पुराना रेलका पार्टपुर्जा : संग्रहालय बनाउने ‘भिजन नै छैन मुख्यमन्त्री सिंहको’

धैर्यकान्त दत्त १ कार्तिक २०८१ ८:४३
4
SHARES
पुराना रेलका पार्टपुर्जा : संग्रहालय बनाउने ‘भिजन नै छैन मुख्यमन्त्री सिंहको’

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेल संग्रहालय बनाउने आश्वासन मात्रै दिएको भन्दै आलोचना हुन थालेको छ। मुख्यमन्त्री सिंहले रेलवे संग्रहालय बनाउन कुनै योजना नै अघि सार्न नसकेको गुनासो सरोकारवालाहरूले गरेका हुन्।

‘न्यारोगेज’ लाई विस्थापित गर्दै जयनगर-जनकपुर-बिजलपुरा रेलमार्ग ‘ब्रोडगेज’ मा परिणत भएपछि पुरानो रेलका पार्टपुर्जा कवाडीमा परिणत हुन थालेको छ। यसअघि जनकपुर-जयनगर मार्गमा गुड्दै आएका ‘न्यारोगेज’ रेलका पुराना सामान कवाडीमा परिणत हुन थालेका हुन्।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको ‘ब्रोडगेज’ मा दुईवटा रेल नियमित गुडिरहेका छन्। नेपाल-भारत विकास साझेदारीअनुसार भारतीय वित्तीय अनुदानमा निर्माण भएको ‘ब्रोडगेज’ ले पुरानो ‘न्यारोगेज’ लाई विस्थापित गरेको हो। ट्र्याक निर्माणका लागि भारत सरकारले आर्थिक सहयोग गरे पनि ट्र्याकमा गुडाउने रेल भने नेपाल सरकार आफैँले खरिद गरेको थियो।

नियमित रूपमा रेल गुड्न थालेपछि प्रदेश राजधानी जनकपुरधामलाई पूर्वी धनुषासँग जोड्न सहज भएको छ नै, स्थानीयलाई भारत आवतजावतका लागि पनि सुविधा पुगेको छ। पुरानो ‘न्यारोगेज’ वस्थापित गर्न सन् २०१४ देखि जयनगर-जनकपुर रेलमार्गमा ‘ब्रोडगेज’ ट्र्याक निर्माण सुरु भएको थियो। दुई वर्षअघिदेखि जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सञ्चालनमा आएको छ।

नयाँ रेलमार्ग निर्माण थालिएपछि राज्यले चासो नदिँदा पुराना वाष्प इन्जिन, बोगी, ट्र्याकलगायतका सामग्री लथालिंग अवस्थामा पुगेको छ। पुराना इन्जिन, बोगी तथा अन्य महत्त्वपूर्ण सामग्रीको संरक्षण अभावमा घामपानीले खिया लागेर नष्ट भएको हो।

नेपाल रेलवे विघटन भएपछि सरकारले ती सम्पत्ति संरक्षण गर्न १६ जना कर्मचारी खटाएको थियो। संरक्षणतर्फ चासो नदिँदा इन्जिन पार्टपुर्जाका साथै खजुरी स्टेसनस्थित कारखानामा रहेका अन्य सामग्रीसमेत हराउन थालेको थियो।

जनकपुरधामबाट करिब १५ किलोमिटर दूरीमा रहेको खजुरी रेलवे स्टेसनस्थित कारखानामा थन्काइएका पुुराना ब्रह्मा, विष्णु, रामसीता, गोखनाथ, पशुपतिनाथ, महावीर उल्लिखित ऐतिहासिक इन्जिनहरूको संरक्षण हुन सकेको छैन। २०५० सम्म वाष्प इन्जिनले सेवा दिइरहेको नेपाल रेलवे २०५१ सालमा भारत सरकारले १८ बोगीसहित डिजेल इन्जिन सहयोग गरेपछि जनकपुर-जयनगर रेलमार्गमा आधुनिक रेल सञ्चालनमा आएको थियो।

विश्वको हरेक देशबाट विस्थापित भइसकेको वाष्प इन्जिनलाई संरक्षण गरेर संग्रहालयको रूप दिन सकिए पर्यटकलाई आकर्षित गर्नुका साथै आर्थिक स्रोतसमेत बढ्ने खजुरीका स्थानीयहरू बताउँछन्।

संसारमा कतै नभएको वाष्प इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरीका स्थानीयसमेत रहेका नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतको बुझाइ छ। ‘खजुरी स्टेसनमै संग्रहालय निर्माण गरेर पर्यटक आकर्षित गर्न सकिन्छ। संग्रहालय निर्माण हुँदा पुराना इन्जिन पनि संरक्षण हुन्छ,’ कामत भन्छन्, ‘पुराना इन्जिन हेर्न नयाँ पुस्ताका लागि चाख लाग्दो विषय हुनेछ। पर्यटन व्यवसाय प्रवद्र्धन गर्न सहयोग मिल्नेछ।’

खजुरीमा लक्ष्मीनारायणको पुरानो मन्दिरसमेत रहेकाले रेलवे संग्रहालय बनाउँदा पर्यटकका लागि थप आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ। महत्त्वपूर्ण तथा ऐतिहासिक सम्पत्तिका रूपमा रहँदासमेत संरक्षण तथा संग्रहालय निर्माणतर्फ सरकारले चासो नदिएपछि खजुरीका स्थानीय चिन्तित छन्।

अर्थशास्त्री प्राध्यापक डा. सुरेन्द्र लाभ पुराना रेलवेका इन्जिन र ट्र्याकहरू अदुभूत रहेकाले संरक्षण गरी संग्रहालयका रूपमा दिनुपर्नेमा जोड दिन्छन्।

‘विश्वबाटै लोप भइसकेका इन्जिन र रेलवेका सामग्री हामीसँग छ, यी सब अद्भूत हुन्,’ लाभ भन्छन्, ‘यसलाई संरक्षण गरेर संग्रहालय बनाउन सकिए पर्यटकका लागि आकर्षणको केन्द्र हुन्छ नै, आर्थिक विकाससमेत गर्न सकिन्छ।’

लाभ पुराना रेलवेका इन्जिनलगायतका सामग्रीबाट दुईखाले संग्रहालय बनाउन सकिने तर्क गर्छन्। ‘न्यारोगेज’ का ट्र्याकलाई ग्रामीण भेगमा जडान गरेर पुराना रेल सञ्चालन गरी जीवित संग्रहालय बनाउन सकिने उनको भनाइ छ।

‘पुराना सामग्री निश्चित स्थानमा संग्रह गरेर एउटा संग्रहालय बनाउने सकिने भयो,’ उनी भन्छन्, ‘अर्को हिँडडुल गर्ने संग्रहालय पनि बनाउन सकिन्छ। न्यारोगेजलाई ग्रामीण भेगतिर ओछ्याएर पुराने रेल चलाउन सकिए पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ।’

संघीय तथा प्रदेश सरकारले रेलवे संग्रहालय बनाउन चासो नदिँदा केही वर्षअघि खजुरीका स्थानीय आफैँ सक्रिय भएका थिए। नयाँ पुस्तालाई इतिहासबारे अवगत गराउनुपर्ने भन्दै उनीहरू संग्रहालय निर्माणका लागि विभिन्न निकायमा पुगेर पहल थालेका थिए।

अहिले रेलवेका पुराना संरचना राखिएको खजुरीमा नेपाल रेलवेकै १० बिघाभन्दा बढी जग्गा छ। ती जग्गा उपयोग गरेर रेलवे संग्रहालय बनाउन सहज हुने स्थानीयको भनाइ छ।

विश्वकै सबैभन्दा ठूलो रेल सञ्जालका प्रसिद्ध भारतले पनि आफ्ना पुराना इन्जिनलाई अझै संरक्षण गरेर राखेको प्रशस्तै उदाहरण छन्। विद्युतीयदेखि मेट्रो रेलका क्षेत्रमा फड्को मारिसकेको भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा अझै वाष्प इन्जिन चढेर पर्यटक रमाउने गरेका छन्।

त्यस्तै बिहारको पटना, मुजफ्फरपुरलगायतका स्टेसन परिसरमा त्यहाँको रेलवे विभागलाई पुराना इन्जिनलाई जोगाएर राखेको देखिन्छ।

मुख्यमन्त्रीको आश्वासन

पुराना रेलका इन्जिनलगायतका सामग्री संरक्षण गरी संग्रहालय बनाउन माग उठ्न थालेपछि केही दिनअघि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खजुरीको भ्रमण गरे।

