एक दशकपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

हिमाल प्रेस २९ असोज २०८१ १९:१५
14
SHARES
एक दशकपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकर मंगलबार सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनका लागि पाकिस्तान पुगेका छन्।। करिब एक दशकमा आफ्नो ‘प्रतिद्वन्द्वी’ छिमेकी मुलुकको भ्रमण गर्ने उनी भारतका पहिलो उच्च कूटनीतिज्ञ हुन्।

भारतको विदेश मन्त्रालयका अनुसार जयशंकरको विमान स्थानीय समयानुसार अपराह्न ३ः३० बजेतिर राजधानी इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण भएको थियो। सरकारी टेलिभिजनले उनलाई फूलको गुच्छा प्रदान गरिरहेको देखाएको छ तर स्वागत टोलीमा कुनै वरिष्ठ मन्त्रीहरू संलग्न थिएनन्।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी हुन्। दुई मुलुकबीच दीर्घकालीन राजनीतिक तनाव छ। सन् १९४७ मा भारतीय उपमहाद्वीपको विभाजनपछि दुवै मुलुकले तीन वटा युद्ध र अनेकौँ साना झडपहरूको सामना गरिसकेका छन्।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित काश्मीरको सीमित स्वायत्तता खारेज गरेपछि दुई देशबीचका सम्बन्ध झन कटुतापूर्ण बनेको छ।  हिमाली क्षेत्र काश्मीर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा दाबी गर्छन् र एकअर्कालाई त्यहाँ उग्रवाद भड्काएको आरोप लगाउँछन्।

मोदीको सन् २०१९ को उक्त कदमलाई भारतभर उत्सवका रूपमा मनाइयो थियो। तर भारत सरकारको यो निर्णयपछि  पाकिस्तानले द्विपक्षीय व्यापारलाई निरन्तरता नदिने ग¥यो भने नयाँदिल्लीसँगको कूटनीतिक सम्बन्धमा पनि तिक्तता उत्पन्न भयो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसै महिना जयशंकरको भ्रमणको एजेन्डा एससिओको कार्यतालिकाअनुसार हुने र यसमा व्यापार, मानवीय र सामाजिक मुद्दाहरूमा छलफल गर्ने कार्यक्रम रहेको बताएका थिए।

‘भारतीय विदेशमन्त्रीले द्विपक्षीय बैठकका लागि अनुरोध गर्नुभएको छैन, न त हामीले उहाँलाई निमन्त्रणा नै दिएका छौँ,’ पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार भनेका थिए।

हालैका सातामा राजधानीमा भएका नागरिक अशान्ति र पाकिस्तानका अन्य स्थानमा भएका आतंकवादी आक्रमणहरूपछि सम्मेलनको अवधिमा स्थिरता र सुरक्षाको छवि प्रस्तुत गर्न इस्लामाबाद उत्सुक छ।

भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराज सन् २०१५ मा अफगानिस्तानसम्बन्धी शिखर सम्मेलनका लागि पाकिस्तान भ्रमण गर्ने अन्तिम व्यक्ति थिइन्।

मोदीले पनि त्यही वर्ष आफ्नो पहिलो कार्यकालका लागि पद सम्हालेको केही समयपछि पाकिस्तानको आकस्मिक भ्रमण गरेका थिए। उक्त भ्रमणले सम्बन्धमा सुधारको सानो आशा जगाएको थियो।

एससिओ चीन र रुसले स्थापना गरेको १० मुलुकको समूह हो। चीन र रुसले यस गठबन्धनलाई मध्य एसियाली मुलुकहरूसँग आफ्नो सम्बन्ध गहिरो बनाउन र क्षेत्रमा प्रभाव विस्तार गर्न प्रयोग गरेका छन्।

यद्यपि उनीहरूले हालै यस संगठनलाई पश्चिमको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेका छन्।

यस समूहले विश्व जनसंख्याको ४० प्रतिशत र कूल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत प्रतिनिधित्व गर्ने दाबी गर्दछ। तर यसका सदस्यहरूको विविध राजनीतक प्रणाली छ र उनीहरूबीच खुला असहमति पनि छ।

पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारी गत वर्ष गोवामा भएको एससिओ बैठकका लागि जानुएका थिए। यो पनि एउटा दुर्लभ भ्रमण थियो। गोवा बैठकमा उनी र जयशंकर मौखिक विवादमा संलग्न भएका थिए।

त्यो सन् २०१६ पछि पाकिस्तानी वरिष्ठ अधिकारीको पहिलो आधिकारिक भ्रमण थियो। तर दुई विदेशमन्त्रीले एकअर्कासँग द्विपक्षीय बैठक गरेका थिएनन्।

प्रकाशित: २९ असोज २०८१ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =