विश्वविद्यालयकी सहप्राध्यापक हुन्।
उनको भनाइमा, वर्तमान राजालाई सच्चिनका लागि किन पनि सजिलो छ भने भुटानको जनसंख्या नै उल्लेख्य रूपमा घट्ने हिसाबले आफ्नै नागरिकहरूलाई निष्कासन गर्ने तीन दशकअघिको नीति र कार्यशैली उनी राजा हुनुभन्दाअगाडिको कालखण्डमा भएको थियो। र, उस बखत भुटानबाट निर्वासनमा जान बाध्य पारिएका नेपालीभाषीहरू अहिलेका राजाप्रति गुनासो पनि राख्दैनन्। किनभने यिनले पहिलेका राजा जिग्मे सिंघे वाङ्चुक हाल अवकाशमा गइसकेको कुरो राम्ररी बुझेका छन्।