पुराना इन्जिन निरीक्षण गरेर समय खजुरीमा बिताएका मुख्यमन्त्री सिंहले स्थानीयलाई रेलवे संग्रहालय बनाउने आश्वासन दिए। यद्यपि मुख्यमन्त्री सिंहले चाहेर पनि प्रदेश सरकारले रेलवे संग्रहालय बनाउन सम्भव छैन। नेपालको रेल संघीय सरकारअन्तर्गतको भौतिक पूर्वाधार तथा यातायातम मन्त्रालयमातहत रहेकाले प्रदेश सरकारले रेल संग्रहालय बनाउन सम्भव नभएको हो।

मुख्यमन्त्री सिंहले दुर्लभ इन्जिनलाई संग्रहालयमा राख्ने विषयमा संघीय सरकारसँग छलफल गर्ने बताएका थिए। रेल्वेको इतिहास तथा वर्तमानका विषयमा अध्ययन गर्न चाहनेका लागि नेपाल रेलवेसँग रहेका दुर्लभ इन्जिन महत्त्वपूर्ण हुनुका साथै यस क्षेत्रको पर्यटन प्रवर्धनमा योगदान पुग्ने उनको भनाइ छ।

अर्थविद् प्रा.डा. लाभ पनि प्रदेश सरकारले चाहँदैमा रेल संग्रहालयको निर्माण सम्भव नभएको बताउँछन्। संघीय सरकारसँग समन्वयबिना प्रदेश सरकारले रेल संग्रहालय बनाउन नसक्ने उनको भनाइ छ। ‘प्रदेश सरकारले चाहेर पनि रेल संग्रहालय बनाउन सम्भव छैन। रेल सञ्चालनदेखि निर्माणका सम्पूर्ण काम संघीय सरकारले हेर्ने हो,’ उनी भन्छन्, ‘मुख्यमन्त्रीजीले संघीय सरकारसँग समन्वय गर्नुपर्ने हुन्छ। तर यसका लागि भिजन भएको व्यक्ति जरुरी हुन्छ। उहाँमा त्यस्तो देखिँदैन।’

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पनि केही दिनअघि जनकपुरधाम पुगेर रेलवेका पुराना सम्पत्तिबारे जानकारी लिएका थिए।
खजुरी पुगेका उनले रेल संग्रहालय बनाउन आफू सकारात्मक रहेको बताउँदै उनले यसका लागि चाँडै पहल गर्ने आश्वासन दिएका थिए।

यस्तो छ इतिहास

भारतमा शासन गरिरहेका बेला सन् १९२८ मा तत्कालीन अंग्रेज शासकले दुई देशबीच रेलसेवा सञ्चालन गरेका थिए। अंग्रेजहरूले न्यारोगेजमा रेल सञ्चालन गरेका थिए। उनीहरुले नेपालको जंगलबाट काठदाउरा ढुवानी गर्ने उद्देश्यले रेलमार्ग निर्माण गरी मालगाडी (समान ढुवानी गर्ने गाडी) मात्र सञ्चालन गरेका थिए। पछिमात्रै यात्री आवतजावत गर्न यात्रुवाहक रेलगाडी सञ्चालन गरिएको थियो।

सन् १९४० मा तत्कालीन भारतको दरभंगा महाराजले नेपाल सरकारको आग्रहमा जयनगरस्थित भारतीय भूखण्डमा रहेको रेलवे स्टेसन भाडामा उपलब्ध गराएका थिए। दुई देशबीच रेलसेवा सञ्चालन भइरहेसम्म यो भूखण्ड नेपालले प्रयोग गर्ने दरभंगा महाराज र नेपाल सरकारबीच सम्झौता छ।

विगतमा न्यारोगेजमा वाष्प इन्जिनको मद्दतले चल्ने रेललाई जनकपुरदेखि जयनगरको २९ किलोमिटरको यात्रा गर्न साढे दुईदेखि तीन घण्टा लाग्दथ्यो। पछि चन्द्रशेखर भारतको प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाललाई डिजेल इन्जिन उपहारस्वरुप प्रदान गरेका थिए।

दुई देश जोड्ने रेल

जनकपुर-जयनगर रेल दुई देश जोड्ने रेलसमेत हो। यो रेलले नेपाल र भारतको बिहारलाई जोडेको छ। दुई देशबीचको रेलवे स्टेसनलाई एउटै फुट ओभर ब्रिज (अकाशे पुल) ले जोडेको छ। करिब साढे चार सय मिटरको दुरीमा रहेको दुवै देशको रेलवे स्टेशनलाई ओभर ब्रिजले जोडेको हो। ओभर ब्रिजले एक मिनेटमै एक देशबाट अर्को देश आवतजावत गर्न सहज बनाएको छ।

प्रकाशित: १ कार्तिक २०८१ ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =